फुटबलको सपना साकार बनाउदै धराने किसोरीहरु
धरान । धरान १७ की १६ बर्षीय विपना राईको सपना छ, भविष्यमा नेपाली राष्टिय महिला टिमको गोलकिपर भएर खेल्ने । अहिले उनी त्यही सपना साकार बनाउन कडा मेहनत गरिरहेकी छिन् ।हरेक दिन बिहान सबेरै उठ्छिन्, अनि साढे पाँच बज्नुअघि नै धरान १८ स्थित डिपो उच्चमाविको खेल मैदानमा पुग्छिन् । त्यहाँ दुई दर्जनबढी किसोरीहरुसँगै उनी प्रशिक्षकको निगरानीमा कडा प्रशिक्षणमा रहन्छिन् । ‘म राम्रो गोलकिपर भएर राष्टिय टिमबाट खेल्न चाहन्छु’–मैदानमा रक्षापंक्ति पनि सम्हाल्ने गरेकी विपना भन्छिन् । उनले अहिलेसम्म आधा दर्जन जति क्षेत्रीय, राष्टिय प्रतियोगितामा सहभागी भइसकेकी छिन् ।
विपनाको जस्तै धरान १६ की टिका बिकको पनि सपना छ, विभागीय टोली नेपाल पुलिस क्लबबाट फुटबल खेल्ने । दर्जन जति प्रतियोगितामा सहभागी भइसकेकी टिका मैदानमा मिडफिल्डरकोरुपमा हुन्छिन् । ‘पुलिस क्लबबाट खेल्ने मेरो ठुलो इच्छा छ’–प्रशिक्षणमा ब्यस्त रहेकी उनले भनिन् । करिब पाँच बर्षअघिदेखि नै फुटबल खेल्न थालेकी टिकाले दर्जन जति प्रतियोगितामा खेलिसकेकी छिन् ।
विपना र टिका झै महिला फुटबलको राष्टिय टोलीबाट खेल्ने धोको बोकेका २६ जना किसोरीहरु बिहान–बेलुकी कडा प्रशिक्षणमा छन् । यो प्रशिक्षण साउन १ गतेदेखि शुरु भएको हो । पुरुषहरुको मात्रै दबदबा रहेको नेपाली फुटबलमा यो प्रशिक्षणले किसोरी तथा छात्राहरुमा आर्कषण बढाई दिएको छ । ‘टिभिमा फुटबल खेलेको हेरेको छुँ, मलाई पनि खेलाडी बन्ने रहर छ’–१३ बर्षीय अनिषा राईले भनिन् ।धरान १७ स्थित पञ्चकन्या माविले सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै साउन अन्तिम साता विराटनगरमा हुने क्षेत्रीय छनौटमा भाग लिदैछ । क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी हुने टिम तयार गर्न प्रशिक्षण शुरु गरिएको एन्फाकी प्रशिक्षक तथा पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिकी सदस्य भगवती राना मगरले बताइन् । उनका अनुसार हाल प्रशिक्षणमा रहेका २६ जना किसोरीहरु मध्येबाट क्षमतावान १६ जनालाई छनौट गरेर सुनसरीको टिम तयार गरिनेछ । त्यो टिमले क्षेत्रीय छनौट प्रतियोगितामा विजेता बनेमा राजधानीमा आयोजना हुने कोकाकोला अन्तर विद्यालय राष्टिय छात्र÷छात्रा फुटबल प्रतियोगितामा भाग लिनेछ ।
‘प्रशिक्षणमा ७ देखि १० कक्षा सम्मका छात्राहरु सहभागी छन्, राम्रो टिम बन्छ भन्ने लागेको छ’–प्रशिक्षक मगरले भनिन् । उनका अनुसार एनसेल कप राष्टिय महिला फुटबल प्रतियोगिताको लागि पनि यही प्रशिक्षणमा रहेका खेलाडीहरुलाई छनौट गरेर सुनसरी जिल्लाको टिम तयार गरिनेछ । हाल प्रशिक्षणमा रहेका छात्राहरु सबै धरानको मात्रै भएकोले त्यसबेला भने अन्य क्षेत्रबाट पनि खेलाडीहरु थपिने उनले बताइन् । प्रशिक्षण बिहान साढे ५ बजेदेखि ७ बजेसम्म र बेलुकी ४ बजेदेखि साढे ५ बजेसम्म भइरहेको उनले उनले खुलाइन् । उनका अनुसार फुटबलमा इच्छासँगै क्षमता भएपनि महिला खेलाडीहरुले अवसर पाइरहेका छैनन् । प्रशिक्षणमा रहेकी विपना राई र टिका बिक नेपाली सेनाले आयोजना गर्न लागेको राष्टिय प्रतियोगिताको लागि पूर्वाञ्चलको टिममा छनौट भइसकेको प्रशिक्षण मगरले जानकारी दिइन् । उनले थपिन्–‘विपना गोलकिपरमा राम्रो खेल्दैछिन्, टिकाले मिडफिल्ड सम्हाल्नेछिन् ।’

Comments
Post a Comment