दशैंमा घरको सम्झनामात्र


धरान । घटस्थापनाको दिन एक मनकारी दाताले दिएको पहेलो टि–सर्ट लगाएपछि १३ बर्षीय हरिकुमार क्षेत्रीले आफ्नो जन्मघर र अभिभावक सम्झिए । दशैंमा घर जाने इच्छा छ, तर उनी जान सक्दैनन् । पक्षघातले थलिएका उनी ह्विलचियरको सहारामा मात्रै हिडडुल गर्न सक्छन् । त्यो भन्दा उनको ठुलो पीडा परिवार सम्पर्कमा छैन । ‘आमा हुनुहुन्न, बुबा विदेश जानुभको छ रे’–बुधबार धरान ४ स्थित पुर्नस्थापना गृहमा ह्विलचियरमा बसेका हरिले भने–‘घरको साह्रै याद आउछ, दशैंमा जान पाएपनि हुन्थ्यो ।’ यति जवाफ फर्काउदा उनको आँखामा आशु टिलपिलाईसकेको थियो ।
उदयपुरको रामपुर घर भएका हरि आफ्ना चार भाई र आमासँग घरमा सुतिरहेका थिए । गड्याङगुडुङसँगै एक्कासी चट्याङ पर्यो । आमा र कान्छा भाईको तत्कालै मृत्यु भयो । हरि, माइला भाई केशव र साइला भाई गम्भीर घाइते भए । साइला भाई मात्रै सकुशल छन् । यो घटना ४ बर्षअघिको जस्तो लागेपनि ठ्याक्कै मिति भने उनलाई सम्झना छैन । आमाको मृत्यु पछि उनी र भाईहरुको दुःखका दिन शुरु भयो । बुबाले कान्छी आमा ल्याए । चट्याङले पक्षघात भई थलिएका तीनै भाईमाथि तिरस्कार र कुटपिटसमेत हुनथाल्यो । गएको बर्ष उनका बुबाले हरि र केशवलाई गृहमा छोडेर गएका थिए । त्यसपछि सम्पर्कमा आएका छैनन् । बुबा विदेश गएका छन् भन्ने खबर भने उनीहरुसम्म आइपुगेको छ । ‘घरमा भाईहरु छ, भेट्न मन लाग्छ’–मलिन स्वरमा हरिले भने ।
गृह प्रमुख भीम राईका अनुसार दुवै छोरालाई छोडेर गएपछि तिनका बुबा सम्पर्कविहिन भइदिए । पक्षघातले थलिएका बालकहरुमाथि सौतेनी आमाबाट अपहेलना र कुटपिटसमेत हुने गरेकोले गृहमा राख्न सहमत भएको उनको भनाई छ । सम्पर्कमा अभिभावक भएका केटाकेटीलाई दशैंमा सकेसम्म घर पुर्याइदिने गरेपनि हरि र केशवलाई भने लैजान नसक्ने उनले बताए । ‘घरमा कान्छी आमा छ, राम्रो व्यवहार हुदैन । राम्रो गर्ने भए त यहाँ भेट्न आउदा पनि भईहाल्थ्यो नि’–उनले भने–‘उनीहरु जस्तै अभिभावक सम्पर्कमा नहुने बच्चाहरुको दशंै तिहार यही हुन्छ ।’ गृह प्रमुख राईका अनुसार तत्काल सम्भव नभएपनि केही समय पछि हरिको साइला भाईलाई पनि गृहमा नै ल्याएर राख्ने योजना छ । साइला भाईलाई पनि चट्याङले लागेर पक्षघात भएको छ ।
गृहमा आउनु अघि हरि र केशव घरमा राम्रो खानपिन नपाउदा कुपोषणले ग्रस्त झै थिए । अहिले दुवै फेरिएका छन् । नियमित फिजियोथेरापी हुन्छ । गृहमा नै अनौपचारिक शिक्षा दिइन्छ भने भविष्यमा आत्मर्भिर बनाउन सिप पनि सिकाउने गृह प्रमुख राईले बताए । ‘यहाँ भएका बालबच्चाहरुलाई हेरचाहसँगै शिक्षा र भविष्यमा गरिखान सकुन् भनेर सिप पनि दिन्छौं । यहाँबाट गएका ५६ जनाले केही न केही गरिखाएका छन्’–उनले भने । गृहमा रहेका कतिपयको आमा वा बुबा भएर पनि परिवारबाट तिरस्कृत, अपहेलित भएकाहरु छन् । छाताचोकस्थित पुरानो अस्पतालको जीर्ण भवनमा रहेको गृहमा हाल २२ जना असहाय एवं अशक्त बालबालिकाहरु आश्रय पाइरहेका छन् । देश विदेशमा रहेका मनकारी दाताहरुबाट प्राप्त आर्थिक, भौतिक सहयोगबाट नै गृह चलिरहेको छ । गृहले आश्रित असहाय बालबालिकाहरुलाई बाँस, मकैको खसेलाबाट विभिन्न सजावटका सामग्रीहरु बनाउने तामिल पनि दिदैआएको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे