गल्फ सिक्दै बालबालिकाहरु


धरान । अरुबेला स्कुल जान हतारिने जेम इंलिस बोर्डिङ स्कुलकी १५ बर्षिय तायमा राईको बिहानी अचेल भने निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा बित्न थालेको छ ।
हातमा गल्फ क्लब(ड्राइभर, पटर र आइरन) बाकेर उनी घरि ड्राइभ सट हान्छिन्, घरि चिप अनि पटिङ गर्छिन् । गल्फ खेलबारे धेरै जानकारी नभएकी तायमालाई अहिले भने गल्फप्रति निक्कै रुचि जागेको छ । उनी भन्छिन्,–‘गल्फबारे थाहै थिएन, अहिले हामीले पनि खेल्न सकिदो रहेछ भन्ने लागेको छ ।’

तायमा जस्तै डेढ दर्जन बढी बालबालिकाहरुको बिहानी निर्वाण कन्टीको गल्फ कोर्षमा यसैगरि बितिरहेको छ । गर्मी विदाले स्कुल जान नपरेपछि विहानको समय उनीहरु गल्फ खेल सिक्न ब्यस्त छन् । बिहान ७ बजे नै उनीहरु गल्फ कोर्ष पुग्छन् र करिब दुई घण्टासम्म गल्फबारे विभिन्न टेक्निकहरु सिक्छन् । कतिलाई त भविष्यमा मौका मिले प्रतियोगिताहरुमा भाग लिने चाहना पनि जागिसकेको छ । ‘खेल्न मजा पनि भइरहेको छ, पछि चान्स पाएभने यही खेल खेल्छु’–१३ बर्षीय मनिष राईले भने । उनले पनि पहिलो पटक गल्फ कोर्षमा पाइला टेकेका हुन्, तर टिभिमा गल्फ खेलेको हेरेका थिए र मोवाइलमा गल्फ खेल खेलेको अनुभव बटुलेका थिए ।

उनीहरुलाई यो अवसर धरान गल्फ क्लब, सुनसरी जिल्ला गल्फ संघ र निर्वाणा कन्टी क्लब, गल्फ एण्ड हेल्थ रिसोर्टले जुटाइदिएको हो । जुनियर गल्फ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर शुरु भएको प्रशिक्षण शिविरमा हाल जेम स्कुलका मात्रै १९ जना विद्यार्थीहरु सहभागी छन् । प्रशिक्षणमा १८ बर्ष मुनिका बालबालिकाहरुलाई मात्रै सहभागी गराइएको छ । सकेसम्म कक्षा ९ सम्मका विद्यार्थीलाई मात्रै सहभागी गराइने आयोजकको भनाई छ । ‘अहिले जेम इंलिस बोर्डिङबाट मात्रै विद्यार्थीहरु सहभागी छन्, तर हामीले धरानका अरु विद्यालयबाट पनि सहभागी गराउने सक्दो पहल गरिरहेका छौं’–सुनसरी जिल्ला गल्फ संघका सचिव तथा धरान गल्फ क्लबका सल्लाहकार तिलक राईले भने–‘जुनियर नयाँ खेलाडीहरु उत्पादन गर्ने हाम्रो उद्देश्य हो ।’ 

उनका अनुसार विद्यार्थीहरुलाई प्रशिक्षण शिविरमा सहभागी गराउन धरानका विभिन्न विद्यालयहरुलाई पत्राचार भइसकेको छ । गल्फ खेलमा आममानिसको रुचि जगाउन र सबैको पहुँचमा पुर्याउन पनि प्रशिक्षण शिविर महत्पवुर्ण रहेको उनको भनाई छ । ‘सानैदेखि गल्फप्रति लगाव भयो भने पछि प्रतिभावान खेलाडीहरु यहीबाट निस्कन्छन्’–उनले भने । बालबालिकाहरुलाई निर्वाण कन्टी क्लबका प्रो.सुमन सापकोटा, व्यावसायिक खेलाडीहरु देवराज पाख्रिन, मणी राई, एक ह्याण्डीक्याप गल्फर तथा धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, राजकुमार राईलगायतले प्रशिक्षण दिइरहेका छन् । आइतबारदेखि शुरु भएको प्रशिक्षण शिविर दैनिक करिब दुई सातासम्म जारी रहनेछ ।


धरानमा क्याडी ब्वाइकारुपमा बालबालिकाहरुले धेरै अघिदेखि गल्फ कोर्षमा पाइला चालेका हुन् । तर, विगत ५ बर्षयता मात्रै जुनियर गल्फ प्रतियोगिता आयोजना हुन थालेपछि बालबालिकाहरुको लागि प्रतिभा देखाउने ढोका खुलेको हो । त्यसयता धरानका माइकल राई, एन्सु लिम्बू, युवराज भुजेल, शिवराज माझी, शुक्र राई, नोर्किन पाख्रिनजस्ता राम्रो खेल प्रतिभा भएका जुनियर खेलाडीहरु देखा परे । यीमध्ये माइकललाई नेपाल गल्फ एशोसिएशन(एनजिए)ले काठमाण्डौंमा राखेर प्रशिक्षण दिइरहेको छ भने एन्सुले ५० हजारको छात्रावृत्ति पाएका थिए । बढ्दो उमेरका कारणले भने धरानमा विस्तारै जुनियर खेलाडीहरुको अभाव हुन थालेकोले पनि नयाँ खेलाडी उत्पादन गर्न प्रशिक्षण आवश्यक भएको क्लबका व्यावसायिक खेलाडी तथा प्रशिक्षक सुमन सापकोटा बताउछन् । ‘एनजिएले प्रत्येक महिना जुनियर टुर्नामेन्ट गराउन रकम उपलब्ध गराउने भन्दा पनि जुनियर खेलाडी नभएर आयोजना हुन सकेको छैन’–सापकोटा भन्छन्–‘यो प्रशिक्षण शिविर प्रतिभाको खोजी पनि हो ।’ एनजिएको सहयोगमा दुई सँस्करण मात्रै जुनियर टुर्नामेन्ट हुनसक्यो ।

व्यावसायिक खेलाडी मणि राई काठमाण्डौंमा जस्तै धरानमा पनि नियमितरुपमा इच्छुक बालबालिकाहरुलाई प्रशिक्षण गराउन आवश्यक भएको ठान्छन् । एनजिएले धेरै राम्रो अवसरहरु दिने भएकोले जुनियर गल्फरहरुको भविष्य पनि राम्रो बन्ने उनको भनाई छ । ‘पहिलाको जस्तो अवस्था छैन, प्रतिभा भएका खेलाडीको लागि गल्फबाट नाम, दाम कमाउन सकिन्छ भन्ने उदाहरण शिवराम श्रेष्ठ नै छन्’–उनले भने । नेपालका नम्बर एक व्यावसायिक खेलाडी शिवराम शुरुमा क्याडी बोइ थिए । अहिले उनी गल्फबाट मनग्ये आम्दानी गर्ने खेलाडीमा पर्छन ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे