मनोज जी, माफ गर्नुस है !

मंगलबार उद्घाटन कार्यक्रम र हाम्रो वेभसाइटबारे सामान्य छलफल पछि दर्शन सुब्बा घरतिर लाग्नुभयो । साँझ झमक्क परिसके पनि म, विकास जी, सोहन दाई केहीबेर गफिदै बस्यौं । त्यसबेला मैले फेसबुकमा कसैले छक्क लाग्दो कुनै वेभसाइटको समाचार सेयर गरेको देखे । शिर्षक थियो, कलंक भन्दै पत्रकारसहित तीन जनालाई कालोमोसो । उफ् ! समाचारको शिर्षकले नै मेरो आङ सिरिङ्ग बनायो । मैले समाचारको शिर्षक बताएपछि सबैको ध्यान खिच्यो । बेलबारीको घटना रहेछ । छिमेकी जिल्ला मोरङको बेलबारी त्यति टाढा पनि होइन । के भएको रहेछ, भने मन बेचैन भयो । फेसबुकमा सेयर भएको वेभसाइडको लिंकमा क्लिक गरे । निक्कै समय लाग्यो, खुल्न । जब खुल्यो, तब म अवाक बनेँ । समाचारमा भनिएको तीन पात्र मध्ये पत्रकार मेरा मित्र मनोज जी हुनुहुन्थ्यो । म खङ्ग्रङग भएँ ।

समाचारमा पीडित सार्की थरकी महिलालाई चप्पल, जुत्ताको माला लगाएको तस्वीर छ । अनुहारभरि कालो मोसो दलिएको छ । त्यो दृष्य हेर्दा नै कति कारुणिक, दर्दनाक लाग्ने दृष्य । भोग्नेलाई झन कति असह्य पीडा भएको होला ?? एउटी युवती, जो आफु पीडित भए भनेर न्यायको खोजीमा छे, उसैलाई समाजले दोषी ठहर्याउदै आफै अमावनीय, घृणित र अक्षम्य सजाय दिन उद्दत भयो । अर्कोछेऊमा, मेरा मित्र मनोज जीको तस्वीर छ, हातमा रुमाल छ । हेर्दा कालोमोसो दलिएको अनुहार पुछ्दै गर्दा खिचिएको फोटो हुनुपर्छ त्यो । दुवै फोटोमा पीडितको अनुहार प्रष्टै देखिन्छ, तर जो पीडक थिए, जो यो अमानवीय कार्य, अपराधजन्य कार्यमा संलग्न थिए, उनीहरुको अनुहार भने थिएन । तस्वीर सार्वजनिक गरिनुले पीडितहरुमाथि थप पीडा दिएको त भएन ?? पीडित युवतीलाई न्याय दिलाउन कानुनको ढोका ढक्ढकाउन पुग्दा उनले यस्तो तियति भोग्नु पर्यो । खै, न्याय ? खै कानुन ?? कहाँ गएका थिए, आफुलाई समाज परिवर्तनको मसिहा ठान्ने दलका नेताहरु त्यसबेला ??
मनोज जीसँग मेरो चिनजान म धरानबाट प्रकाशन हुने औजार दैनिकमा काम गर्दादेखिकै हो । लामो समय औजारमा काम गरेपछि समयक्रमसँगै हामी दुवै त्यहाँबाट बाहिरियौं । पहिला मनोज जीले नै औजार छोड्नुभएको हो । त्यसपछि भने हामीबिच सम्पर्क लगभग हुन छोड्यो । तर, असार १७ गते हामीबीच अचानक भेडेटारमा खोज पत्रकारिता तालिमको क्रममा भेट भयो । करिब अढाई, तीन बर्षपछि भेट्दा हामी खुशी भएका थियौं । पाँच दिनसम्मको तालिम अवधिभर हामी प्रायः सँगै रह्यौं । हेटौडाका गिरिजा जी, उदयपुरका तुलसी जी, इलामका भिम चापागाई, मनोज जी र म सँगसँगै हुन्थ्यौं । यो समुहले तालिमसँगै रमाइलो पनि खुबै गरेका थियौं । बेलुकी हिन्वा वाइनसँगै हामी जम्थ्यौं पनि । त्यतिबेला नै थाह भएको थियो, मनोज जीले दुई महिनाअघि मात्रै बिवाह गर्नुभएको थियो । तर, आज तिनै मेरा मित्र मनोज जीमाथि भएको अमानवीय व्यावहारले म आहत बनेको छुँ ।

घटनाको कारण, पृष्ठभुमि जे होस्, यो क्रुर घटनाको जति निन्दा, विरोध गरेपनि कम हुन्छ । उहाँहरुको गल्ती नै भएपनि कानुनी उपचारको बाटोमा जानुपथ्र्यो । यो सामाजिक र कानुनी दुवैरुपमा जघन्य अपराध हो । जो जो संलग्न छन्, उनीहरुले कुनै हालतमा पनि उन्मुक्ति पाउनु हुन्न । एउटा ठुलो जमात छ भन्दैमा उसलाई जे पनि गर्ने छुट हुनुहुदैन, त्यस्तो प्रवृत्ति मौलाउदै गयो र मनोवल बढ्दै गयो भने समाज झन् झन् अराजकतातर्फ, अपराधिकरणतर्फ उन्मुख हुन्छ । त्यसैले समयमै त्यस्ता राक्षसी मानसिकता र प्रवृत्तिलाई नास गर्नुपर्छ ।
मैले त्यो समाचार पढेदेखि नै मनोज जीलाई फोन गर्न खोजे तर सकिन । फोन गरेर के भन्ने ? सान्त्वना दिने कि आक्रोश पोख्ने, जसले उनीमाथि त्यो क्रुर व्यहार गर्यो ? म दोधारमा परेँ । कसैको देहान्त भएको खबर सुनेपछि पनि म यस्तै समस्यामा पर्ने गर्छु । मनोज जी एमालेसँग आवद्ध हुन् । झ्टट सम्झिएँर त्यस्तै राती साढे ८ बजेतिर हुनुपर्छ, प्रेस चौतारी सुनसरीका अध्यक्ष देवेन्द्र कार्कीलाई फोन गरे । किनभने, सोमबार चौतारीको कोशी अञ्चल भेला विराटनगरमा भइरहेको थियो । देवेन्द्र जीले घटनाबारे थाह भएको र त्यस घटनाले बिषय प्रवेश पाइसकेको जानकारी गराउनुभयो । तर, त्यतिले मन कहाँ मान्थ्यो र ?? मनोज जी, माफ गर्नुस है, मैले आज तपाईको यो अत्यन्तै दुःखद घडीमा सान्त्वनाका शब्दहरु व्यक्त गर्न सकिन । तर, तपाईको हिम्मत नटुटोस्, सासहको बाँध नफुटोस् ।
(मनोज जी पनि हुनुभएको यो तस्वीरहरु असार १७ देखि २१ सम्म भेडेटारको तालिमको क्रममा खिचिएको हो । )
Comments
Post a Comment