'परदेशी' गणेश टाकिजमा शुक्रबार रिलिज हुने


धरान । इण्डियन आइडल भएपछि रातारात चर्चित बनेका प्रशान्त तामाङ अभिनित चलचित्र परदेशी शुक्रबारदेखि धरानको गणेश टाकिजमा प्रर्दशनमा आउने भएको छ । देशका अन्य सिनेमा घरहरुमा गएको फुलपातीदेखि नै प्रर्दशनमा आएपनि धरानमा भने रिलिज भएको थिएन । मुभिज डटकम प्रालिको ब्यानरमा निर्माण भएको यो तेस्रो चलचित्र हो । यसअघि यही ब्यानरको दोस्रो चलचित्र गोर्खा पल्टनबाट प्रशान्तले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । उक्त चलचित्रले राम्रो कमाई गरेको थियो ।
चलचित्र परदेशीको टिमले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि गणेश टाकिजमा रिलिज हुने जानकारी गराएको हो । देशको असहज परिस्थिति हुदाहुदै पनि परदेशीले रिलिज भएका ८ दिनमा राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ । रिलिज भएदेखि सोमबार साँझसम्म परदेशीको ग्रोस कमाई २ करोड पुगिसकेको छ । चलचित्रले गरेको व्यापारले फिल्मकर्मीहरु उत्साहित छन् । ‘देश असहज परिस्थितिमा छ, ग्यास नभएर खाना पाक्ने अवस्था छैन । इन्धन हाहाकार छ । यस्तो हुदा हुदै पनि दर्शकको माया र आर्शिवादले परदेशीले राम्रो व्यापार गर्न सक्यो’–चलचित्रको प्रर्वद्धन गर्न धरान आइपुगेका निर्माता राजेश वंशलले भने–‘मंगलबार बेलुकीसम्म ग्रोसमा २ करोड व्यापार भइसक्यो, अझै बढ्छ भन्ने आशामा छौं । यसले हामीलाई धेरै हौसला पनि मिलेको छ ।’ निर्माता वंशलका अनुसार ७० देखि ८० लाख लागतमा चलचित्र परदेशी तयार भएको हो ।
व्यापारको हिसाबले चलचित्र परदेशीले गोर्खा पल्टनलाई पनि उछिन्ने पक्का भइसकेको छ । ‘गोर्खा पल्टन फिल्म मुभिज ब्यानरको दोस्रो र प्रशान्तको पहिलो डेब्यु फिल्म थियो । गोर्खा पल्टनको सफलताले हामीलाई च्यालेन्ज थियो, आज परदेशीका सफलताले हौसला मिल्यो’–वंशलले भने–‘दर्शकहरु हिडेरै भएपनि हलसम्म पुगेर फिल्म हेरिदिनु भएको छ ।’ उनका अनुसार गोर्खा पल्टनले पनि २ करोडको हाराहारीमा कमाई गरेको थियो । निर्माता वंशलका अनुसार चलचित्र परदेशी अग्र्यानिक नेपाली फिल्म हो । परदेशीन बाध्य युवाहरुको कथाबस्तुमा आधारित छ परदेशी ।
मुख्य कलाकार एवं गायक प्रशान्तले विदेशमा धेरै दुःख, कष्ठ भएर पनि बाध्यताले जानु परेका युवाहरुको कथालाई चलचित्रले समेटेको छ । ‘मेरो मात्रै कथा छैन, अन्य पात्रहरुको पनि छ । विदेशमा धेरै दुःख छ । जादै नजानु भन्ने होइन, तर जादा पनि राम्रोसँग बुझेर मात्रै जानु भन्ने सन्देश छ’–उनले भने । अधिकांश पाल्पामा सुटिङ भएको यो चलचित्रको निर्देशन नारायण रायमाझीले गरेका हुन् । प्रशान्तबाहेक रजनी केसी, केशव भटराईलगायतको पनि अभिनय छ । धरानमा नायक प्रशान्तको प्रशंसकहरु धेरै नै भएकोले राम्रो व्यापार गर्ने निर्माण पक्षले आशा गरेको जनाएको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे