धराने सुरज दाईसँगको मोवाइल वार्तापछि...
अपरिचित नम्बरबाट मोवाइलमा फोन आयो । हिजोआज म नचिनेको नम्बरबाट फोन आयो भने हत्तपत्त उठाउदिन । कसैले म फलना हुँ भनेर म्यासेज गर्यो भने मात्रै नयाँ नम्बर वा अपरिचित नम्बरबाट मोवाइलमा आएको कल उठाउने गर्छु । तर, आइतबार दिउँसो के मुड चल्यो कुन्नी, कल रिसिज गरे । ‘तपाई रोहित भाई बोल्नु भएको होइन ?’–उताबाट सोधेपछि जवाफ दिर्दै मैले पनि सोधे,–‘हो त, तपाई को बोल्नु भएको ?’
मेरो यो प्रश्नको जवाफले भने मलाई खुशी दिलायो । किनभने, मलाई फोन गर्ने व्यक्ति अघिल्लो दिनमात्रै काठमाण्डौंमा सम्पन्न एनएफडिसि राष्टिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका निर्देशक सुरज सुब्बा नाल्बो हुनुहुन्थ्यो । उहाँले आफ्नो नाम भन्दै थप परिचय दिन भुमिका बाँध्दै हुनुहुन्थ्यो, मैले रोक्दै भने–‘दाई मैले तपाईलाई चिनिसके ।’ बिहानै घरमा नागरिक दैनिकमा सादयले सात वटा विधामा अवार्ड जितेको समाचार पढीसकेको थिए । यो चलचित्रका निर्देशक सुरज दाई हुनुहुन्थ्यो भन्ने कुरा पनि थाह पाइसकेको थिए ।
उहाँले मलाई आफ्नो गुनासोहरु पोख्नुभयो, जसलाई मैले सहजरुपमा लिए । त्यो गुनासो मसँग सम्बन्धित अथवा व्यक्तिगत गुनासो नभई हाम्रो वेभसाइट क्लिकधरान डटकम सँग सम्बन्धित थियो । आफुले धरानलाई अति माया गर्ने र धरानको नाममा सञ्चालन भएको वेभसाइड भएकोले क्लिकधरान डटकम नियमितरुपमा हेर्ने उहाँले बताउदा खुशी पनि लाग्यो । तर, वेभसाइटले आफु जस्ता धरानप्रेमीहरुलाई त्यति वास्ता नगरेको हो कि भन्ने उहाँको आशंका पनि थियो । यसअघि, धरानमा सम्पन्न भएको राष्टिय चलचित्र महोत्सवमा पनि उहाँलाई र अर्का निर्देशक दिपक श्रेष्ठलाई गृहनगरमा सम्मान गरिएको थियो । हामीले त्यो समाचारलाई प्राथमिकता नदिई सबैलाई एकमुष्टरुपमा पस्केका थियौं । हिजो शनिबार काठमाण्डौंमा भएको अवार्डको समाचारलाई त झन् हामीले प्रकाशन गर्ने कुरै थिएन ।
‘भाई जे भएपनि हामी धराने हौं, म जुनसुकै ठाउँमा पुगेपनि धराने भएकोमा गर्व गर्छु’–उहाँले थप भन्नुभयो–‘भाईहरुले धरानको नाममा चलाएको साइट त्यही भएर नियमित हेर्छु, तर धरान भनेर मरिमेट्ने हामीजस्तो श्रष्टा, कलाकारहरुले केही उपलब्धी पाउदा समेटिनु भए थप प्रेरणा मिल्थ्यो नि !’ उहाँले यो भनाईले भने मलाई चित्त बुझ्यो । उहाँ चलचित्र क्षेत्रको मान्छे, आफ्नो बारेमा चर्चा होस् भन्ने आकांक्षा हुनु अस्वाभाविक होइन । सबै आफ्नो कामको, उपलब्धीको चर्चा होस भन्ने नै चाहन्छन् । उहाँको सवालमा भने धरानबाट प्रकाशित हुने अखबार होस वा वेभसाइट, तिनिहरुको लागि पनि खुराक हो नि ।
धरानबाट अभिनय यात्रा शुरु गरेका एक व्यक्ति राजधानी पस्छन्, चलचित्र क्षेत्रमा संघर्ष गर्छन् र राष्टिय चलचित्र अवार्ड हात पार्छन् भने स्थानीय पत्रपत्रिका र वेभसाइटको लागि त अवश्य नै समाचार हो नि । उनको सफलताको कथा लेखिनु पर्ने हो नि । तर, यसबारेमा धरानका पत्रकारहरु कसैले सोचेकै थिएनौं अथवा चासो नै थिएन । त्यसो त अघिल्लो मिस नेपाल सुन्दरी प्रतियोगितामा धरानकी मलिना जोशीले ताज पहिरिदा यहाँका सबै पत्रपत्रिकाहरुले प्रमुखताका साथ समाचार छापेकै हुन् नि !
सुरज दाईले मोवाइल वार्तालाप टुंग्याउनु अघि मसँग भेट्ने इच्छा व्यक्त गर्नुभयो र धरान आएको बेला भेट्ने सर्तमा कुराकानी टुंग्यायौं । दिनभरी काममा ब्यस्त भइयो । बेलुकी भने उहाँसँगको कुरा सम्झिएँ, अनि फेसबुक खोलेर उहाँको एकाउण्ट सर्च गरे । उहाँ र म साथी भएका रहेनछौं । रिक्वेष्ट पठाएँ, ५ हजार भन्दा बढी भइसकेकोले होला, सम्भव भएन । तर, मैले उहाँको वालमा गएर फोटोहरु हेर्न सके । शुरुमा नै अवार्डसँग सम्बन्धित फोटो देखे । उहाँको स्टाटसले भने मलाई थप खुशी दियो । अवार्ड पाएपछिको स्टाटसमा उहाँले शुरुमा नै गृहनगर धरानलाई धन्यवाद दिनुभएको छ । उहाँको स्टाटस यस्तो छः

सुरज दाईले बाटो मुनिको फुल, सायद र फेसबुक जस्तो चर्चित फिल्मको निर्देशन गर्नु भएको रहेछ । सायद र फेसबुक त हेर्न पाएको छैन, तर बाटो मुनिको फुल फिल्म हलमा नै गएर हेरेको छुँ । फिल्म राम्रो बनेको थियो । सादयको पनि निक्कै चर्चा भएपनि हेर्ने साइत भने जुरेन । कुनै मौकामा हेरौला । उहाँले निर्देशन गरेको थप तीन चलचित्रहरु मेरो भ्यालेन्टाइन, प्रमिस र बितेको पल रिलिज हुने पर्खाइमा रहेछ, मौका मिल्यो भने हेरौला । उहाँ काठमाण्डौं पस्नु अघि धरानमा आरम्भ नाट्य समुहमा आवद्ध भएर रंगकर्ममा सक्रिय हुनुहुन्थ्यो । त्यही भएर पनि उहाँ धरानलाई सधै सम्झिरहने र धराने भएकोमा गर्व गर्छु भन्नुभो । ‘मलाई धराने हुनुमा गर्व छ, धरानलाई बिर्सन सक्दिन, जही पुगेपनि धरानको गुनगान गाइरहन्छु’–दिउँसो मोवाइल वार्तालाप सकाउनुअघि उहाँले यसो भन्नु भएको थियो ।
Comments
Post a Comment