धरानमा छुट्टै रात्री बसपार्क सञ्चालन
धरान । भानुचौकस्थित साघुरो बन्दै गएको बसपार्कलाई व्यवस्थित गर्ने उद्देश्यले धरानमा लामो दुरीमा चल्ने बसको लागि छुट्टै रात्री बसपार्क निर्माण भएको छ । धरान उपमहानगरपालिका र यातायात व्यावसायीको पहलमा धरान १५ स्थित पाथीभारा लाइनमा निर्माण भएको रात्री बसपार्क आइतबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

सवारीसाधानको संख्या बढेपछि भानुचौकको बसपार्क साधुरिएकोले यात्रु, यातायात मजदुर सबैले कष्ट व्यहोर्नु परिरहेकोले रात्री बसपार्कको विकल्प तयार गरिएको नेपाल यातायात व्यावसायी महासंघका कोशी अञ्चल संयोजक कृष्णप्रसाद सुवेदीले बताए । ‘सवारीको संख्या बढेर भानुचौक अस्तब्यस्त छ, हामीले कष्टपुर्णरुपमा सेवा सञ्चालन गरिरहेका छौं । अब रात्री बस यहाँ सरेपछि केही खुकुलो र सहज हुने अपेक्षा छ’–उनले भने । नयाँ रात्रीबस सञ्चालनबारे व्यावसायी, मजदुर, ट्राफिक एवं उपमहानगरबीच एकतर्फी रुटमा बस सञ्चालन गर्ने सहमति पनि भएको छ ।
लामो दुरीको रात्री बस अबदेखि भानुचौकमा यात्रु चढाउन जान पाउने छैन । अन्यत्रबाट यात्रु बोकेर धरान आएको रात्री बसले मात्रै बिहान यात्रु ओराल्न भानुचौक जान पाउनेछ । बेलुका भने नयाँ बसपार्कबाट पुष्पलाल मार्ग वा वरगाछी हुदै गन्तव्यतर्फ रात्री बस जानुपर्ने छ । ‘बिहान धरान आउदा मात्रै यात्रु ओराल्न भानुचौकमा बस जान पाउछ, बेलुका यात्रु चढाउन जान भने पाउदैन’–उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘धनकुटा, तेह्रथुमतिरबाट काठमाण्डौंतिर जाने रात्री बसले पनि भानुचौक हुदै सिधै जान पाए पनि रोकेर यात्रु झार्न वा चढाउन पाउदैन ।’ उनका अनुसार पहाडी क्षेत्रबाट आएको बसले छाताचोक क्षेत्र वा भोटेपुल क्षेत्रमा पुगेर मात्रै रोक्न पाउनेछ ।

Comments
Post a Comment