झमक घिमिरेलाई धरानमा अभिनन्दन(फोटोफिचर)


धरान । मदन पुरस्कारसमेत पाइसकेकी फरक क्षमता एवं साहित्यिक प्रतिभाकी धनी झमक घिमिरेलाई सोमबार धरानमा अभिनन्दन एवं सम्मान गरिएको छ । धरान १४ स्थित पिण्डेश्वर विद्यापिठको ६३ औं बार्षिकोत्सव अवसरमा साहित्यिकार घिमिरेलाई अभिनन्दन तथा सम्मान गरिएको हो ।
पिद्यापिठको सभाहलमा आयोजित समारोहमा प्रमुख अतिथि एवं प्राज्ञ उपेन्द्र पागल र प्राचार्य डा.भिम खतिवडाले घिमिरेलाई दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए भने प्राध्यापक संघ पिण्डेश्वर इकाई समिति र विद्यार्थी संगठनहरुले पनि संयुक्तरुपमा घिमिरेलाई सम्मान गरेको थियो । धनकुटा ३ कचिडेकी साहित्यकार घिमिरे खुट्टाले लेख्ने गर्छिन् । उनको कृति जीवन काडा कि फुलले ०६७ मा मदन पुरस्कार पाएको थियो ।
स्रष्टा घिमिरेको जीवन आम मानिसको लागि प्रेरणादायी भएकोले बार्षिकोत्सवको अवसरमा अभिनन्दन गरिएको प्राचार्य खतिवडाले बताए । ‘उहाँको जीवनबाट सबैले प्रेरणा लिन, सुन्न चाहन्छन्, त्यसैले उहाँलाई प्रत्यक्ष हेर्न यतिका मानिसहरु आएका हुन्’–प्राचार्य खतिवडाले भने–‘हामीले उहाँको लेखन र सृर्जनालाई सम्मान गरेका हौं ।’ प्राचार्य खतिवडाले भनेजस्तै साहित्यकार घिमिरेलाई प्रत्यक्ष हेर्न, सुन्न बुढापाका, युवा र स्कुले विद्यार्थीहरुको घुइचो लागेको थियो । साहित्यकार घिमिरेले लिखित मन्तव्यमा पुराना, युवा र बाल तीनै पुस्तासँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्दै गरिन् । साथै उनले युवाहरुलाई हतार नगरी काम गर्न आग्रह गर्दै जीवन सधै क्रियासिल बनाइरहन पनि सुझाव दिइन् । राजनीतिक दल र नेताहरुले युवा शक्तिलाई देश विकासको नेतृत्व र जिम्मेवारी नदिएको भन्दै गुनासो पनि पोखिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य उपेन्द्र पागलले पनि घिमिरे प्रेरक व्यक्तित्वकोरुपमा उल्लेख गर्दै उनलाई सम्मान गर्दा युवा पुस्तालाई प्रेरणा मिल्ने धारणा राखे । सोही कार्यक्रममा विद्यापिठका प्रा.डा.भरत भट्राईलाई दीर्घसेवा पुरस्कारद्धारा सम्मान गरिएको थियो भने सहप्राध्यापक ललितकान्त झा, हेड असिस्टेन्ट भेषबहादुर निरौला, पुस्तकालयलाई पुस्तक सहयोग गर्ने खडानन्द दाहाल, कर्मचारी रामकुमार तामाङलगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।
....................

                    जीवन काडा कि फुलमा फिल्म बन्ने


०६७ सालको मदन पुरस्कार विजेता पुस्तक जीवन काडा कि फुलमा आधारित भएर साहित्यकार जीवन घिमिरेको जीवनबारे चलचित्र निर्माण हुने भएको छ । झमक घिमिरे कला प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल गुरागाईका अनुसार भारतको आसम तेजपुरका चलचित्रकर्मी एवं प्रवासी नेपाली विनोद विष्टले घिमिरेको जीवनबारे फिल्म बनाउन लागेका हुन् । पुस्तकमा आधारित भएर फिल्म बनाउनको लागि पटकथासमेत तयार गरिसकेको गुरागाईले जानकारी दिए । ‘दुई बर्षअघिदेखि नै उहाँहरु सम्पर्कमा आउनु भएको हो । पटक पटक कुरा भयो र १ बर्षअघि झमक घिमिरे, प्रतिष्ठान र विष्टको फिल्म कम्पनीबीच सम्झौता पनि भइसकेको छ’–प्रतिष्ठानका अध्यक्ष गुरागाईले भने ।
उनका अनुसार फिल्मको पटकथा मुक्ति उपाध्यायले तयार गरिसकेका छन् भने बालिका झमक र किसोरी झमकको भुमिका निर्वाह गर्ने कलाकारको छनौट भएर रिहर्सल पनि भइरहेको छ । फिल्म निर्माण टिमले झमक घिमिरेको दैनिकीको सिडि तयार गरेर कलाकारहरुलाई रिहर्सल गराई रहेका गुरागाईले बताए । फिल्मको सुटिङ माघ अन्तिम साता वा फागुन पहिलो साताबाट धनकुटामा शुरु हुने उनले जानकारी दिए । ‘झमक घिमिरेलाई पुस्तकमा मात्रै पढिदै आएका थियौं, अब पढ्न नसक्ने र पढ्न अल्छी मान्नेहरुले पर्दामा पनि उनलाई देख्नेछन्’–गुरागाईले भने–‘फिल्म बनेपछि उनको प्रतिभाले अन्र्तराष्ट्रियस्तरमा चर्चा पाउने आशा गरेका छौं, निर्माताले ओस्करमा पुग्ने गरि फिल्म बनाउने भनेका छन् ।’
साहित्यका घिमिरेको जीवन काडा कि फुलसहित समय बिम्ब, आफ्नै चिता अग्नीशिखातिर, रात र भुत प्रेतको सन्त्रास, झमक घिमिरेका कविताहरुलगायत एक दर्जन कृति प्रकाशित भइसकेको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे