भारतसँग नझुक: प्रगतिशिल प्राध्यापकहरु


धरान । संविधानसभाबाट नयाँ संविधान घोषणा भएपछि नै नेपाल आत्मनिर्भरताको बाटोमा अघि बढेको टिप्पणी गर्दै पुर्वका प्रगतिशिल प्राध्यापकहरुले राजनैतिक दलका नेताहरुले यतिबेला भारतसामु नझुक्न सुझाव दिएका छन् । नेपाल प्रगतिशिल प्रध्यापक संघ केन्द्रीय कमिटिद्धारा शनिबार धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित नेपालको आत्मनिर्भरताको प्रश्न र वर्तमान राजनीतिक सन्दर्भ बिषयक परिसंवादमा प्रध्यापकहरुले यस्तो सुझाव दिएका हुन् ।
भारतीय विस्तारवादको विगतमा कम्प्युनिष्टहरुले मात्रै विरोध गर्छन् भन्ने धारणालाई यो नाकाबन्दीले गलत सावित गर्दै सचेत एवं स्वाभिमानी युवा पुस्ताले पनि भारतको व्यावहार र भित्री नियतलाई बुझ्ने मौका पाएको उनीहरुले बताए । जुनसुकै दल भएपनि राष्ट्रवादको भावनालाई आत्मसात गर्ने हो भने जनता पछि लाग्ने पनि उनीहरुको भनाई थियो । ‘संविधान जारी भएदेखि नै मुलुक आत्मनिर्भरतर्फ अघि बढ्यो, त्यही भएर भारत रिसाएको हो’–पिण्डेश्वर विद्यापिठका प्राचार्य डा.भिम खतिवडाले भने–‘राजनीतिक दलहरुले खुट्टा टेक्नुपर्छ, दृढसंकल्प लिनुपर्छ, यो नाकाबन्दी धेरै दिन टिक्दैन ।’
संविधान जारी भएपछि नेपाल र नेपालीहरु आफ्नो खुट्टामा आफै बाँच्ने अभ्यास शुरु भइसकेको उल्लेख गर्दै डा. खतिवडाले विस्तारै आफ्नै सामग्रीहरु उत्पादन गर्न थालेपछि अहिले जस्तो भारतीय च्यानल बन्दै गर्नुनपर्ने धारणा राखे । पेट्रोल, डिजेलमा मात्रै नभई विचार, कला सँस्कृति, रहनसहनमा पनि आत्मनिर्भर र स्वाभिमानी हुनसके नेपालमा छिमेमीको हैकम चल्नै नसक्ने उनको जिकिर थियो । ‘अझै पनि संविधान बनाउने दलहरु एक ठाउँमा उभिनुपर्छ र यो हाम्रो समस्या हो, हामी आफै समाधान गछौं भन्न सक्नुपर्छ’–उनले थपे–‘मधेश सबै आन्दोलनमा गएको होइन । संविधानमा के अधिकार छ भनेर चर्चा भएकै छैन, संविधान नै नपढी विरोध भइरहेको छ । यो बुझाउनुपर्छ ।’
इतिहासका प्राध्यापक एवं बुद्धिजिवि हरिप्रसाद दाहालले भारतको ७ बुँदे प्रस्तावको चर्चा भइरहदा एक महिनाभित्रै संविधान संशोधन गरिदा संविधान कुरुप बन्ने र नेपाल फेरि पराधिन हुने बताए । सन् १९५० देखि नै तमसुक गरेर छिमेकीलाई बुझाउने प्रवृत्ति नेताहरुले अब पनि दोहोर्याउन नहुनेमा जोड दिदै प्राध्यापक दाहालले भावी सन्ततीलाई आत्मनिर्भर र स्वाभिमानीपुर्वक बाँच्ने बनाउन हिम्मत गर्ने बेला आएको बताए । ‘अब नेपालले भन्नसक्नुपर्छ, कि नेपालको हितमा एक लाइन पनि नलेखिएको १९५०देखिका सन्धीहरुको औचित्य छैन, हामी मान्दैनांै । ती सन्धी हुदाको बेलायत पनि छैन र राजा पनि छैन’–दाहालले भने–‘भारतले दुःख दिइरहे पनि सबै जनता चाहन्छन्, नेपाल झुक्नु हुन्न तर, यो मुद्दालाई किन अन्र्तराष्ट्रियकरण गरिरहेको छैन ? क्युबाले अमेरिकाको नाकाबन्दी ५१ बर्षसम्म झेलिरहेको छ, हामी ५१ दिनपनि टिक्न नसक्ने ?’


भारतले दु्रत मार्ग(फाष्ट ट्रयाक)को ठेक्का र कोशी उच्चबाँध निर्माण गर्ने स्वार्थ पुर्तिको लागि नेपाललाई दुःख दिइरहेको उनको भनाई थियो । झापा, मोरङ, सुनसरीलाई मधेशको एउटा प्रदेशमा हालेर उच्च बाँध बनाउने र कोशीको पानीलाई गंगामा पुर्याएर हरित क्रान्ति गर्ने भारतको अभिष्ट भएको उनको जिकिर छ । ‘चीन पनि नेपालको पक्षमा छैन, उसको भारतसँग अरबौं डलरको व्यापार छ, भारतलाई चिढ्याउन चाहदैन । त्यस्तो थियो भने लिपुलेक सम्झौता गर्दा खै नेपाललाई सोधेको ?’–दाहालले भने–‘आत्मनिर्भर हुन अब कुरा होइन, काममा जाउ भनेर सरकारलाई, नेताहरुलाई भन्नुपर्छ । नेताले पनि देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । भारत नबुझेका युवाहरुले अहिले बुझ्ने मौका पायो, अब आत्मनिर्भरताको बाटो फराकिलो बन्छ, राष्ट्रनिर्माणको विकल्प खोजौं, मेहनत र परिश्रम गरौं ।’ उनले उर्बर भुमि प्लटिङ गरेर अन्नमा परनिर्भर बनाएको र शिक्षामा पनि अर्थनीति, सामाजिक रुपान्तरणको बिषय नभएको भन्दै असन्तुष्टी पोखे ।
विश्व आर्दश क्याम्पस इटहरीका प्राचार्य लेखनाथ घिमिरेले कुनै बेला नुन, मटितेल, कपडा र मसलाबाहेक सबैमा आत्मनिर्भर रहेको नेपालले यो घटनाबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । सबैले दृढ संकल्प गरेमा एक दशकमा नै मुलुक आर्थिकरुपमा समृद्ध र आत्मनिर्भर हुने उनको भनाई थियो । पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य लक्ष्मीकुमार श्रेष्ठले ग्लोबलाइजेशनको समयमा सबैमा आत्मनिर्भर हुन नसक्ने भएपनि नेपालले के केमा आत्मनिर्भर हुनसक्छ भनेर निक्यौल गर्नुपर्ने धारणा राखे । उन्मादमा मात्रै राष्ट्रियताको नारा लगाउदैमा परिवर्तन सम्भव नभएको भन्दै उनले राजनीतिक र राष्ट्रघाती बिषय खुट्याउनुपर्नेमा पनि जोडदिए । कार्यक्रममा प्रमुख अतिथि रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठ, त्रिवि परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षक उत्तम पोख्रेल, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख चन्द्रकुमार राईलगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा सुनसरी, मोरंग, धनकुटालगायत जिल्लाका प्राध्यापकहरु सहभागी थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे