बाबु–छोराको गल्फ मोह

धरान । निर्वाणा कन्ट्री गल्फ कोर्ष छेउमै हुर्किए पनि रामबहादुर तामाङलाई युवा उमेरमा गल्फ खेलसँग लगाव भएन । धरान १९मा हुर्किएका उनी फुटबल र ब्याडमिन्टन भने खेल्थे । जिवन निर्वाह गर्ने क्रममा लामो समय राजधानी काठमाण्डौं बसे । ०५९ सालमा फिरेपछि उनी इटहरीमा बस्न थाले । इटहरीमा बसेपछि मात्रै साथीहरुको संगतले उनको ध्यान विस्तारै गल्फ कोर्षले तान्यो ।
०६८ सालमा मात्रै उनी धरारन १८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको गल्फ कोर्षमा पाइला टेके । साथीहरुले ‘स्वास्थ्यको लागि गल्फ खेल राम्रो हुन्छ’ भनेपछि कोर्षमा छिरेका रामले छोटो समयमा नै आफुलाई राम्रो एमेच्योर गल्फरकोरुपमा उभ्याइसकेका छन् । गल्फ कोर्षमा छिरेको एक बर्षपछि नै उनले प्रथम सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुर्नामेन्ट ०६९ को उपाधि जितेका थिए । भर्खर फुलपातीको दिन सम्पन्न तेस्रो धरान सोसाइटी जिआरयु बर्थडे एमेच्योर गल्फ प्रतियोगितामा पनि उनी विजेता बने ।
तेस्रो जिआरयु बर्थ डे कपको विजेता हुँदा उनलाई अर्को पनि खुशी थपिएको थियो, प्रतियोगितामा उनका १३ बर्षीय छोरा रितेश तामाङ दोस्रो भएका थिए । आफु च्याम्पियन हुदा भन्दा छोराको प्रतिभा खारिदै गएकोमा उनी बढी खुशी छन् । गल्फ खेल्न आउदा उपाधि जित्ने कल्पना पनि नगरेका राम अहिले छोराको भविष्यकै लागि भएपनि गल्फलाई निरन्तरता दिइरहेको बताउछन् । ‘साथीहरुले गल्फ खेल हेल्थको लागि राम्रो हुन्छ भनेपछि आएको थिए । खेल्दै जादा राम्रो गरे’–जिआरयु च्याम्पियन रामबहादुर(४२ बर्षीय)भन्छन्–‘अचेल आफ्नो लागि भन्दा पनि छोराको भविष्यको लागि निरन्तरता दिइरहेको छुँ ।’
 आफ्नो छोराले कुनै एउटा खेलको लाइन समातोस् भन्ने रामको चाहना थियो । इटहरीबाट अभ्यास गर्न धरान आउदा छोरा रितेशलाई पनि लिएर आउथे । रितेशले गल्फ कोर्षमा पाइला टेक्दा एघार बर्षका मात्रै थिए । दुवैको गुरु(प्रशिक्षक) विरेन राई बने । छोरा रितेशले पनि छोटो समयमा नै बुबाको झै खेलमा प्रगति र सफलता पाए । छोराको प्रगति देखेर धेरै खुशी भएका राम स्कुल विदा भएपछि गल्फ अभ्यासकै लागि रितेशलाई इटहरीबाट धरान ल्याउने र लैजाने गर्छन् । शुक्रबार स्कुल विदा भएपछि रितेश धरान १९ स्थित मावलीमा बस्छन् र आइतबार बिहान मात्रै घर फर्कन्छन् । शुक्रबार र शनिबार उनी गल्फ अभ्यासमा बिताउछन् । ‘छोरालाई राम्रो खेलाडी बनेको हेर्ने चाहना छ । सानैमा गल्फ सिक्यो, राम्रै गर्दैछ । निरन्तरता दिइरहोस्’–उनले इच्छा जताए । रामको ह्याण्डीक्याप ७ मा झरेको छ भने रितेशले पनि ३६ बाट घटाएर २७ सम्म पुर्याइसकेका छन् ।
रितेशले यसअघि जुनियर सविन डे कप पनि जितिसकेका छन् । उनलाई मनपर्ने खेलाडी नेपालका नम्बर १ शिवराम श्रेष्ठ हो । सुर्य नेपाल इष्टर्न ओपन हुदा प्रोएम म्याचमा रितेश शिवरामको टिममा परेका थिए । यसले उनलाई धेरै हौसला मिलेको रितेशले बताए । ‘म गल्फ खेल्न छाड्दिन, बुबाले पनि साथ दिइरहनु भएको छ’–रितेशले भने । उनी इटहरीस्थित वाई पोइन्टीङ बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्छन् । शुक्ररबार र शनिबारबाहेक अन्य विदाको दिन पनि उनी बुबासँग गल्फ अभ्यास गर्न धरान आइहाल्छन् । दुवै जना अहिले कार्तिक १५ गते हुने चौथो सुनसरी टेक्निकल कलेज एमेच्योर गल्फ प्रतियोगिताको तयारीमा ब्यस्त छन् ।
बुबा छोराकै गुरु गल्फ खेलाडी विरेन राईको भनाईमा बुबा रामको भन्दा छोरा रितेशको खेल धेरै राम्रो छ । रितेशलाई भविष्यका आशलाग्दा गल्फ खेलाडीकोरुपमा आफुहरुले हेरिरहेको उनले बताए । ‘रितेशको सबै पक्ष राम्रो छ, त्यसैले हामी सबैले आशा गरेका छैं । यसरी नै निरन्तता दिइरह्यो भने उ व्यावसायिक खेलाडी अवश्य बन्छ’–प्रशिक्षक राईले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे