गर्मी विदामा यू-१४ फुटबल प्रशिक्षण शिविर
धरान । फटबल भनेपछि हुरुक्कै हुने माउण्ट हर्मन एकेडेमीका ९ बर्षीय मौषम राईलाई शनिबारको रात एक युग झै भयो । कहिले उज्यालो होला भन्ने उनको छटपटीले उनको अभिभावकलाई पनि चिन्तामा डुबायो ।उनको छटपटिको कारण थियो, आइतबारदेखि शुरु हुने समर फुटबल ट्रेनिङ क्याम्प । फुटबल प्रशिक्षण हुने थाह पाएदेखि नै उनी असाध्यै उत्साहित थिए । ‘कहिले बिहान होला र ट्रेनिङमा जान पाइएला भनेर छटपछि भइरह्यो’–कक्षा ३ का मौषमले भने–‘ज्यादै खुशी छुँ ।’ उनलाई यो अवसर माउण्ट हार्मन एकेडेमीले दिलाएको हो । एन्फाको प्राविधिक सहयोगमा आइतबारदेखि शुरु भएको अण्डर १४ प्रशिक्षणमा मौषम झै ४३ जना फुटबल क्रेजी विद्यार्थीहरु सहभागी छन् ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा अबको १५ दिनसम्म प्रशिक्षण रहने एकेडेमीले जनाएको छ । विद्यार्थीहरुको विदाको समय उपयोग गर्दै उनीहरुमा भएको खेल क्षमतालाई निखार्न प्रशिक्षण आयोजना गरिएको एकेडमीका संस्थापक एवं एन्फाका जिल्ला उपाध्यक्ष नविन राईले बताए । ‘प्रशिक्षणले विद्यार्थीहरुलाई स्वस्थ्य, तन्दुरुस्त राख्छ र उनीहरुमा भएको खेल प्रतिभा पनि हामीले चिन्ने अवसर पाउछौं’–उनले भने ।प्रशिक्षण शिविरको उद्घाटन गर्दै एन्फाका केन्द्रीय उपाध्यक्ष किसोर राईले जुनियर खेलाडी उत्पादन तथा फुटबलको विकासमा शिविर फलदायी हुने आशा व्यक्त गरे । ‘एन्फाले ग्रासरुट ट्रेनिङ आयोजना गर्ने योजना बनाएपनि गर्न सकेको थिएनौं, त्यस्तै कार्यक्रम स्कुलले आयोजना गरेकोमा खुशी छौं’–उनले भने–‘सानै उमेरदेखि प्रशिक्षण र अवसर पाउने हो भने नेपालमा पनि योग्य र दक्ष फुटबलर उत्पादन हुन्छ ।’ उनका अनुसार विद्यालयस्तरमा फुटबल प्रशिक्षण शिविर आयोजना भएको नेपालमै पहिलो हो । प्याब्सन सुनसरीका उपाध्यक्ष नरबहादुर थापाले हालसम्म कुनै स्कुलले नगरेको कार्य माउण्ट हार्मोनले गरेको भन्दै प्रसंसा गरे ।
एकेडेमीका प्रिन्सिपल अनुप तामाङले विद्यार्थीहरुलाई अध्ययनमा मात्रै सिमित नराखी अतिरिक्त क्रियाकलापमा पनि प्राथमिकतामा राखेको बताए । ‘विद्यार्थीहरुको समग्र विकासको लागि खेलकुद पनि आवश्यक छ, त्यसैले हामीले अध्यापनसँगै फरक शैलीका कार्यक्रमहरुमा विद्यार्थीहरुलाई सहभागी गराउछौं’–उनले थपे । अभिभावक दिपक राईले प्रशिक्षणले शैक्षिक वातावरणलाई सकारात्मक बाटोमा हिडाउने धारणा व्यक्त गरे । पन्ध्र दिने शिविरमा एन्फाका प्रशिक्षक मनिल महराले विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा कक्षा ६ देखि ९ सम्मका छात्रहरु सहभागी छन् । उद्घाटन समारोहका प्रमुख अतिथि एवं एन्फा केन्द्रीय उपाध्यक्ष राईले प्रशिक्षक महरालाई फुटबल तथा जर्सी प्रदान गरेका थिए ।
Comments
Post a Comment