पर्याप्त खेल सामग्रीविना नै छनौट प्रतियोगिता

धरान । बक्सिङ खेलको प्रतियोगिता रिङमा हुनुपर्ने हो । सुनसरी जिल्ला बक्सिङ छनौट प्रतियोगिता धरानस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलभित्र हुदैथियो । त्यो पनि कराते संघले उपलब्ध गराएको म्याटमा । आगामी मंसिरमा पुर्वाञ्चलमा हुने भनिएको सातांै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप जिल्लामा धमाधाम छनौट प्रतियोगिता भइरहेको छ । ती छनौट प्रतियोगिताहरु पर्याप्त खेल सामग्री र बजेट अभावले समस्या भइरहेको सम्बन्धित खेलका अधिकारीहरु गुनासो पोख्छन् ।
खेलकुद संघका पदाधिकारीहरु जिल्ला छनौट प्रतियोगिता सञ्चालन गर्न खेल समग्री खरीद एवं छनौट खर्चविना नै आफै रकम खोजेर छनौट गर्नुपरिरहेको गुनासो छ । जिल्ला खेलकुद विकास समितिमार्फत ३ वा ४ हजार मात्रै खेल सामग्री वा छनौट खर्च उपलब्ध गराउने जानकारी आएको छ । जुन बजेट एकदमै न्युन हो । ‘राखेपले छनौट गर भन्छ, तर बजेट छैन । खेल सामग्री छैन । छनौट गर्न ३,४ हजार खर्च दिने रे । त्यसले के गर्ने ?’–सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष देवेन्द्र लिम्बुले भने–‘सामान्य खेल सामग्री त छैन, रिङ कसरी व्यवस्थापन गर्ने ? यो म्याट पनि करातेका साथीहरुले दिनुभएको हो ।’ संघले आफ्नै खर्च र पहलमा ग्लोब, हेड गार्ड, सेन्ट ब्याक लगायत खेलाडीलाई अत्यावश्यक सामग्री किनेर उपलब्ध गराउनु परेको उनको भनाई छ ।
सुनसरी जिल्लाले बक्सिङमा पुर्वाञ्चलमा एकछत्र वर्चश्व कायम गर्दै आइरहेको छ । विगत २२ बर्षदेखि राखेपका वरिष्ठ राष्ट्रिय बक्सिङ प्रशिक्षक रहेका अनुप लामाका अनुसार पुर्वमा अहिलेसम्म सुनसरी जिल्लालाई च्याम्पियन हुनबाट कसैले रोक्न सकेको छैन । यहाँबाट नरेन्द्र पोमो, विनोद राई, अनुप लामा, निमा तामाङ, किसोर सम्बाहाम्फेजस्ता अन्र्तराष्ट्रिय खेलाडीहरु जन्मिए । राजेश गुरुङ जस्ता अग्रज खेलाडी र विराज राई, महेश आले, सौरभ लामा, सन्तोष राई, निर्मल इजमजस्ता युवा खेलाडीहरुले केन्द्रलाई टक्कर दिइरहेका छन् । तरपनि खेलाडीहरुलाई नभई नहुने आधाभुत खेल सामग्री उपलब्ध नहुनु विडम्बना भएको प्रशिक्षक लामा बताउछन् । ‘रिङ त धेरै खर्चालु हो, कुरै नगरौं । तर प्रतियोगिता गराउन ग्लोब त चाहियो नि । राखेपमा पटक पटक माग राख्यौं, पाएको होइन’–नेपाल बक्सिङ संघका प्राविधिक कमिटिका अध्यक्षसमेत रहेका लामाले भने–‘केही नभएपनि ग्लोब, हेड गार्ड, पञ्चिङ प्याडजस्तो अत्यावश्यक सामाग्री त दिनुपर्छ नी ।’ समस्याग्रस्त भएर पनि सम्बन्धित संघ र खेलाडीहरुको आफ्नै लगानीले खेल अघि बढिरहेको उनको भनाई छ ।
जिल्ला बास्केटवल संघका सहसचिव एवं पुर्वाञ्चल प्रशिक्षक विकास राईले पनि संघ आफैले खर्च व्यवस्थापन गरेर छनौट प्रतियोगिता सकेको बताए । खेलकुद समितिबाट ३, ४ हजार सामग्री खरीदमा पछि पाउने भनिए पनि त्यो पर्याप्त नहुने उनको भनाई छ । ‘जिल्ला खेलकुद समितिले परिषदबाट पठाएपछि पाउछ भन्यो, त्यो पनि ३ कि ४ हजार रुपैया रे । तर, सामग्री किन्दा नै १०, १५ हजार खर्च हुन्छ । प्राविधिक टोलीको खर्च छुट्टै छ । त्यो पैसाले त केही पनि भ्याउदैन’–उनले थपे–‘संघ आफैले खर्चको व्यवस्था गर्यौं, र एकदम टाइट खर्च गर्दा पनि १५ हजार जति सकियो ।’
सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राईका अनुसार राखेपबाट नै बजेट नआएकोले संघहरु आफैलले दुःख,सुख गरेर जिल्ला छनौट गरिरहेको छ । एउटा संघलाई ४ हजारको दरले छनौट खर्च आउने जानकारी आएकोले आफुले सम्बन्धित संघलाई त्यही जानकारी गराएको उनले बताए । ‘४ हजार ज्यादै थोरै हो, त्यसले त चिया नास्ता मात्रै पुग्छ त्यो पनि जिल्लामा आइपुगेको छैन’–उनले भने–‘अर्थमन्त्रालयबाट नै बजेट निकासा भएको छैन रे । संघहरुलाई व्यवस्था आफै गर्नुस्, निकासा भएपछि दिन्छौं भनेका छौं ।’ उनका अनुसार सुनसरीमा २१ व्टा खेलको छनौट प्रतियोगिता जारी छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे