लांघाली वन समुहमा हिनामिना, कार्यसमिति विघटन

धरान । लांघाली सामुदायिक वन उपभोक्ता समुहका मुख्य तीन पदाधिकारीको मिलेमतोमा व्यापक आर्थिक हिनामिना गरेको पुष्टि भएको छ ।
अख्तियारमा उजुरी परेपछि जिल्ला वन कार्यालय सुनसरीले गरेको अनुसन्धानको क्रममा समितिका सचिव, कोषाध्यक्ष र कार्यालय सचिवले व्यापक आर्थिक हिनामिना गरेको पुष्टि भएको हो । समुहका अध्यक्षले भने आर्थिक हिनामिना गरेको नदेखिएपनि उनी मुकदर्शक मात्रै बनेर हिनाहिनाको साक्षीकोरुपमा बसेको अनुसन्धानले देखाएको छ । समुहको गत आर्थिक बर्षको अडिट रिपोर्टमा कोषाध्ययक्ष रमेश राईले करिब साढे ३ लाख हिनामिना गरेको देखाएको थियो । अनुसन्धानको क्रममा भने कोषाध्यक्षसँगै समुहकी सचिव पुर्णमाया मगर र कार्यालय सचिव ध्रुव मास्केले पनि व्यापक आर्थिक हिनामिना गरेको रहस्य खुल्यो ।
समुहको कोषको व्यापक हिनामिना भइरहदा पनि समुहका अध्यक्ष झमकबहादुर मगरले भने नियन्त्रण गर्न कुनै चासो नदेखाएको सहायक वन अधिकृत तथा अनुसन्धान अधिकृत ज्ञानकुमार लामाले बताए । उनका अनुसार फितलोरुपमा गरिएको अडिट रिपोर्टले कोषाध्यक्षको नाममा मात्रै करिब साढे तीन लाख देखाएको थियो । तर, अनुसन्धान गर्दै जादा भने अन्य पदाधिकारीले पनि समुहको कोषको थप व्यापक दुरुपयोग गरेको फेला परेको हो । ‘अडिट रिपोर्टले कोषाध्यक्षले मात्रै हिनाहिना गरेको जस्तो देखाएको छ, तर अनुसन्धान गर्दा सचिव र कार्यालय सचिवको पनि आर्थिक हिनामिनामा संलग्नता भएको पाइयो’–अनुसन्धान अधिकृत लामाले नागरिकसँग भने–‘कोषको व्यापक दुरुपयोग भइरहदा पनि अध्यक्षले नियन्त्रण नगरि साक्षी बस्ने काम गरेको देखियो ।’
समुहमा हिनामिना भएको रहस्य खुलेपछि उपभोक्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । उजुरी आएपछि अख्तियारले क्षेत्रीय वन निर्देशनालय र क्षेत्रले जिल्ला वन कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । जिल्ला वन कार्यालयले अनुसन्धान गर्न सहायक वन अधिकृत लामालाई जिम्मा दिएको थियो । कोषाध्यक्षले मात्रै आर्थिक हिनामिना गरेको आशंकामा अनुसन्धान शुरु गरेका लामा समुहमा भएको व्यापक आर्थिक हिनामिना देखेर चकित परे । आर्थिक बर्ष ०६८÷०६९ यताको आय व्यायको अनुसन्धान शुरु गरेका लामाले त्यस अवधिमा वन पैदावर(लकडी, दाउरालगायत) बिक्रीको आम्दानी बैंकमा दाखिला गरेको भेटेका छैनन् । विधानतः संस्थाको आम्दानी साता दिनभित्र बैंकमा दाखिला गर्नुपर्छ ।
वन पैदावर बिक्रीबाट हुने लाखौं आम्दानी बैंक दाखिला नगरेको बारेमा कार्यालय सचिव मास्के, कोषाध्यक्ष राई र सचिव मगरले एकले अर्कालाई दोषारोपण गर्ने गरेका छन् । ‘दुई बर्ष यताको मात्रै अनुसन्धान गरेको छुँ, त्यो अवधिको आम्दानी बैंकमा दाखिला भएकै छैन अथवा बैकिङ कारोबार नै देखिदैन’–अनुसन्धान अधिकृत लामाले भने–‘त्यो आम्दानीको पैसा कस्ले जिम्मा लिएको हो भनेर तीन जनाले एकअर्कालाई देखाउछन् ।’ यस्तै, विधानतः समुहको सचिव र कोषाध्यक्षको नाममा हुनुपर्ने बैंक खाता नियमविपरीत अध्यक्ष र सचिवको नाममा राष्टिय वाणिज्य बैंकमा छ ।
उक्त खाताबाट समुहको प्रयोजन नखुलाइकनै जथाभावीरुपमा चेक काटेर रकम झिकिएको पनि खुलेको छ । अनुसन्धान अधिकृत लामाले बैंकबाट निकालेको विवरणमा संस्थाको चेक होम र सेल्फ भनेर पनि ठुलो रकम झिकिएको फेला परेको हो । संस्थाको दुई पदाधिकारीको नाममा भएको खाताबाट रकम झिक्दा सेल्फ र होम लेखिएको बारेमा बैंकले पनि गल्ती स्वीकार गरिसकेको लामाले बताए । ‘सेल्फ र होम भनेर काटिएको चेकबाट १० हजार, ५० हजार र ९० हजार रकम झिकिएको छ, के उद्देश्यको लागि हो कसैलाई थाहै छैन’–लामाले भने–‘यस्ता, थुप्रै रकम चेकबाट झिकिएको छ ।’ उदाहरणको लागि उनले रंगरोगनको नाममा विभिन्न मितिमा ५६ हजार ५ सय १६, ३९ हजार ३ सय ९१ र ३० हजार रकम झिकेको पाइएको छ । अडिटरले पनि समुहको अडिट गर्नुअघि विधानमा के व्यवस्था भनेर बुझ्नु पर्नेमा त्यस्तो नभेटिएको लामाले बताए । आर्थिक हिनामिनाको उजुरी परेपछि जिल्ला वन कार्यालयले खाता रोक्का गर्न लागेको सुइको पाएपछि खातामा भएको सबै रकम(करिब एक लाख) पनि झिकिएको उनले खुलाए ।
कोषाध्यक्षले हिनाहिना गरेको थाह पाएका उपभोक्ताहरुले रकम दाखिला गराउन माग गर्दै विरोध जनाएपछि गत असारमा नै हुनुपर्ने साधारणसभा तीन पटकसम्म स्थागित भइसकेको छ । रकम दाखिला र दोषीलाई कारबाही नभएको विरोधमा विगत एक सातादेखि उपभोक्ताहरु नियमित वन गस्तीमा पनि गएका छैनन । अनुसन्धान भइरहदा पनि पटक पटक भएको छलफलमा कोषाध्यक्ष राईले आफुले हिनामिना गरेको रकम तिर्ने कागज गरेका पनि छन् । तर, हालसम्म चार पटक गरि ४५ हजार मात्रै उनले समुहलाई बुझाएका छन् । आफुले त्यत्रो रकम हिनामिना नगरेको उनको जिकिर छ । समुहकी सचिव पुर्णमाया मगरले सानो बिषयलाई उछालेर ठुलो बनाएको बताएपनि आर्थिक हिनामिनाको बारेमा बोल्न चाहिनन् । यस्तै, कार्यालय सचिव ध्रुव मास्केले भने आफ्नो काम रकम कोषाध्यक्षलाई जिम्मा लगाउने मात्रै भएको बताउछन् । उनका अनुसार विगत १० बर्षदेखि नै अध्यक्षले बाहेक अन्य पदाधिकारीले आम्दानीलाई बैंकमा दाखिला गरेको रेकर्ड छैन । समुहका अध्यक्ष झमक मगरले पनि हिनामिना भएको स्वीकार गर्दै घटनालाई आन्तरिकरुपमा नै मिलाउने प्रयास भइरहेको बताए ।

