औषधी नकिन्दा अस्पतालभित्रै झगडा



धरान । अस्पतालको बेडमा खुटा भाचिएका एक विरामी शल्यक्रिया हुने समयको प्रतिक्षामा छन् । उनको बेडअघि दुई व्यक्ति आपसमा भनाभन गर्छन् र एकैछिनमा हात हालाहाल गर्न थाल्छन् । डाक्टरलाई पनि गालीगलौज गर्छन् ।
कुनै फिल्मी दृष्य जस्तै लाग्ने यो घटना सोमबार मध्याह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको हो । सुरक्षा गार्ड र प्रहरीले तत्कालै पक्राउ गरेपछि उनीहरु प्रतिष्ठान बाहिर खुलेको सिताराम मेडिकल र इसा मेडिकलका कर्मचारीहरु भएको रहस्यो खुल्यो । विरामीको उपचारको लागि आवश्यक औषधी आफ्नोबाट नलिएको बिषयमा उनीहरुबीच झगडा भएको रहेछ । यो घटनाले प्रतिष्ठान बाहिर खुलेका मेडिकलहरु औषधी बिकाउन अस्पतालमा ल्याएका विरामीहरु खोज्न आफ्ना मान्छे –दलाल) खटाउने गरेको पनि सार्वजनिक भएको छ ।
‘विरामीका आफन्तले एउटाबाट औषधि किनेको रहेछ, पछि अर्को मेडिकलबाट किनेपछि उनीहरुबीच झगडा भएको हो’–इलाका प्रहरी कार्यालयका डिएसपी चन्द्रदेव राईले भने–‘बीपीले पत्र पठाउछु भनेको छ, त्यो पत्रआएपछि आवश्यक कार्वाही प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार अस्पतालभित्रै झगडा गर्ने इसा मेडिकलका अभिषेक मिश्र, सन्तोष यादव तथा रामजानकी मेडिकलका उमेश यादव हिरासतमा छन् ।
झापाको दमकमा ट्याक्टरले किचेर बाँया खुट्टा भाँचिएका सन्तोष बराइलीलाई उपचार गर्न आइतबार बीपी प्रतिष्ठान ल्याइएको थियो । आकस्मिक कक्षबाट उनी हाडजोर्नी विभागमा भर्ना भएका थिए । आकस्मिक कक्षमा विरामी पुर्याएदेखि नै ट्याक्टर मालिक सन्तोष ढकाललाई सहयोग गर्ने वहानामा सिताराम मेडिकलका उमेश सम्पर्कमा पुगेका थिए । उनले ६५० रुपैयाका औषधी पनि किनाएका थिए । तर, सोमबार हुने शल्यक्रियाको लागि भने इसा मेडिकलबाट आवश्यक औषधी र सामानहरु खरीद गरे । सिताराम मेडिकलका उमेश यादवले बढी मुल्यको सामानहरु अर्कोबाट लगेको थाह पाएपछि ढकाललाई भेटन् पुगे । उनले त्यसबोला ढकालसँगै चिकित्सकलाई पनि गाली गरे । ‘तपाईले किन जा पायो त्यहीबाट औषधी किनेको भन्दै आइलाग्यो, डाक्टरलाई पनि जे पायो त्यही गाली गर्यो’–गाडी मालिक सन्तोषले भने–‘औषधी लिएर आएको इसाको भाईलाई पनि झम्टि हाल्यो ।’

जानकारहरुका अनुसार प्रतिष्ठानबाहिर खुलेका केही मेडिकलका मान्छे(दालल)हरु औषधी बिक्री गराउन विरामी एमबुलेन्समा हुदादेखि नै सहयोग गर्ने वहानामा विरामीका आफन्तजनको सम्पर्कमा आउछन् । उनीहरु विरामीको पुर्जी काट्नेदेखि विभिन्न परीषण गराउन पनि सहयोग गर्छन् । त्यसवापत विरामीको लागि आवश्यक औषधि तथा सामाग्रीहरु उनीहरुले भनेको औषधी पसलबाट खरीद गरिदिनुपर्ने हुन्छ । प्रतिष्ठान हाताभित्रै विरामीको उपचारमा सहयोग गराउन करिब ५ ठाउँमा औषधी बिक्री कक्ष सञ्चालित छ । अधिकांश विरामीका आफन्तहरु त्यहीबाट औषधी खरीद गर्ने भएकोले पनि बाहिरका मेडकल सञ्चालकहरु बिक्री बढाउन विरामी खोजी गर्ने मान्छे खटाउछन् । उनीहरु आकस्मिक कक्षदेखि प्रतिष्ठानको प्रत्येक वार्डमा डुल्ने गरेका छन् । प्रतिष्ठानको मुलगेट अघि ५५ भन्दा बढी औषधी पसलहरु ख्ुलेका छन् । उनीहरुको ग्राहक भनेको प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरु नै हुन् ।
औषधि बिक्रीको नाममा विरामीमाथिको व्यापारबारे प्रतिष्ठान पदाधिकारी पनि जानकार छन् । तर, यो प्रवृत्ति रोक्न अपस्ताल प्रशासनले सकेको छैन । ‘हामीले यसअघि पनि प्रयास गरेका थियौं, तर रोक्न एकदमै गाह्रो भएको छ’–हाडजोर्नी विभागका प्रमुख एवं अस्पताल सहायक निर्देशक डा.गुरु खनालले भने–‘अस्पतालभित्रै औषधी पसलका मान्छेहरु झगडा भएको सुन्दा दुःख लाग्यो, प्रहरीले उनीहरुलाई कारबाही गर्नुपर्छ ।’
सिताराम मेडिकलका सञ्चालक तपेश्वर यादवले पक्राउ परेका उमेश आफ्नो भाञ्जा भएको दाबी गर्दै विरामी खोज्न अस्पतालमा मान्छे नखटाएको बताए । गाउँघरबाट आएका विरामीहरु प्रतिष्ठानमा शुरुमा अल्मलिने गरेकोले सहयोग पुर्याएपनि आफ्नै मेडिकलबाट मात्रै औषधि किन्नुपर्छ भन्ने सर्त नभएको उनले जिकिर गरे । ‘मान्छे खटाउने गरेको छैन, विरामीले औषधी जहीबाट पनि किन्न सक्छ, आज भाञ्जा किन झगडा गर्यो थाहै भएन’–उनले भने । इसा मेडिकलका सञ्चालक टेक लोहनीले पनि ट्याक्टर मालिक सन्तोष आफ्नो चिनजान भएकोले सोमबार आफ्नोबाट अप्रेशनको सामान र औषधी लिएको बताए । उनले पनि विरामी खोज्न मान्छे नलगाएको दाबी गरे ।

कुटाकुट गर्नेलाई सार्वजनिक मुद्दा

आफ्नो मेडिकलबाट विरामीको औषधी खरीद नगरेको बिषयमा अस्पताल भित्रै कुटाकुट गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक ऐनअन्र्तगत मुद्दा चलाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी वार्डमा सोमबार कुटाकुट गर्ने इसा मेडिकलका अभिषेक मिश्र, सन्तोष यादव तथा सीताराम मेडिकलका उमेश यादवलाई प्रहरीले मुद्दा चलाएको हो । प्रतिष्ठानको आन्तरिक सुरक्षा जिम्मा लिएको जिफोर सेक्युरिटी सर्भिसले कारबाही गर्न प्रहरीलाई पत्राचार गरेपछि मंगलबार म्याद थप गरेको डिएसपी चन्द्रदेव राईले जानकारी दिए । ‘अस्पतालजस्तो अतिसंवेदनशील सार्वजनिक क्षेत्रमा विरामीको अघि कुटाकुट गरेकोले उनीहरुलाई सार्वजनिक ऐनअन्र्तगत म्याद थप गरेर कार्वाही चलाएका छौं’–डिएसपी राईले भने ।
तीन जना पक्राउ परेदेखि नै औषधी व्यावसायीहरुले कारबाही अघि नबढाउन प्रतिष्ठानका उपकुलपति र प्रहरीलाई दबाब दिएका थिए । केही औषधी व्यावसायीहरु मंगलबार बिहानै उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासलाई भेट्न गएपनि उनले आग्रह अस्वीकार गरेका थिए । ‘अस्पताल जस्तो संवेदनशील ठाउँमा झगडा गर्नेलाई प्रहरीले समातेको छ, मलाई केही नभन्नुस, अब प्रहरीको जिम्मा हो भनेर फर्काइदिएको छुँ’–उपकुलपति दासले भने–‘अस्पताल प्रशासन र सुरक्षाको जिम्मेवारी लिएको निकायलाई पनि यस्तो घटना नदोहोरियोस् भनेर निर्देशन दिइसकेको छु ।’
प्रतिष्ठानको आन्तरिक सुरक्षा लिएको जिफोर एसका अफिसर इञ्चार्ज बलराम निरौलाले तीनै जनालाई कानुनी कारबाहीको लागि प्रहरीमा पत्राचार गरिसकेको बताए । साथै, उनले भविष्यमा यस्तो घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएको बताए । ‘यो पहिलादेखिकै समस्या हो, अब भने मेडिकलका मान्छेहरुलाई उनीहरुको आफन्त छैन भने अस्पतालभित्र प्रवेश गर्न नदिने कडाई गरिनेछ’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे