नाकाबन्दी नखुलेसम्म प्रधानमन्त्री भारत जान हुदैन: एमाले सचिव भटराई


धरान । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भटराईले भारतले नाकाबन्दी खोलेर आपुर्ति सहज नबनाएसम्म नवनिवार्चित नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जान नहुने बताएका छन् । नेता भटराईले बिहिबार धरानमा आयोजित एमाले सुनसरी १ नम्बर क्षेत्र स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कुनै समस्या नभएपनि भारतले विना कारण नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिएको भन्दै उनले यस्तो अवस्थामा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा नजादैमा केही नबिग्रने पनि जिकिर गरे । नेपाली जनताको आत्मस्वाभिमानको अवमुल्यन हुने गरी एमालेले कुनै विदेशीसँग सम्झौता नगर्ने पनि उनको दाबी थियो । ‘कुनै पनि विदेशीसँग नेपालीको आत्मास्वाभिमानमाथि नेकपा एमालेले सम्झौता गर्नेछैन, केही समय दुःख पाउछौ, मिलेर सहनुपर्छ’–नेता भटराईले भने–‘भारतले नाकाबन्दी गरेकोले नेपाली जनताले दुःख पाइरहेका छन्,त्यसैले भारतीय पक्षबाट नाका नखोलेसम्म, आपुर्ति सहज नगरेसम्म प्रधानमन्त्री भारत भ्रमणमा जानुहुदैन । भारत नजादा केही पनि बिग्रदैन ।’ एमाले अध्यक्ष केपी शर्माओली प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमा बधाई दिदै भारत भ्रमणको निम्तो दिएका थिए ।


भारतीय प्रधानमन्त्रीले सद्भाव देखाउन चाहेको भए नाका खोलेर व्यावहारमा नै उतार्न चुनौती दिदै भटराईले भारतले अन्र्तराष्ट्रिय कानुनको धज्जी उडाएको बताए । नाका बन्द गरेर भारतले महाभारतको युद्धभन्दा पनि ठुलो अमानवीय कार्य गरेको भन्दै उनले भारतीय पक्षले युद्धको जस्तो व्यावहार गरेको आरोप लगाए । ‘नेपाली सुरक्षाकर्मीलाई भारतीय क्षेत्रमा लगेर कुटिन्छ, नेपाली सुरक्षाकर्मीमाथि भारतीय जमिनबाट गुलेली हानिन्छ । यो कुन अन्र्तराष्ट्रिय कानुनमा छ ?’–नेता भटराईले प्रश्न गर्दै भने–‘भारतीय पक्षले युद्धको जस्तो व्यवहार गर्यो, महाभारतको युद्धमा पनि बालबालिका, महिलालाई तारो बनाइदैनथ्यो, तर अहिलो भारतको नाकाबन्दीले औषधीजस्तो अत्यावश्यक सामग्रीको आपुर्ति पनि रोकेर अमानवीयता प्रर्दशन गरिरहेको छ ।’
नेपालको संविधान २०७२ कुनै राजा, महाराजाको हुकुमबाट बनेको नभई जनताो प्रतिनिधिले बनाएको र लोकतान्त्रिक हक,अधिकार, समावेशिताको हिसाबले विश्वकै उत्कष्ट बनेको नेता भटराईको दाबी थियो । भारतको संविधानप्रति नेपालले चासो नदिएजस्तै भारतले पनि नेपालको संविधानमा अनावश्यक चासो दिन नपर्ने उनको भनाई थियो । ‘हाम्रो संविधान समावेशी भएन भन्ने भारत नै कतिको समावेशी छ ? २० करोडभन्दा धेरै मुसलमान भारतमा बस्छन्, तर बिजेपीले २८८ सिट जित्दा एक जना पनि मुसलमान छैनन् । सबैभन्दा धेरै उत्तरप्रदेशमा मुस्लिम बस्छन्, त्यहाँ एक जना पनि उम्मेदवार बनाइएन । विहारमा सबैभन्दा धेरै दलित बस्छन्, तर एक जनालाई पनि चुनावमा टिकट दिइएको छैन’–उनले थपे ।


एमाले पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङले संविधान घोषणापछि एक युगको अन्त्य भएर मुलुक नयाँ युगमा प्रवेश गरेको जिकिर गरे । पार्टीको पनि अब तत्कालीक कार्यदिशा, लक्ष्यमा परिवर्तन भएर जनताको जीवनशैली, आर्थिक, सामाजिक रुपान्तरणमा केन्द्रीत हुे उनले बताए । एमाले केन्द्रीय सदस्य एवं कोशी अञ्चल इञ्चार्ज जीवन घिमिरेले नयाँ संविधानले महिला, दलित, जनजाति, मधेशी सबैको अधिकार सुनिश्चित गरेको बताए । समानुपातिक समावेशी सिद्धान्तलाई संविधानले अंगिकार गरेको दाबी गर्दै उनले सुचिकृत जातिलाई हरेक क्षेत्रमा ४५ प्रतिशत, महिलालाई ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरेको बताए । एमाले १ नम्बर क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षमा आयोजित भेलालाई सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष द्धारिकलाल चौधरी, जिल्ला कमिटि सदस्य रमेश बस्नेतले पनि बोलेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे