भेडेटारको भ्यु टावर पुर्ननिर्माण भएन


धरान । करिब दुई बर्षअघिको भुकम्पले क्षतिपुगेको पर्यटकीय गन्तव्य भेडेटारको चाल्र्स प्वाइन्टस्थित भ्यु टावरको अझैसम्म पूर्ननिर्माण गरिएको छैन ।
पूर्ननिर्माणमा चासो नदिदा भ्यु टावर ढल्ने खतरा बढेपछि केही महिनादेखि टावरको माथिल्लो तलामा चढ्न पर्यटकहरुलाई निषेध गरिएको छ । चाल्स प्वाइन्ट(डाडा)माथि तीन तलाको टावरमा यतिबेला पर्यटकहरु दोस्रो तलासम्म मात्रै चढ्न पाउछन् । टावरको माथिल्लो तलामा एक पटकमा १५ जना मात्रै चढ्न सुचना टास गरेपनि दोब्बर, तेब्बर संख्यामा चढ्ने गरेपछि निषेध नै गर्नुपरेको हो । तत्कालै भ्यु टावर पूर्ननिर्माण नगरे जतिबेला पनि ठुलो क्षति हुनसक्ने खतरा रहेको टावरका ठेकेदार र स्थानीयबासीको भनाई छ । टावरको पिलरलाई फलामले बाँधेर(ज्याकेटिङ) गरेर राखेपनि भरपर्दो नभएको उनीहरुको भनाई छ । टावरको सबैभन्दा माथिल्लो तलाबाट भेडेटार बजार र धरानलाई नियाल्ने इच्छामा यतिबेला अवरोध भइरहेको छ । धरानबाट करिब १७ किलोमिटर उत्तरमा रहेको भेडेटारमा गर्मी छल्न तराई र छिमेकी मुलुक भारतबाटसमेत दैनिक सयौं पर्यटकहरु पुग्छन् ।
भुकम्प लगत्तै स्थानीय, बुद्धिजिवि तथा दलका प्रतिनिधिहरु पूर्ननिर्माणको माग गर्दै जिविस धनकुटामा गएपनि हालसम्म सुनुवाई नभएको स्थानीय एवं होटल एशोसिएशन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले बताए । ‘टावर भेडेटारको गहना भएकोले पूर्ननिर्माणको माग गर्दै पटक पटक डेलिगेशन गइसक्यौं, तर सुनुवाई नै भएन’–सचिव रुम्दालीले भने–‘यसो मर्मत गरेजस्तो गरेर जिविसले झारो टार्ने काम मात्रै गरेको छ ।’ चाल्स प्वाइन्ट र भ्यु टावरको बार्षिक ठेक्काको आम्दानी जिविसले नै लैजाने गरेको छ । स्थानीयले त्यो आम्दानी गाविसलाई दिएमा पूर्ननिर्माणमा खर्च गर्ने प्रस्ताव गरेपनि जिविसले स्वीकार गरेन । जिविसले बार्षिक ५ लाख रुपैया ठेक्कामार्फत आम्दानी गर्दै आएको छ ।
०६८ असोज १ गतेको भुकम्पले भेडेटारको चाल्र्स प्वाइन्टस्थित भ्यु टावरलाई पनि क्षति पुर्याएको थियो । भुकम्पबाट टावरको पिलरहरुमा नै क्षति पुगेलगत्तै टावर चढ्न पूर्ण प्रतिबन्ध लगाउन निवेदन दिएपनि जिविसले नमानेको ठेकेदार थानेश्वर लिम्बूको भनाई छ । ‘असोज १ गते भुइचालोले टावरमा क्षति पुगेपछि ३ गतेतिरै मैले बन्द गरौं भनेर निवेदन दिए, तर जिविसले आयस्रोत घट्छ भनेर मानेन’–ठेकेदार लिम्बूले भने–‘जतिबेला जे पनि हुनसक्छ भनेर अहिले टप फ्लोरमा चढ्न निषेध छ ।’ उनका अनुसार भुकम्पको क्षतिपछि भ्यु टावर ६ इञ्च पूर्वतर्फ ढल्कीसकेको छ । चाल्र्स प्वाइन्ट डाडा र टावर चढ्न आउने पर्यटकहरुको जीवन विमाको प्रबन्ध गरिएको छैन । ठेकेदार लिम्बूले थपे–‘केही भइहाल्यो भने ठुलो समस्या आइपर्छ भनेर जिविसलाई पूर्ननिर्माणको दबाब दिइरहेको छुँ, टावर खतरामा छ भनेर कर्मचारीहरु पनि आउन डराउछन् ।’
जिविस धनकुटा भने टावर भत्काएर पूर्ननिर्माण गर्न सम्भव नभएको भन्दै तत्काल टावर ढल्ने खतरा नरहेको दाबी छ । ओसिलो ठाउँ भएकोले भित्रको रड खिएर पिलर कमजोर भएको भन्दै उनले ज्याकेटिङले वलियो बनाएको जिविसका इञ्जिनियर धनबहादुर मिजारले दाबी गरे । तथापी उनले टावरको माथिल्लो तला भत्काउने कि भनेर जिविसमा छलफल भइरहेको पनि खुलाए । ‘तत्कालै लडिहाल्छ भन्ने खतरा छैन, एक तला भत्काएर लोड कम गर्ने सोच बन्दैछ’–उनले भने–‘पुरै भत्काएर नयाँ बनाउन भने सम्भव छैन ।’
सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारमा यतिबेला गर्मी छल्न जानेहरुको घुँइचो छ । धरानबाट करिब १७ किलोमिटर उत्तर र समुन्द्री सतहबाट १४२० मिटर उचाईमा रहेर मौषम एकनास चिसो भइरहनु भेडेटारको बिशेषता हो । यहाँ गर्मी मौषममा दैनिक २ सय बढी पर्यटकहरु टावर चढ्न आउने गरेका छन् । आन्तरिक पर्यटकलाई जनही १० रुपैया, सार्क राष्टका पर्यटकलाई २० रुपैया र अन्य मुलुकका पर्यटकलाई एक सयरुपैया शुल्क लिने गरेको छ । चाल्स प्वाइन्ट(डाडा) करिब ५५ मिटर अग्लो छ । त्यसमाथि २०५९ सालमा ३० फिट अग्लो टावर बनेको थियो । जिविसको लागनी तथा स्थानीयबासीको सहभागीतामा करिब २० लाखमा टावर निर्माण भएको हो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे