बन्द र नाकाबन्दीले औषधीको स्टक सकिदै


धरान । करिब डेढ महिनादेखि मधेशवादी दलको बन्द र पछिल्लो समय भारतको नाकाबन्दीको असर औषधीमा पनि परेको छ । औषधी व्यावसायीहरुका अनुसार पुर्वमा सबैभन्दा बढी औषधीको स्टक रहने धरानमा पनि अत्यावश्यक औषधीहरु रित्तिदै गएको छ । केही दिनमै स्थिति सहज नभए औषधीको हाहाकार शुरु हुने व्यावसायीहरुको भनाई छ ।
व्यावसायीहरुका अनुसार स्लाइन, एन्टिबायोटिक तथा जीवन रक्षक इन्जेक्सन आइटमहरु सकिदै गएको छ । धरान १८ स्थित सत्यम फर्माका सञ्चालक सुवास पौडेलका अनुसार स्लाइन थोक बिक्रेतामा पनि पाउन छोडेको छ भने भारतबाट आयात हुने इन्जेक्सन आइटमहरु पनि क्रमशः पाउन छोडेको छ । ‘स्लाइन, इन्जेक्सन सबै भारतबाट नै आउने हो, यति लामो बन्द भइदिदा होलसेलमा पनि पाउन छाडेको छ’–पौडेलले भने ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालिक लाइफ केयर मेडिकलका अनुसार ग्याष्टिकको लागि आवश्यक पेन्टाप्रोजोल, एजर्लीको एभिलजस्ता इन्जेक्सन सकिएको छ । चिकित्सकले भारतीय कम्पनीको नामसहित औषधी लेखिदिने गरेकोले पनि समस्या हुने गरेको लाइफ केयरका मित्र थापा बताउछन् । ‘हामीले त स्टक राखेका थियौं र, अहिलेसम्म धान्यो । तर, अब समस्या शुरु हुन थाल्यो’–उनले भने ।
व्यावसायीहरुका अनुसार इर्मेजेन्सीमा चाहिने हाइटोकोटेशन, एड्रिनालिन, एट्रोपिनजस्ता इन्जेक्सन पनि पाइन छोडेको छ । यसले विरामीको उपचारमा प्रत्यक्ष असर पुग्छ । ट्याब्लेटमा नेपाल आत्मनिर्भर भएपनि एन्टिबायोटिक इन्जेक्सनमा भने भारतमा निर्भर हुनु परेकोले स्थित भयावह बन्दै गएको औषधी व्यावसायी संघका केन्द्रीय सदस्य एवं सुनसरी ओखती घरका सञ्चालक सि.पि.दत्तले बताए । ‘पुर्वमा धरानले नै सबैभन्दा बढी औषधी स्टक गरेर व्यावस्थापन गर्ने हो । यही पनि सकिदै गएपछि लाइफ सेभिङ औषधी पनि नपाउदा भयावह स्थिति बन्न लागेको छ’–दत्तले भने–‘अहिलेसम्म एउटामा सकिए अर्कोमा, त्यहाँ सकिए अर्कोबाट व्यवस्थापन हुदै थियो । अब २, ३ दिनमा नै झनै अभाव हुने भएकोले सरकार गम्भीर हुनुुपर्छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे