निःशुल्क शिक्षाको धज्जी उडाउदै सरकारी स्कुलमा रकम असुली

धरान । प्रावितहको स्कुलबाट ठुलो छोरा मौसमले कक्षा ५ उर्तीण गरेपछि धरान १७, रेल्वेकी उर्मिला राईले नजिकैको पञ्चकन्या माविमा नाम लेखाउन पुगिन् । मौषमको स्कुल परिवर्तन हुने भएपछि बहिनी मौसमी(कक्षा ४) र भाई भोला(कक्षा २)ले पनि दाजुसँगै पढ्ने जिद्दी कसे ।
    नयाँ स्कुलमा आफ्ना तीनै जना सन्तानको नाम लेखाउन पुगेकी उर्मिलाले भने निराश भएर फर्किनु पर्यो । भर्ना गरेवापत विद्यालयलाई सहयोग रकम दिए मात्रै नाम लेखाउने जवाफ पाइन् । नयाँ शैक्षिक सत्र शुरु भइसके पनि उनले अझै तीन छोराछोरीलाई स्कुलमा भर्ना गरेकी छैनन् । ‘नाम लेखाउन गएको थिए, २ जनाको पैसा तिरेमात्रै कान्छालाई निःशुल्क गरिदिन्छौं भन्यो’–निराश हुदै उर्मिलाले भनिन्–‘खर्च गरेर पढाउन सक्दिन, नाम पनि लेखाएको छुइन, नपढाउ कि जस्तो भइसक्यो ।’
अर्काको घरमा बनिबुतो गरेर ४ जनाको पेट पाल्दै आएकी एकल महिला उर्मिला आफै पनि रोगी र अपांग छिन् । ठूलो छोरासँगै नयाँ स्कुल जाने भनेर फक्ल्याण्ड वस्तीको दिपेन्द्र प्रावि छोडेका छोराछोरीले छिटो नाम लेखाइदिनु भनिरहेपनि नसुनेझै गर्न उनी बाध्य छिन् । उनलाई विद्यालयले कक्षा ६ मा ठुलो छोराको नाम लेखाउन ८ सय, कक्षा ४ मा छोरीको नाम लेखाउन ५ सय रुपैया सहयोग स्वरुप मागेको थियो । कान्छा छोरालाई भने कक्षा २ मा निःशुल्क भर्ना गरिदिने भनेको उर्मिलाले बताइन् । ज्यादै निम्न आर्थिक अवस्थाकी उर्मिलाको तीनै छोराछोरीलाई अपांग पुर्नस्थापना तथा असहाय सेवा केन्द्रबाट शैक्षिक सामग्री, पोशाक, झोलालगायत आवश्यक सामग्री सहयोग लिदै आइरहेकी छिन् ।
सरकारले पढ्नबाट कोही बञ्चित नहोस् भनेर विद्यालय भर्ना निःशुल्क घोषणा गरेको छ । सामुदायिक विद्यालयहरु नयाँ शैक्षिक सत्र शुरु भएपछि सबैकोलागि शिक्षा भन्दै विद्यालय भर्ना अभियान पनि चलाउछन् । तर, तिनै विद्यालयहरु सहयोग भन्दै विद्यार्थीहरुबाट रकम असुल्छन् । जसको मारमा उर्मिला जस्ता निम्न आर्थिक अवस्था भएको परिवारका विद्यार्थीहरु पर्छन् । यो बर्ष पनि धरानका केही सामुदायिक विद्यालयहरुले भर्नाको समयमा सहयोग भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिरहेका छन् । ‘सरकारले निःशुल्क शिक्षा भनेको सुनेको छुँ, तर नातीलाई कक्षा ८ मा नाम लेखाउन ७ सय तिर्नुपर्यो’–अशोक बराइलीका हजुरबा हस्तबहादुर बराइलीले भने ।
धरान १७,रेल्वेस्थित पञ्चकन्या माविको मुल गेटमा टाँगिएको भर्ना अभियानको ब्यानर । यही स्कुलले भने भवन निर्माणको सहयोगार्थ भन्दै विद्यार्थीबाट रकम लिइरहकेो छ ।
पञ्चकन्या माविसँगै धरान १० स्थित पञ्चायत उच्चमावि र धरान १६ स्थित चन्द्रसँस्कृत उच्चमाविले पनि नयाँ भर्नाको समयमा विद्यार्थीबाट सहयोग भन्दै रकम असुली गरिरहेको गुनासो अभिभावकले गरेको अपांग पुर्नस्थापना तथा असहाय सेवा केन्द्रका कार्यकारी निर्देशक सुनिल खड्काले बताए । ‘सरकारले कोही पनि पढाईबाट बञ्चित नहोस् भनेर निःशुल्क शिक्षाको व्यवस्था गरेको हो, तर सहयोग रकम नदिए नाम नलेखाउने हो भने निम्न अवस्थाका विद्यार्थीहरु धेरै छुट्छन्’–खड्काले भने–‘नाम लेखाउने पैसा भएन भन्दै हाम्रो संस्थामा आउने थुप्रै अभिभावकहरु छन् ।’ उनका अनुसार निम्न आर्थिक अवस्थाका एक सय ४५ विद्यार्थीहरुलाई संस्थाले कपी,कलम, पोशाक,जुत्ता, झोलालगायत सहयोग गरिरहेको छ । ती मध्ये अधिकांश अभिभावकहरु विद्यालयले सहयोग भन्दै रकम असुलेपछि संस्थालाई गुहार्न आइरहेका छन् ।
अपांग पुर्नस्थापना तथा असहाय सेवा केन्द्रमा भर्ना गरिदिन आग्रह गर्दै उर्मिला राई ।
विद्यार्थीबाट रकम असुल्ने विद्यालयले भने भौतिक पूर्वाधार थप्न र निजी स्रोतका शिक्षकलाई तबल खुवाउन अभिभावकबाट स्वेच्छाले सहयोग लिनुपरेको जनाएको छ । सहयोग तिर्न नसक्ने विद्यार्थीलाई भने जर्बजस्ती नगरिएको प्रअहरुको दाबी छ । ‘सर्वपक्षीय भेला डाकेर अभिभावकको पनि मञ्जुरीमा सहयोग रकम लिने निर्णय भएको छ, निर्माणाधिन भवनको लागि बजेट छैन, ५ जना निजी स्रोतको शिक्षक छन् । राज्यले बजेट नदिएर बाध्य बनायो’–पञ्चकन्या माविका कायममुकायम प्रअ विज्ञान राईले भने–‘सहयोग गर्न नसक्नेलाई लिएको छैनौं ।’ पञ्चायत उमाविका प्रअ सुवोध शर्माले पनि मावि तहका विद्यार्थीलाई सुविधायुक्त साइन्स ल्याब निर्माण बनाउन सहयोग रकम लिएको स्वीकार गरे । सहयोग दिन नसक्नेलाई नलिएको उनको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयका धरान स्रोत व्यक्ति खेम सुवेदीले भने कक्षा ८ सम्म भर्ना गरेवापत शुल्क लिन नपाइने बताए । तर, स्वेच्छाले अभिभावकले सहयोग गरेको भए केही गर्न नसकिने उनले बताए । ‘कक्षा ८ सम्म भर्नाको समयमा रकम लिन पाइदैन, ९ र १० कक्षामा भने कानुनले नै छुट दिएको छ’–स्रोत व्यक्ति सुवेदीले भने–‘अहिलेसम्म कुन स्कुलबाट शुल्क लिइयो भने सुचना नै आएको छैन । स्वेच्छिकरुपमा अभिभावकले दिएको हो भने केही गर्न सकिदैन ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे