वेड भर्ना नपाउदा प्रसुती वार्डबाहिरै जन्मियो मृत बच्चा

 धरान । सुनसरीको प्रकाशपुर १, नयाँबस्तीकी कलावती रामलाई शनिबार व्यथाले च्याप्यो । उनका पति रत्नकुमारले तत्कालै नजिकको मेडिकलमा लगे । दुखाई र छटपटि बढेपछि मेडिकलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिदियो ।
गरिब परिवारका रत्नकुमारले स्थानीयसँग ऋण काढेर २८ बर्षीय श्रीमतिलाई राती नै बीपी प्रतिष्ठान ल्याइपुर्याए । सात महिनाकी गर्भवती कलावतीलाई गाइनो वार्डमा जाँच भयो । केहीबेर पछि सन्तोषजनक छ भन्दै वार्डबाट बाहिर पठाइयो । तर, श्रीमान् र आफन्तहरुले घर फर्किन मानेनन् । ‘चिकित्सकहरुलाई ७ महिनाको गर्भ छ, अवस्था गम्भीर छ’ भन्दै वेडमा भर्ना गरेर राखिदिन आग्रह गरे । वेड अभाव र अरु पनि विरामी भएको भन्दै मानेनन् ।
रातभर अनिदो, र निरन्तर कुर्सीको बसाईले कलावतीको व्यथा कम भएन । अन्ततः आइतबार बिहान करिब दश बजेतिर गाइनो वार्डको आँगनमै खुला आकाशमुनि नै कलावतीले बच्चा जन्माइन् तर, बच्चा जन्मदै मृत । कलावती बेहोस भइन् । यो घटना पछिमात्रै नर्स आएर मृत शिशु र आमालाई भित्र लगे । शुरुमा सामान्य जाँच गराएर पठाई दिएपछि वेड भर्ना आग्रह गर्दा ठुलो डाक्टर आउछ भन्दै राती र बिहानभर पर्खाएको कलावतीका श्रीमान् रत्नकुमारले बताए । ‘डाक्टर आउछ भन्दै पर्खिबस्यौं, श्रीमतिलाई वेडमा राख्न पाइएन । कलावतीले कुर्सीमा बस्नु पर्यो, उनले आराम गर्नै पाएन’–उनले भने–‘बिहान १० बजेसम्म डाक्टरले हेरेन, बाहिरै मरेको बच्चा जन्मिएपछि हत्तार हत्तार भित्र लग्यो ।’
राती वेड नभएपछि चिकित्सकले अन्यत्र लैजाउ पनि भनेनन् । गाउँकै मेडिकलवालाले पनि अन्यत्र नलैजानु, बीपीमै राम्रो हुन्छ भन्दै पठाइदिएका थिए । खर्चको पनि अभाव थियो । त्यसैले रत्नकुमारले रातभर र बिहानको समय बीपीको गाइनो वार्डमा डाक्टरको प्रतिक्षामै बिताए । ‘यत्रो हस्पिटलमा उपचार पाउदैन भनेर सोचेकै थिइन, बरु अरुतिरै लैजाउ भनेको भएपनि हुन्थ्यो’–घटनापछि उनले आफ्नो पीडा पोखे–‘गर्भ ७ महिनाको थियो, तर उपचार भएको भए राम्रो हुन्थ्यो कि ? यो त अन्याय भो हजुर !’ राती एकजना डाक्टरलाई आफ्नो कुरा राख्दा हिन्दीमा ‘अन्दर डाक्टर है, जाओ’ भनेर पठाएपनि भेट नभएको उनले गुनासो गरे । उनका मितआमा आशादेवी चौधरीले पनि विरामी साह्रो छ भन्दा पनि बेड भर्ना नलिएको बताइन् । कलावती र रत्नकुमारको ८ बर्षकी एक छोरी छिन् । रत्नकुमार जुत्ता सिलाउने पेशाले परिवारको गुजारा चलाउदै आएका छन् ।
प्रतिष्ठान र उसको प्रसुती विभागले भने घटनाबारे अनभिज्ञता जनाउदै थप केही बोल्न चाहेको छैन । प्रसुती विभागकी प्रमुख डा.हनुन पोख्रेलले घटनाबारे अनभिज्ञता जनाउदै अस्पताल प्रशासनमार्फत मात्रै सुचना जानकारी गराउन मिल्ने बताइन् । ‘घटनाबारे थाह छैन, केही बुझ्नुपर्ने हो भने अस्पताल निर्देशकमार्फत आउनुहोला’–उनले भनिन् । अस्पताल निर्देशक डा.अरबिन्द सिन्हासँग सम्पर्क हुन सकेन । प्रतिष्ठानका प्रवक्ता डा.पारस पोख्रेलले पनि घटनाबारे बुझ्दा प्रसुती विभागमा कसैलाई थाह नभएको बताए । ‘खै, के भएको हो विभागमा बुझ्दा पनि कसैलाई थाह छैन’–उनले भने ।
प्रसुती विभागका एक चिकित्सकका अनुसार नन् स्ट्रेस टेस्ट(ग्क्त्) गरेपछि बच्चाको धड्कन सुनिएको थिएन । त्यसपछि डिउटीमा रहेका डाक्टरले अल्ट्रासाउण्ड गर्नुपर्ने भएकोले एकछिन बाहिर बस्दै गर्नु भनेर पठाएपनि त्यसपछि विरामी र उनको आफन्तजन नै नभेटिएको भन्ने जानकारी आएको ती चिकित्सकले बताए । ‘जसको अवस्था गम्भीर छ, हामी उनीहरुलाई फिर्ता पठाउदैनौं’–ती चिकित्सकले भने–‘विरामीको चापले गर्दा पनि समस्या हो, प्रत्येक दिन गाइनो वार्डमा ४५ देखि ६५ सम्म नयाँ विरामी भर्ना हुन आउछन्, सबैलाई राख्न सकिदैन ।’

                                                       जिम्मेवार पदाधिकारी पत्रकार सम्मेलनमा आएनन्

प्रकाशपुर १, नयाँबस्तीकी गर्भवती कलावती रामलाई व्यथाले च्यापे पनि वेड भर्ना नलिदा गाइनो वार्डको आँगनमै सुत्केरी हुँदा बच्चाको मृत्यु भएको घटनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरेपनि घटनाबारे स्पष्ट जवाफ दिन जिम्मेवार पदाधिकारी तथा विभागीय प्रमुख भने उपस्थित भएनन् ।
घटनाको दिन आइतबार प्रतिष्ठानका जिम्मेवार पदाधिकारी एवं विभागीय प्रमुखले घटनाबारे थाह नभएको बताइरहे पनि सोमबार बेलुकीतिर पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ताले हस्ताक्षर गरेको विज्ञप्ती बाडिए पनि सहायक प्रवक्ता डा.पशुपति चौधरी र प्रशासनका केही कर्मचारीमात्रै आए । पत्रकारहरुले अस्पताल निर्देशक डा.अरबिन्द सिन्हा र प्रसुती विभागकी प्रमुख डा.हनुन पोख्रेल उपस्थित हुनुपर्ने माग राखेपनि सहायक प्रवक्ताले विज्ञप्तीमा प्रतिष्ठानको औपचारिक धारणा भएको दाबी गरे । तर, उनले पत्रकारहरुको प्रश्नको जवाफ भने स्पष्टरुपमा दिन सकेनन् । घटना गाइनो वार्डमा भएको र सहायक प्रवक्ता  हाडजोर्नी विभागका चिकित्सक भएकोले उनलाई जवाफ दिन समस्या भएको थियो ।
प्रवक्ताले जारी गरेको विज्ञप्तीमा आइतबार बिहान अढाई बजेमात्रै विरामी कलावती राम पेट दुःखेको सिकायत लिएर एन्टिनेटल वार्डमा पुगेको उल्लेख छ । जाँच गर्दा २४ हप्ताको गर्भवती देखिएको र बच्चाको धड्कन एनएसटि जाँच गर्दा नसुनिएकोले वेड अभावको कारण आफन्तलाई अन्यत्र थप उपचारमा जान सल्लाह दिएको विज्ञप्तीमा दाबी छ । तर, आइतबार पीडितका श्रीमान् रत्नकुमारले भने शनिबार राती एघार बजे नै प्रतिष्ठानमा कलावतीलाई ल्याएको बताएका थिए ।
पटक पटक विरामीको अवस्थाबारे जानकारी गराएर अन्यत्र लैजान सल्लाह दिएपनि उनीहरु जान नमानेको प्रतिष्ठानले विज्ञप्तीमार्फत जनाएको छ । साथै, मृत बच्चा जन्मिएको खबर प्राप्त भएपछि बेड खाली भएकोले सुत्केरीलाई साढे दश बजे बिहान अबजरबेसनमा वार्डमा राखिएको र त्यसक्रममा आइतबार दिउँसो ३ बजेतिर वार्डबाट विरामी र कुरुवा सुचना नदिइ नै अस्पताल छोडेर गएको प्रतिष्ठानको विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानको एन्टिनेटल वार्डमा २४ वटा मात्रै वेड भएपनि शनिबार ४८ जना विरामी भर्ना भएकोले कलावतीको लागि वेड भर्ना गर्न सक्ने अवस्था नभएको खुलाइएको  छ ।
‘मानवीय संवेदनालाई उच्च मुल्यांकन गर्नका साथसाथै मानवीय मुल्य र मान्यतालाई सर्वोपरी राखी विरामीको उपचार गर्दा गर्दै पनि यस्तो घटना हुन आफैमा दुःखद छ’–विज्ञप्तीमा भनिएको छ । यस्तो घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको लागि मेटरनल एण्ड चाइल्ड हेल्थ केयर सेन्टरको स्थापना हुनजरुरी रहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश भइसकेको प्रतिष्ठानले जनाएको छ ।

............................................................................................................................................................

तस्वीर क्याप्सनः
पिक १: बीपीको प्रसुती वार्डबाहिर रत्नकुमार राम ।

पिक २ र पिक ३:
कलावती सुत्केरी भएको ठाउँ र कपडा देखाउदै रत्नकुमार ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे