धरान सांगीतिक साँझ सम्पन्न(फोटोफिचर)

धरान । गीत,संगीतको शहर भनेर चिनिएको धरानमा सुगम संगीत, पप र रक तीन वटै शैलीका पारखीहरु छन् । यहाँ बेला बेला कन्सर्ट एवं सांगीतिक कार्यक्रमहरु आयोजना भइरहन्छन्, तर ती कार्यक्रममा यी तिनै शैलीका स्रोताहरु कहिल्यै सन्तुष्ट भने हुदैनन् । रक, पप शैलीको कन्र्सटमा सुगम संगीतका पारखी अटाउदैनन् भने सुगम संगीत शैलीको सांगीतिक कार्यक्रममा टिनएज एवं युवा पुस्ता टिक्दैनन् ।
अपवादमा शनिबार धरानमा एउटा यस्तो सांगीतिक साँझ भयो, जहाँ धरानका तीनै शैलीका पारखी एवं पुस्ता सँगै बसेर गीत,संगीतको आनन्द लिए । अग्रज(पुराना) कलाकार र नयाँ पुस्ताबीच सहकार्य गर्ने उद्देश्यले सैनिक भवन परिसरमा शनिबार प्रथम धरान सांगीतिक साँझ ०७१ आयोजना भएको थियो । धरान संगीत प्रतिष्ठानले आयोजना गरेको साँझमा बाजे र नाती पुस्ता एकैलहरमा बसेर गीत,संगीतको धुनमा रमाए । तिनैपुस्ता नरमाउन् पनि किन ? सुगम संगीतका साधक एवं वरिष्ठ गायक दिप श्रेष्ठदेखि ए.पी.शेर्पा, डा.एलिन सुन्दास, विनोद थापा, नवराम राई, रमेश राई र युवा पुस्ताका ढुकढुकी सविन राई, आउटसाइडर्स ब्याण्डसँगै नवोदित कलाकार प्रकृति लिम्बू, अञ्जु राई, विधान मोतेसम्मले एउटै स्टेजमा प्रस्तुती दिए ।
सांगीतिक साँझको शुरुवात नवोदित गायिका प्रकृति लिम्बूले स्वर्गीय अरुणा लामाको एक्लै बस्दा सधै मलाई..बोलको गीतबाट गरिन् । उनीपछि समाजसेवा र राजनीतिमा जमेका रमेश राईले पनि धरानैको बजारमा..गाउदै आफुलाई गायककोरुपमा प्रस्तुत गरे । अर्का चर्चित गायक एपिशेर्पाले जहाँ छन् बुद्धका आँखा..बोलको गीतले देशप्रेमको भावनाले ओतप्रोत बनाइदिए भने नवोदित युवा गायक विधान मोतेले तिमीलाई पिरतीले बाधौला..भन्दै युवाहरुको मन जिते ।
दशकअघि धरानको गीत,संगीतमा जमेका विनोद थापाले हावासँगै बग्यो भन्दा..गाउदै संगीतप्रतिको आफ्नो लगावलाई पुनः सार्वजनिक गरे भने डाक्टर एलिन सुन्दासले यति चोखो यति मिठो..गाएर स्रोताको मन जित्दै चिकित्सा पेशामा मात्रै आफु सिमित नभएको प्रमाण पेश गरे । ज्वारोले सताएको भएपनि स्रोताको आग्रहलाई नकार्न नसकेपछि चर्चित गायक दिप श्रेष्ठले गृहनगरमा कोसेलीस्वरुप मेरी मायालु..र मेरो आँखामा हरदिन..बोलको गीत गाए । उनीपछि स्टेजमा आएका गायक सविन राईले मलाई अंगाली देउ..र जाउ कि बसु..बोलको गीत गाएर युवाहरुलाई तताए । त्यसपछि, क्रमशः नवोदित गायिका अञ्जु राई, आउटसाइडर्स ब्याडका डिल्ली फोम्बो, प्रशान्त शर्मा र नवराम राईले धरानेहरुलाई संगीतको धुनमा मुग्ध बनाए ।

आयोजक धरान संगीतिक प्रतिष्ठानका सचिव अजय राईले नयाँ र पुराना पुस्ताका कलाकारहरुलाई एउटै स्टेजमा प्रस्तुत गरेर सहकार्यको नयाँ अध्याय शुरुवात गरेको बताए । उनले धरानको गीत,संगीत र कलालाई नयाँ र पुराना पुस्ताका कलाकारहरु मिलेर अघि बढाउन अभियान थल्ने बताए । कलाकारहरुले पनि प्रतिष्ठानको पहललाई स्वागत गरेका छन् । ‘धरानमा संगीत प्रतिष्ठान धेरै अघि खुल्नुपथ्र्यो, हामीले कुरा पनि गरेका थियौं, तर अहिले स्थापना हुनु जुरेको रहेछ’–वरिष्ठ गायक दिप श्रेष्ठले भने–‘यहाँको बाद्यबाधक, कलाकार कोही पनि कम छैनन्, धरानलाई सधै संगीतमय बनाइरहुन् ।’ अर्का गायक एपी शेर्पाले पनि नयाँ पुस्ताले अग्रजहरुसँग सहकार्यको अवसर पाउने र गीत,संगीतको विकासमा योगदान पुग्ने बताए ।
...............

                        गायक दिप श्रेष्ठलाई सम्मान

वरिष्ठ एवं चर्चित गायक दिप श्रेष्ठ गृहनगर धरानमा सम्मानित भएका छन् । कला,संगीतको संरक्षण–हाम्रो अभियान नारा दिएर स्थापना भएको धरान संगीत प्रतिष्ठानले गायक श्रेष्ठलाई शनिबार सम्मान गरेको हो ।
    प्रतिष्ठानले शनिबार सैनिक भवन परिसरमा आयोजना गरेको धरान सांगीतिक साँझ ०७१ को समारोहमा गायक श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेको हो । गीत,संगीतको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको साथै धरानबासीहरुलाई गौरवान्वित बनाएको भन्दै प्रतिष्ठानले श्रेष्ठलाई सम्मान गरेको जनाएको छ । गायक श्रेष्ठलाई प्रतिष्ठानका अध्यक्ष मचेन लिम्बू र उपाध्यक्ष डा.एलिन सुन्दासले सम्मानपत्र एवं मायाको चिनो प्रदान गरेका थिए ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे