सम्पत्तिको लोभमा परेपछि....!
बुधबार मध्यान्हको समय थियो । औजार दैनिकको कार्यालय
धरान ७ शान्तिपथ मुनि म साथीहरुसँग बसेर गफिदै थिएँ । भोक लागेकोले खाजा पनि मगाएर
खानै लागेको बेला मोवाइल बज्यो । न्युज २४ मा कार्यरत मित्र सन्तोष काफ्लेले गर्नुभएको
रहेछ । ‘रोहित जी, शिवधाराको एउटा घरमा तीन बर्षदेखि महिलालाई बन्धक बनाएको रहेछ, म
यही छुँ । राम्रो समाचार बन्न सक्छ आउनुस्’–मोवाइल उठाउनुबित्तिकै सन्तोष जीले भन्नु
भो । तीन बर्षदेखि महिला बन्धक ? दिमागमा झट्का हानिहाल्यो । हतार हतार खाजा खाएर हुँइकिए
शिवधारा तिर ।
सन्तोष जीले फोनमा वेल्फेयर अफिसदेखि अलिकति तल हो भन्नु
भएको थियो । म त्यसै अनुसार जिरोप्वान्टबाट धनकुटातर्फ जाने बाटोमा मोडिएपछि वरिपरी
हेर्दै हिडे । वेल्फेयर अफिस पुग्नु अघि नै मैले सडकबाटै एउटा घरमा मानिसहरुको भिड
देखिहाले । त्यही सन्तोष जी पनि देखे । बाइकलाई साइड लगाएर म पनि घरको गेटभित्र छिरे
।
गेटभित्र छिरेपछि देखे, एउटी महिला शारीरिकरुपमा ज्यादै
कमजोर महिला छिन् । करिब एक दर्जन पुरुष छन्, ती मध्ये एक जना पत्रकार र ३ जना घुमुवा
प्रहरी । अरु सबै स्थानीय । सबैले ती महिलालाई सोधी गरिरहेका छन् । पत्रकार मित्र सन्तोषले
क्यामेरामा ती महिलासँगको वार्तालाप कैद गरिरहेका छन् । ती महिला राम्ररी बोल्न सकिरहेकी
थिइनन् । प्रश्नको जवाफ दिन झर्को माने जस्तो पनि लाग्थ्यो । हाड र छाला मात्रै छ ज्यानमा
। लुंगी र एउटा भेष्ट लगाएकी छन्, त्यो पनि ज्यादै फोहोर छ । शुरुमा त मैले केही भेउ नै पाइन, के भएको हो भनेर
। स्थानीय एक वृद्ध बमबहादुर कटवालले सरसर्ति सबै घटनाक्रमबारे बताएपछि मात्रै म छर्लङ्ग
भएँ । ती महिला बास्ने कोठाभित्र छिर्यौं हामी । ज्यादै फोहोर, पिसाबको आहाल थियो ।
नाङ्लोमाथि भात थियो । हेर्दा नै दिगमिक लाग्ने अवस्था । उनले कसरी त्यो कोठाभित्र
तीन बर्ष बिताइ होली ? कल्पना गर्दा नै आङ सिरिङ् हुन्छ ।
ती महिला रुद्रकुमारी खड्का रहिछ । त्यो घर उनको माइती
घर हो । घरको मुलधनी उनको बुबाको करिब ५ बर्षअघि मृत्यु भएको रहेछ । माइती घरमा रुद्रकुमारी
मात्रै थिइन् । बुबा विराम परेपछि र मृत्यु भएपछि भने बिहे गरेर गइसकेकी रुद्रकुमारीकी
जेठी दिदी रनमाया खड्का(राई) पनि माइती घरमा बस्न आइन् । समय बित्दै जादा रनमायाले
बहिनीलाई पक्की घरबाट आगनकै कटेरोमा सारिदिइन् र विस्तारै त्यो कटेरोभित्रको संसारमा
सिमित पारिदिइन् । रनमाया भने एकतले पक्की घरमा आरामले दिन बिताउन थालिन् । तीन बर्षयता
बहिनी रुद्रकुमारीको दैनिकी त्यही कटेरो अनि अध्यारो कोठामा बित्यो । स्थानीयका अनुसार
घरि घरि उनी बाहिर निस्किन्थिन् रे, त्यो पनि भात मागेर खान । उनले पानी पनि अरुबाटै
मागेर खान्थिन् रे । बुबाको मृत्यु पछि शिवधाराको १७ कट्ठ जमिन एकलौटी बेचेर खाएकी
रनमायाले पक्की घरसहितको दुई कट्ठा जमिन भागवण्डा गर्नुपर्ने भएकोले बहिनीलाई बन्दक
बनाएर राखेको स्थानीयको भनाई थियो । धेरै जसो त्यो कटेरोमा बाहिरबाट चुकुल लाग्ने गरेको
पनि थाह भयो । रुद्रकुमारी माथि कुटपिट पनि हुने गरेको थिएछ । घटनाक्रम हेर्दा पनि
स्थानीयको भनाई सही नै थियो । रनमायाको विगत हेर्दा पनि उनमा सम्पत्तिको लोभ कति छ
भन्ने प्रष्ट हुन्छ । तीन जनासँग बिहे गरेकी रहिछ उनले । उनले जेठो र माइलो श्रीमानसँग
छुटिदा टन्नै अंक लिएकी रहिछ । जग्गाजमिन उनको नाममा टन्नै रहेछ ।
निक्कैबेरसम्म स्थानीय र पीडित महिलासँग कुराकानी गर्दा
पनि रनमाया भने घरमा थिइनन् । जब उनी आइन्, घर बाहिरबाटै फतफताउदै भित्र छिरिन् । बडा
जब्बर स्वाभावकी रहिछ, रनमाया । अरु कसैको कुरै सुन्न नमान्ने । बाहिनीलाई कोठामा थुनेर
नराखेको भन्दै उनले बहुलाएकोले आफै कोठाभित्र बसिरहने भन्थिन् । बहुलाएको कसरी थाह
भयो ? डाक्टरले भनेको हो त ? उपचारमा लैजानु भयो त भन्ने प्रश्नको जवाफ भने उनले सही
तरिकाले दिइनन् । पैसा नभएर उपचारमा नलगेको भनिन् । एकलौटी १७ कट्ठा जमिन बिक्री गरेको
पैसाले बहिनीको उपचार गर्दा पनि हुन्छ नि भन्दा बुबाको ऋण तिरेर सकियो भन्ने जवाफ दिइन्
। उनले जे जसरी पन्छिन खोजेपनि सम्पत्तिकै लागि बहिनीलाई त्यसरी राखेको प्रष्टै थियो
। कम्तीमा उपचारमा लैजान त सक्थिन् नि, त्यो पनि गरिनन् ।
सम्पत्ति देख्दा
महादेवको पनि तीन नेत्र भन्ने चर्चित नेपाली उखान छ । रनमायाको स्वभावले यो उखानलाई
चरितार्थ गरेको छ । सबै जानकारी लिइसकेपछि प्रहरीले रुद्रकुमारीलाई उद्दार गरेर लग्यो
भने रनमायालाई हिरासतमा राख्यो । विचरी रुद्रकुमारी, दिदीलाई प्रहरीले लैजादा भन्दै
थिइ–‘केही गरेको छैन, नलैजाओ न ।’ प्रहरीले तत्कालै रुद्रकुमारीलाई बीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याएछ । चिकित्सकले उनमा मानसिक समस्या हुनसक्ने
भन्दै ओपिडीमा मानसिक विभागमा रिफर गरिदिएछ । तीन बर्षसम्मको कष्टकर दैनिकीले उनलाई
मानिसक र शारीरिकरुपमा विक्षिप्त बनाएको हुनुपर्छ । दिदी रनमाया एक रात प्रहरी हिरासतमा
बिताइन् । भोली पल्ट समाचार छापियो । अघिल्लो दिनमै केही महिला अधिकारकर्मीहरु प्रहरी
कार्यालय पुगेका रहेछन् । भोलीपल्ट बिहिबार पनि महिला अधिकारकर्मी र स्थानीयबासी पुगे
। छलफल भयो, रनमायाले बहिनीको सम्पुर्ण उपचार खर्च व्यहोर्न राजि भइन् । त्यतिमात्र
होइन, बहिनी पुर्णरुपमा निको भएपछि १० धुर जग्गा उनको नाममा नामसारी गर्न पनि सहमत
भइन् । त्यसैअनुरुप कागज गरेर उनी हिरासत मुक्त भइन् । यसरी सम्पत्तिको लोभमा दिदीले
बहिनीमाथि गरेको अन्यायको कथा क्लाइमेक्समा पुगेको छ । अब हेर्नुछ, सहमति अनुसार रनमायाले
आफ्नी बहिनीको उपचार गर्छिन् कि गर्दिनन् ।
Comments
Post a Comment