दोषीलाई उन्मुक्ति दिने प्रयास

यहाँस्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहमा अनुसन्धानबाट व्यापक आर्थिक हिनामिना गरेको प्रष्ट भएपनि अनुसन्धान अधिकृतले भने हिनामिना भएको पैसा असुलेर दोषीलाई उन्मुक्ति दिन खोजेका छन् । अख्तियार अनुसन्धान आयोगको निर्देशन पछि अनुसन्धानमा खटिएका सहायक वन अधिकृत ज्ञान कुमार लामाले हिनामिना भएको भनिएको रकम बुझाउन लगाएर दोषीलाई कारबाही नगरि उन्मुक्ति दिन खोजेका हुन् । आर्थिक विवाद चर्किएपछि सोमबार रातीसम्म भएको छलफलमा हिनामिनामा संलग्न भनिएकाहरुबाट पैसा असुल गर्ने कागज गराएको छ । साथै, अनुसन्धान अधिकृत लामाले त्यसैअनुसार घटना आन्तरिकरुपमा नै मिलिसकेको भन्ने प्रतिवेदन तयार गरी जिल्ला वन कार्यालयमा पेश गर्ने तयारीमा छन् ।
सोमबार रातीसम्म भएको छलफलमा समुहका अध्यक्ष झमक मगरले ८७ हजार व्यहोर्ने, सचिव पुर्णमाया मगरले २० हजार, कार्यालय सचिव ध्रव मास्केले २० हजार, कार्यसमिति सदस्य रेनुका गुरुङले २० हजार रकम व्यहोर्ने कागज भएको छ । त्यस छलफलमा कोषाध्यक्ष रमेश राईले ५ हजार बुझाएका थिए भने उनले थप ५० हजार तिर्नुपर्ने कागज पनि गराइएको छ । समुहको वदनाम भएको र घटनालाई आन्तरिकरुपमा नै मिलाउने भन्दै अध्यक्ष र कार्यसमिति सदस्य रेनुकाले पनि हिनामिना भएको रकम तिरिदिने सर्तमा कागज गरेका थिए ।
हिनामिना भएको पैसा असुल गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको बिषयमा अनुसन्धान अधिकृत लामाले भने समुहलाई सही बाटोमा हिडाउनको लागि आन्तरिकरुपमा नै मिलाएर त्यसै अनुरुप प्रतिवेदन बुझाउन लागेको बताए । ‘पैसा असुल हुने भयो, समुहले आइन्दा प्रक्रिया सच्याएर अघि बढ्छ भनेर यस्तो गर्न लागेको हुँ’–उनले भने । पैसा असुल भएमा अख्तियारमा उजुरी दिने उपभोक्ताहरुले उजुरी फिर्ता लिन सहमति जनाएकोले पनि सहमतिअनुसार नै अनुसन्धान रिर्पाट बनाउन लागेको उनले बताए । ‘यो मुद्दा आर्थिक हिनामिना भएकोले प्रशासनले हेर्ने हो, वन फडानीको मुद्दा भएको भए वनले नै कारबाही अघि बढाउथ्यौं’–उनले भने ।
अनुसन्धान अधिकृत लामाले प्रतिवेदन तयार पारेर जिल्ला वन कार्यालयमा बुझाउनेछन् । जिल्ला वनले क्षेत्रीय वन निर्देशनालय हुदै प्रतिवेदन अख्तियार पुग्नेछ । जिल्ला वन अधिकृत राजबहादुर राउतले भने हिनामिना गरेको रकम असुल गरेर दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताए । ‘त्यसरी छुट दिन मिल्दैन’–उनले भने–‘तर, अनुसन्धानको प्रतिवेदन आइसकेको छैन, आएपछि मात्र के भएको हो थाह होला ।’
....
रेञ्जर झालाई ९० हजार

अडिट रिपोर्टअनुसार हिनामिना गरेको भनिएको करिब साढे तीन लाख रुपैया असुल गर्ने भनिएपछि करिब ९० हजारको जिम्मा भने कसैले लिन मानेनन् । कोषाध्यक्ष राईले यो रकम इलाका वन कार्यालयका तत्कालीन रेञ्जर देवकान्त झालाई खर्च गरेको बताएका थिए । समुहको कोषबाट ९० हजार खर्च भएको देखिए पनि यो खर्चको विलभपाई भेटिएन । ‘९० हजारको कुनै विलभपाई नै छैन, यो खर्च झा जीलाई गरेको भन्छ’–अनुसन्धान अधिकृत लामाले भने ।
समुहका उपभोक्ताहरुका अनुसार अघिल्लो बर्ष वन कार्यालयको स्वीकृति नलिई समुहले वन कटनी छपनी गरेको थियो । त्यो घटनालाई मिलाउनको लागि झालाई उक्त रकम दिइएको उपभोक्ताहरुको भनाई छ । झा भने हाल सरुवा भएर दोलखामा छन् ।

...........

कार्यसमिति विघटन

व्यापक आर्थिक हिनामिना भएको धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको कार्यसमिति विघटन भएको छ ।
हिनाहिनाको विवाद चर्कदै गएपछि सोमबार अबेरसम्म भएको उपभोक्ताहरुको भेलाले कार्यसमिति विघटन गरि नयाँ तदर्थ समिति गठन गरेको हो । आर्थिक विवादकै कारण समुहको साधारणसभा तीन पटकसम्म स्थगित भएपछि उपभोक्ताहरु आक्रोशित बनेका थिए । सोमबार समुहको सभागहलमा दिनभर वन कार्यालय, उपभोक्ता, सल्लाहकार तथा वन उपभोक्ता महासंघ प्रतिनिधि र सहितका भेलाले आर्थिक विवादमा फसेको पुरानो कार्यसमितिलाई विघटन गर्ने निर्णय गरेको थियो ।
भेलाले समुहका तत्कालीन अध्यक्ष झमकबहादुर मगरको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको संयोजकबाहेक बाँकी सबै नयाँ सदस्य छन् । समितिलाई दुई महिनाभित्र साधारणसभा गर्ने म्याण्डेट दिइएको छ । तदर्थ समितिले दुई महिनाभित्र साधारणसभा गरेर नयाँ समितिलाई कार्यभार हस्तान्तरण गर्नुपर्ने र त्यसअवधिभर उसले सामान्य मसलन्द र साधारणसभाको लागि न्युनतम खर्चबाहेक अन्य गर्न नपाउने नगर वन उपभोक्ता महासंघका अध्यक्ष इन्द्र बजगाईले जानकारी दिए । समुहमा व्यापक आर्थिक हिनमिना हुदा पनि मुकदर्शक बनेर नियन्त्रण गर्न चासो नदिएको आरोप लागेका अध्यक्षको विकल्प नभेटिएपछि उनैलाई तदर्थ समितिको संयोजक बनाइएको पनि उनले प्रष्ट्याए ।
 ‘दुई महिनाभित्र भने यो तदर्थ समितिले साधारणसभा गरेर नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नैपर्छ’–उनले थपे ।

नौ सदस्यीय कार्यसमितिमा सचिवमा आर्थिक हिनामिनाको आरोपमा मुछिएका तत्कालीन कार्यालय सचिव(कर्मचारी) ध्रुव मास्केलाई नै जिम्मेवारी दिइएको छ । कार्यालयको आवश्यक कागजातहरु उनको जिम्मामा भएकोले तदर्थ समितिलाई सहजरुपमा काम गर्न सहयोग पुर्याउन उनलाई सचिवमा राखिएको सल्लाहकार एवं पूर्वउपाध्यक्ष कमल राईले जानकारी दिए । ‘अहिलेको स्थितिमा कसैले नेतृत्व लिन मानेन, तर दुई महिनापछि नयाँ टिम तयार गछौं’–तदर्थ समितिको कोषाध्यक्षमा चन्द्र मगर छन् । समितिले मसलन्द खर्च र साधारण सभाबाहेक अन्य आर्थिक कारोबार गर्न पाउनेछैन ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे