पुर्नस्थापना गृहमा दशैंको खुशी(फोटोफिचर)
धरान । पक्षघातले थलिएका १३ बर्षीय हरिकुमार क्षेत्री चाहेर पनि घर जान नपाउदा मन खिन्न थियो । मानिसहरुको चहलपहलसँगै नयाँ कपडा र मिठो खानाको चर्चाले दशैं आएको चाल पाइसकेका थिए । उनको माइला भाई केशव पनि घर परिवारको सम्झनाले उसैगरी उदास थिए । मंगलबार भने हरि र केवशको मुहारमा एकाएक खुशी छायो ।

गृह प्रमुख राईका अनुसार बेसहारा बनेका बालबालिकाहरुलाई समाजका विभिन्न क्षेत्रबाट आएर सहयोग गर्दा आफ्नोपनको महसुस हुने गर्छ । यसले उनीहरुमा मनोवैज्ञानिक प्रभाव पर्ने उनको भनाई छ । दशैंमा जोइन ह्याण्डस्, सेभ लाइफ संस्थाले बर्षेनी यहाँका बालबालिकाहरुलाई लत्ताकपडा प्रदान गर्दै आइरहेको छ । टिकाको दिन अगुवा समाजसेवी बालकृष्ण हलवाईबाट सदा झै यो बर्ष पनि बालबालिकाहरुलाई टिका लगाइदिने गृह प्रमुख राईले बताए । सहारा समुहका अध्यक्ष हलवाईको पहलमा विगत ८ बर्षदेखि गृहमा बिहान र बेलुकीको छाक टार्न सहयोग हुदै आएको छ । गृहमा आमा बुवाले छोडेका, अपांग एवं अशक्त भएपछि तिरस्कृत भएका बालबालिका र वृद्धवृद्धाहरु पनि आश्रित छन् ।
सहयोगी संस्थाका अध्यक्ष डम्बर सम्बाहाम्फेका अनुसार धरान ११ का जेकी लिम्बु, धरान १८ का नेत्र कोयु राई, बुद्धकुमारी फाउण्डेशनकी वासुदा राईबाट पेन्ट, टि सर्ट, टोपी, जुत्ता,तन्ना, ब्लाङ्केट लगायत सहयोग भएको थियो भने दुबईमा रहेको स्वयमसेवीहरुले नाइट अफ टुगेदर नेस्ट कार्यक्रमबाट बचाएको ११ सय दिराम पनि सहयोग आएको थियो । यस्तै, गृहका बालबालिकाहरुलाई दृष्टि नेपालकी वन्दना थापाले खाना खुवाएकी थिइन् । ‘दशैं जस्तो चाडमा घरपरिवारसँगै नहुदा हाम्रो कोही पनि छैन भन्ने नहोस् भन्ने हाम्रो उद्देश्य हो’–अध्यक्ष सम्बाहाम्फेले भने ।
Comments
Post a Comment