पुलको तथ्यांक लिइदै, बर्षमा तीन पटक अनुगमन गरिने


धरान । पुलको तथ्यांक र नियमित अनुगमनको अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे सडकखण्डमा खहरे खोलाको पुल भत्किएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले अबदेखि नियमितरुपमा बर्षमा तीन पटक नगरभित्रका पुलहरुको स्थलगत निरीक्षण एवं अनुगमन गर्ने भएको छ । उपमहानगर क्षेत्रभित्रका पुलहरुको सर्वे एवं तथ्यांक संकलन गरिरहेको उपमहानगरपालिकाले धनकुटे रोडको पुलमा जस्तै ठुलो क्षति हुन नदिन यो उपाय अपनाएको हो ।
नियमितरुपमा अनुगमन नहुदा नै धनकुटे रोडको पुल भत्किएको थियो । सामान्य मर्मतसम्भार गर्दा नै जोगिन सक्ने उक्त पुल भत्किएपछि भने नयाँ पुल नै बनाउन ठुलो बजेट खर्च गर्नुपर्ने भएको छ । नयाँ पुल बनाउन सडक विभागले सर्वे र डिजाइनको काम शुरु गरिसकेको जनाएको छ । करिब ४ बर्षअघि पनि कटानले कमजोर बनेको पुलको पुर्वी फाउण्डेशन सामान्य मर्मत गरेर नगरपालिकाले नै जोगाएको थियो । सोही पुलको अवस्थाबारे नियमित अनुगमन नहदा असोज ७ गते राती पुर्वी फाउण्डेशन भाच्एिर पुल नै खसेको थियो । ‘यो पुल भत्किएपछि धरानभित्रका अरु पुल, कल्भर्टहरुको अवस्था के छ भनेर बुझ्न आवश्यक पर्यो । त्यही भएर पुलहरुको कहिले बनेको हो, कुन अवस्थामा छ भनेर सर्वे र तथ्यांक लिने काम शुरु गरिसकेका छौं’–धरान उपमहानगरका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठले भने–‘अब सबै २७ वडाभित्रको पुुलको तथ्यांक राखेर बर्षमा ३ पटक नियमितरुपमा अनुगमन गर्ने सिस्टम बसाल्छौं ।’

उनका अनुसार उपमहानगरले बर्खायाम अघि, बर्खायामको बीचमा र बर्खा सकेपछि नगरक्षेत्र भित्रको पुलहरुको नियमितरुपमा अनुगमन गर्नेछ । जोखिमपुर्ण पुल भेटिएमा तत्काल मर्मतसम्भार पनि गरिनेछ । हालसम्म भने स्थानीयको गुनासो एवं निवेदन आएपछि मात्रै उपमहानगरले पुलको निरीक्षण र मर्मत गर्दै आइरहेको थियो । उपमहानगरका अनुसार योजनावद्धरुपमा स्लाभ, कल्भर्ट, पुल मर्मत गर्न बजेटको व्यवस्था छ । यसलाई मर्मत कोष बनाएर अझ व्यवस्थितरुपमा पुल, कल्भर्टको मर्मत गर्ने उपमहानगरको योजना हो । धरानभित्र करिब तीन दर्जन पुल तथा कल्भर्टहरु रहेको अनुमान छ । खोला(खहरे) माथि छ मिटर भन्दा लामो संरचना भए पुल र सानोलाई कल्र्भट भनिन्छ । धरानभित्र तीन वटा ठुला खहरे र साना सहायक थुप्रै खहरेहरु भएकोले पुल र कल्भर्टको संख्या पनि धेरै भएको हो ।


धनकुटे रोडको पुल भत्किएलगत्तै उपमहानगरले इञ्जिनियर देशकुमार राईको नेतृत्वमा पुलको सर्वे एवं तथ्यांक संकलन गरिरहेको छ भने कांग्रेस १ नम्बर क्षेत्रीय समितिले गठन गरेको सात सदस्यीय पुल अनुगमन तथा पहल समितिले पनि प्राविधिकसहित उपमहानगरसँग समन्वय गरेर पुलको अनुगमन गरेको छ । समितिले शुक्रबार उपमहानगरसँग पुल अनगमन र सहकार्यबारे छलफल गरेको थियो । ‘धनकुटे रोडको पुल भत्किएपछि धरानभित्रको अरु पुलहरुप्रति पनि चासो बढ्यो । नगरपालिकामा पुलको तथ्यांक नै रहेनछ, त्यसैले अरु पुल पनि जोखिममा छ कि कस्तो छ भनेर अवस्था पत्ता लगाउन उपमहानगरसँग सहकार्यमा नै अनुगमन भइरहेको हो’–समितिका संयोजक तिलक राईले भने । उनका अनुसार समितिमा ईञ्जिनियरहरु निर्मल श्रेष्ठ, युमन शाक्य र सि.एम.मगर आमन्त्रित सदस्यकोरुपमा स्थगलत अवलोकनमा छन् । इञ्जिनियर युमन शाक्यका अनुसार शनिबार अनुगमन गरिएका ३१ वटा पुलमध्ये ३ वटा जोखिमपुर्ण अवस्थामा रहेको थियो । केही पुललाई सामान्य मर्मत गर्नुपर्ने देखिएको र मुख्य राजमार्गमा रहेका पुलको अवस्था राम्रो रहेको उनले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे