तरुण दलका नगर उपसभापतिसहित तीन पक्राउ

पक्राउ लगत्तै धरान प्रहरीले ती युवाहरुलाई सार्वजनिक ऐनअन्र्तगत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । अन्य पक्राउ पर्नेमा धरान १८ का सुवास राई र अरुण लिम्बू छन् । छोड्न राजनैतिक दबाब आउनसक्ने भन्दै प्रहरीले उनीहरुलाई बिहिबार नै म्याद थप गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाँच दिनको म्याद थप गरिएका ती युवाहरुलाई धरान नल्याइ जिल्ला प्रहरी कार्यालय इनरुवामा नै हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
‘यहाँ राखिरहदा कारबाही नगर्न दबाब आउने भएकोले तत्कालै म्याद थप गर्न इनरुवा पठायौं, म्याद थप पछि जिल्लामै राखिएको छ’–इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रामेश्वर त्वातीले भने । उनका अनुसार तरुण दलका उपभापति राईसहित तीन जना युवाहरुले रातभर मदिरा सेवन गरेर तीन बजेतिर धरान १८, बुद्धचोकस्थित विष्णुकमार राई र माया राईको घरमा ढुंगामुढा गरेका थिए । उपसभापति राई र पीडित परिवारबीच साइनो पनि छ ।

‘अहिलेसम्म हामीबीच नराम्रो केही भएको जस्तो लाग्दैन, तर राती एक्कासी घरमा ढुंगा हान्दै तिमेरुले सारालाई ठगेर घर बनायौ,घर नै भत्काइदिन्छु भन्दै तथानाम गाली गर्योे’–घरबेटी विष्णुकमारले भने–‘बिहान छरछिमेक, बुढापाकाहरु बोलाएर छलफल गर्दा मलाई नै दुई मुक्का हान्यो, अनि, फेरि घरमा ढुंगामुढा गर्न थालिहाल्यो ।’ राती करिब ३ बजेतिर नै प्रहरीलाई घटनाबारे जानकारी गराएपनि नआएको उनले गुनासो गरे । थुप्रै ढुंगा प्रहारबाट घरको झ्यालका सिसाहरु फुटेको छ । घरमुली माया राई जग्गा व्यापारी हुन् ।

Comments
Post a Comment