धरान संगीत प्रतिष्ठानको स्थापना, सांगीतिक साँझ हुने

धरान । गीत,संगीतको शहर भनेर चिनिएको धरानका अग्रज र नयाँ पुस्ताका कलाकारबीचको दुरी हटाउने उद्देश्यले यहाँका संगीतकर्मी र स्रोताहरुले धरान संगीत प्रतिष्ठान स्थापना गरेका छन् ।
    प्रतिष्ठानले कलाकारहरुबीच आपसी समन्वय मात्रै गराउने छैन, लोपोन्मुख लोक सँस्कृतिको संरक्षण गर्न बाद्यबादनको प्रशिक्षणसमेत गराउने उद्देश्य लिएको छ । साथै, यहाँका विभिन्न चोकमा हुने सांगीतिक कार्यक्रमहरुमा सिमित युवा पुस्ताका कलाकारहरुलाई प्रतिभा देखाउने अवसर सृर्जना पनि गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान गएको चैत महिनामा गठन भएको हो । ‘पुराना, अग्रज कलाकारसँगै र नयाँ पुस्तालाई पनि साथमा लिन्छौं, यो दुई पुस्ताबीचको ग्याप हटाउने उद्देश्य हो’–प्रतिष्ठानका अध्यक्ष एवं संगीतकर्मी मचेन लिम्बूले भने–‘मादल, बासुरी, तबला, सारंगी, पञ्चे बाजालगायत लोपोन्मुख साँस्कृतिक तथा लोक बाजाहरुको प्रशिक्षण पनि दलाउछौं ।’
    अध्यक्ष लिम्बूका अनुसार दशकअघिसम्म धरानमा थुप्रै बाद्यबादकहरु थिए । तर, अहिलेको युवा पुस्ताहरु गितारमा मात्रै सिमित छन् । उनीहरुलाई अन्य बाद्यबादनको पनि ज्ञान दिलाउन पोख्त संगीतकर्मीबाट प्रशिक्षणको व्यवस्था गरिनेछ । ‘अहिले धरानमा मादल, बाँसुरी बजाउने मान्छे खोजी गर्नुपर्ने अवस्था छ, १० १५ बर्षअघि यहाँ थुप्रै थिए’–उनले भने । प्रतिष्ठानले शुरुवातमा गायक, रचनाकार र संगीतकारलाई समेटेर अघि बढ्ने र भविष्यमा कला, संगीतका विविध पक्षलाई पनि समेट्दै जाने अवधारणा बनाएको सचिव अजय राईले बताए । यहाँको चोकहरुमा हुने सांगीतिक कार्यक्रमले मात्रै स्थानीय कलाकारहरुको प्रतिभा निखार्न नसक्ने भएकोले उनीहरुलाई राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरमा चिनाउन प्रतिष्ठानले प्लेटफर्म तयार गर्ने उनको भनाई छ ।
    धरान गीत,संगीतमा अग्रणी शहर मानिन्छ । यहाँका गायक दिप श्रेष्ठ, सविन राई, प्रश्ना शाक्य, नवराम राई, लोचन भटराई, पवित्रा सुब्बा, रमला श्रेष्ठ, मिलन खाती, शिव लामिछाने, रोशन शर्मालगायत गायकहरु चर्चित छन् । यस्तै, यहाँका युवा पूस्ता विभिन्न सांगीतिक समुहमा सक्रिय छन् भने अण्डरग्राउण्ड ब्याडहरु पनि उतिकै संख्यामा छ ।
.............

                                ट्रयाकको चलन हटाउन अभियान

‘कला संगीतको संरक्षण, हाम्रो अभियान’ नारा दिएको प्रतिष्ठानले सांगीतिक कार्यक्रममा ट्रयाकबाट गाउने चलनलाई हटाउने अभियान शुरु गर्ने जनाएको छ । ट्रयाकमा गीत गाउदा बाद्यबादकहरुको भुमिका नै नहुने भएकोले गायकहरुले यो चलनलाई हटाउनुपर्ने अध्यक्ष लिम्बूले बताए । ‘गायक, गायिकाले ट्रयाकमा गीत गाउनुहुन्न भन्ने हाम्रो मान्यता छ, ट्रयाकमा गीत गाउनु भनेको मेशिनले गाउनु हो, त्यो त घरमा बसेर गीत सुने भइगयो नि’–उनले भने–‘ट्रयाकले गायक मात्रै माथि जान्छ, बाद्यबादक,संगीतकर्मीको कुनै भुमिका नै हुदैन ।’ प्रतिष्ठानले संगाीतिक कार्यक्रमहरुमा लाईभ गाउने अभियानलाई शुरुवात गर्ने जनाएको छ ।
......................

      सांगीतिक साँझमा दिप श्रेष्ठलाई सम्मान गर्ने

धरान संगीत प्रतिष्ठानले यही बैशाख २० गते धरान १० स्थित सैनिक भवनमा पहिलो कार्यक्रमकोरुपमा धरान सांगीतिक साँझको आयोजना गर्ने भएको छ । यो कार्यक्रममा चर्चित गायक दिप श्रेष्ठलाई सम्मान गर्ने प्रतिष्ठानले जनाएको छ ।
    ‘दिप दाजु धरानको मात्रै होइन, नेपाली संगीतकै एक धरोहर हुनुहुन्छ, त्यसैले उहाँलाई सम्मान गर्न पाउदा हामीलाई पनि गर्वअनुभूति हुन्छ’–सचिव अजय राईले भने । उक्त सांगीतिक साँझमा चर्चित गायक सविन राई, नवराम राई, विनोद थापा, मनोज मोते, प्रकृति थलङ, डा.एलिन सुन्दासलगायतले गीत गाउने प्रतिष्ठानले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे