नाकाबन्दी भएपनि खाद्यान्न पर्याप्ट रहेको व्यावसायीको भनाई


धरान।  भारतले अघोषित नाकाबन्दी लगाएपछि पुर्वमा पेट्रोलियम पदार्थको हाहाकार देखिएपनि खाद्यान्न भने पर्याप्त रहेको व्यावासायीहरुले बताएका छन् । नाकाबन्दीले खाद्यान्न आयात हुन नपाएको भन्ने हल्ला उपभोक्ताहरुमा फैलिएपनि माग धान्ने गरि खाद्यान्न सामग्री स्टक(संचित) रहेको व्यावसायीहरुको भनाई छ ।
नजिकिदै गरेको चाड दशैं तिहारको मुखमा भारतले अघोषित नाकाबन्दी गरिदिदा खाद्यान्न अभाव व्यहोर्नुपर्ने भन्दै उपभोक्ता भने चिन्तित छन् । तर, विगत एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेका सुनसरी उद्योग वाणिज्य संघका वाणिज्य सचिव गिरीधारी सापकोटाका अनुसार दशैंतिहारसम्मको माग धान्ने गरी खाद्यान्न स्टक छ । नेपालको तराईका जिल्लामा उत्पादन हुने खाद्यान्नसमेत आउन नसक्दा विगतममा जस्तो उपभोक्ताले भेराइटी पाउन नसके पनि सामान पाउदै नपाउने अवस्था भने नभएको उनले बताए । ‘हल्ला चलेजस्तो बजारमा खाद्यान्न अभाव छैन, दशैतिहारसम्मलाई पुग्ने सामानहरु छन्’–सापकोटाले भने–‘बारा, पर्सातिरको उत्पादन नआउदा भेराइटी नपाउनसक्छ, तर कुनै अर्को ब्राण्डको सामान भेटिन्छ । कतिले पानवारी मन्सुली खान्थे होला, अब भने मन्सुली खानुपर्ने हुन्छ ।’
बजारमा नुन अभाव देखिए पनि विराटनगरस्थित साल्ट ट्रेडिङको गोदामबाट मंगलबार धरानलाई एक महिना थेग्नेगरि नुन ल्याएर वितरण गरिएको पनि वाणिज्य सचिव सापकोटाले जानकारी दिए । यद्यपी, अफवाहको कारण उपभोक्ताहरुले नै आवश्यकताभन्दा बढी खाद्यान्न संचिती गर्ने गरेकोले समस्या हुनसक्ने उनले बताए । मंगलबार व्यापारीहरुलाई नुन वितरण गरिरहदा उपभोक्ताहरु नै आएर एक बोरा नुन घर लैजान खोजेको उनले बताए । ‘मैले चिनेकै चार जनाको परिवार छ, उनीहरु आएर एक बोरा(५० केजी) नुन लैजान खोजे । मैले तपाईलाई कति चाहिन्छ, त्यति मात्रै लैजानुस्, समस्या छैन भनेर सम्झाई पठाए’–उनले भने–‘हिजो एउटा ब्राण्डको मात्रै समान चलाउनेले अहिले नपाउन सक्छ, त्यसैले सामान सकियो भन्ने हल्ला भएर घरमा धेरै सामान स्टक गर्ने कारण समस्या आउनसक्छ ।’
विराटनगरस्थित ठुला व्यापारीको गोदाममा पनि धेरै सामानहरु स्टक रहेपनि सुरक्षा(स्कर्टिङ)को राम्रो प्रबन्ध नहुदा ल्याउन भने समस्या भइरहेको उनले बताए । व्यावसायीहरुलाई प्रत्यक्षरुपमा भेटेर आफ्ना ग्राहकहरुलाई आवश्यकता भन्दा बढी सामान बिक्री नगर्न पनि सचेत गराईरहेको सापकोटाले बताए । अभाव सृर्जना नहोस् भनेर ग्राहकहरुकै हितको लागि संघ निरन्तर लागेको उनले बताए ।
सुनसरी डिलर्स तथा थोक व्यावसायी संघका महासचिव सिताराम आचार्यले पनि भारतबाट सामान आउन नपाएपछि विगतकै पर्याप्त सामान स्टक रहेकोले उपभोक्तालाई नआत्तिन आग्रह गरे । ढुवानीको कारण विगतमा भन्दा केही मुल्य बढेपनि राष्ट्रलाई समस्या आइपर्दा कृत्रिम अभाव सृर्जना गरेर कलोबजारी नगर्न व्यावसायीहलाई सचेत गराईरहेको उनले बताए । ‘यतिबेला देशलाई संकट आइपरेको छ, आफ्नो ढुवानी जोडेर नाफा नखाई बेच भनिरहेका छांै । धेरै प्रकारको नभएपनि खाद्यान्नको कुनै अभाव छदैछैन’–उनले भने ।
पुर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेशप्रसाद आचार्यले पनि पुर्वमा पेट्रोलियम पदार्थबाहेक बजारमा खाद्यान्न अभाव नभएको बताए । ‘पेट्रोलियम पदार्थबाहेक अभाव देखिएको छैन । पहाडी जिल्लातिर बुझ्दा पनि खाद्यान्न सर्टेज छैन । भर्खर बर्षे वाली काटिदैछ, किसानहरुसँग ४, ५ महिना पुग्ने पर्याप्त खाद्यान्न छ’–क्षेत्रीय प्रशासक आचार्यले भने ।
........................................

                                    व्यापार सहज बनाउन आग्रह


सुनसरी उद्योग वाणिज्य संघले मंगलबार एक प्रेश विज्ञप्ती जारी गरी अघोषित नाकाबन्दी तत्काल खोलेर दुई देशको व्यापार सहजरुपमा सञ्चालन हुने वातावरण मिलाउन आग्रह गरेको छ । संघका अध्यक्ष सरोज श्रेष्ठद्धारा जारी विज्ञप्तीमा सबै प्रकारको असहमतिलाई वार्ता र संवादको माध्यमबाट हल गर्न आह्वान गर्दै महिना दिनदेखि जारी बन्द, हडताल फिर्ता लिएर सर्वसाधारणको दैनिकी सहज बनाउन पनि आग्रह गरिएको छ ।
विज्ञप्तीमा बिषम परिस्थितिमा केही खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपुर्ति सहज नभएको र बजारमा केही मात्रामा अभाव रहेपनि पुर्णरुपमा अभाव नभएको भन्दै संघले आफुलाई आवश्यक वस्तुमात्रै संचिती गरी सहज वातावरण बनाइदिन उपभोक्ताहरुलाई पनि आग्रह गरेको छ । वार्ताबाटै समस्या साधान गर्नुको साटो नाकामा धर्ना दिएर आयात निर्यात ठप्प पारी देशको अर्थतन्त्र तहसनहस बनाउनु राष्ट्रप्रति गैरजिम्मेवारीपन हुने भन्दै यस्तो कार्यले आन्दोलन सार्थक निष्कर्षमा पुग्नुको साटो झन जटिलतातर्फ उन्मुख हुदै जाने विज्ञप्तीमा उल्लेख छ । संवेदनशील घडिमा धैर्यता र संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न अनुरोध गर्दै संघले भारतबाट गरिएको अवरोधलाई कुटनीतिक तवरबाट समाधान गरी नजिकिदै गरेको चाडपर्व उल्लासमय बनाउन सरकार, अन्दोलनरत पक्ष र अन्य राजनीतिक दलहरुलाई आग्रह गरिएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे