मासिक ५० हजार कमिशन लिएर ठेकेदारलाई छुट


धरान । वन क्षेत्रमा पुग्ने क्षतिबारे जानकार हुदा हुदै पनि यहाँका दुई सामुदायिक वन समितिले ठेकेदारबाट मासिक ५० हजारको दरले पैसा लिएर सेउती खोलामा स्काभेटर चलाउन छुट दिएको पाइएको छ ।
स्काभेटरले सेउती खोलाबाट जथाभावी मिसगिटी र ढुंगा निकाल्दा बर्षायाममा बर्षेनी वन क्षेत्र कटान हुन्छ, र सयौं रुखबिरुवा बगाएर क्षति पुर्याउछ । कोशी राजमार्गअन्र्तगतको धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुल उत्तरको वन क्षेत्र खोला दायाँबाया बाँझगरा र पानवारी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । यी दुवै वन उपभोक्ता समितिले सेउतीबाट मिसगिटी झिकेवापत ठेकेदारबाट मासिक ५० हजार लिने गरेको छ । समितिले वन जोगाउन तटबन्धन निर्माण गर्ने उद्देश्यले पैसा लिएको दाबी गरेपनि काम भने गरेका छैनन् । दुवै वन समितिको संयुक्त सेउती खोला संरक्षण समितिले खोलाबाट मिसगिटी झिक्न नदिने निर्णय विपरीत पैसा लिएर वन समितिले स्विकृति दिएको पनि खुलेको छ ।
पैसा लिएर खोलामा स्काभेटर प्रयोग गर्न दिएर वन क्षेत्रसँगै वस्तीलाई पनि जोखिममा परेकोप्रति स्थानीय एवं सरोकारवाला भने वन समितिका पदाधिकारीप्रति रुष्ट छन् । पैसा लिएर पनि बर्षायाम शुरु हुनलाग्दासम्म तटबन्धनको काम नगरेको भन्दै सरोकारवालाको आरोप छ । ‘ठेकेदारबाट मासिक ५० हजार पाउने भएपछि अनुमति दिएछन्, हामी वस्तीबासी र सरोकारवालासँग सल्लाह, छलफल त गर्नुपथ्र्यो नी’–संयुक्त तटबन्धन समितिका अध्यक्ष नयेन्द्रबहादुर लिम्बूले भने–‘संरक्षण गर्न पैसा लिएको भन्थे, तर अहिलेसम्म खै तटबन्धनको काम गरेको ?’
आर्थिक बर्षको शुरुवातमा जिविस सुनसरीले ठेक्का लगाएपछि ठेकेदारलाई अनुमति दिने कि नदिने बिषयमा वन समितिका पदाधिकारीबीच विवाद भएको थियो । दुवै वन समितिको संयुक्त सेउती खोला संरक्षण समितिले अनुमति नदिने निर्णय पनि गर्यो । तर, निर्णयविपरीत दुवै वनका अध्यक्ष, केही पदाधिकारीले पेलेरै मासिक ५० हजार लिएर स्काभेटर चलाउन र मिसगिटी झिक्न स्वीकृति दिए । अध्यक्षको कार्यशैलीप्रति चित्त नबुझेपछि बाँझगारा वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष प्रेमबहादुर राईले कार्यकाल नसकिदै पदबाट राजिनामा दिए । ‘संयुक्त वैठकमा खोला नखोल्ने निर्णय भएर माइन्युट पनि भयो, तर दुवै अध्यक्षले ५०÷५० हजार लिने भनेर अनुमति दिए’–बाँझगराका पूर्वउपाध्यक्ष राईले भने–‘बर्षेनी वन कटान हुन्छ, विनास हुन्छ, वस्ती पनि जोखिममा पर्छ भन्दा भन्दै पनि कुरा नमिलेपछि राजिनामा दिए ।’ वन क्षेत्र जोगाउन लगाएको जाली र तटबन्धलाई बगाइसकेकोले सबैले चासो दिनुपर्ने उनले बताए । यसअघि भने वन समितिकै अडानले सेउती खोला पुल मास्तिर ठेकेदारले स्काभेटर प्रयोग गर्न सकेको थिएन ।
स्काभेटर प्रयोग गर्दा ठुल ठुला खाडल बन्ने, जमिन थर्किदा आधार कमजोर भएर बर्षामा भुक्षय र ठुलो मात्रामा वन क्षेत्र कटान हुन्छ । उपभोक्ताका अनुसार बर्षेनी ३ हजारको संख्यामा साना, मझौला बोटविरुवा बाढीले बगाउने गरेको छ । वनक्षेत्रबाहेक सेउती खोला किनारमा धरान र पाँचकन्या गाविसतर्फको खोरिया वस्ती, आधारभुत वस्ती, बगरकोट, देउराली वस्ती कटानको जोखिममा पर्छ । ठेकेदारले जथाभावी मिसगिटी निकालेको भन्दै शुक्रबार खोरियावस्तीबासीले स्काभेटर र टिपरलाई खेदेका थिए ।
चालु आर्थिक बर्षमा इटहरीस्थित विनिता श्री ट्रेड एण्ड सप्लायर्स प्रालिले सेउती खोलाबाट मिस गिटी झिक्ने ठेक्का पाएदेखि नै यो क्षेत्रमा तनाव बढेको थियो । वन समितिका केही पदाधिकारी र स्थानीयले शुरुदेखि नै विरोध जनाएको थियो । ठेकेदारसँगै जिविस, जिल्ला प्रशासन, वन कार्यालयले खोलाबाट मिसगिटी झिक्न चर्को दबाब दिएको थियो । यहाँबाट दैनिक डेढ सय टिपरले मिसगिटी ओसार्ने गरेको छ । आर्थिक बर्ष सकिन लागेकोले केही समय यता अत्यधिक मात्रामा मिसगिटी झिकिदै थियो ।
पानबारी वन समितिका अध्यक्ष मानबहादुर योञ्जनले आइइइ रिपोर्टअनुसार वन क्षेत्रमा क्षति नपुग्ने गरी मिसगिटी झिक्न सहमति गरेको र सात महिनादेखि वन क्षेत्रको संरक्षणको लागि मासिक ५० हजार लिएको स्वीकार गरे । जिविस, जल उत्पन्न प्रकोपमा जाली माग गरेर तटबन्धन लगाउने तयारी भएको उनले बताए । बाँझगरा वन समितिका अध्यक्ष टिका पाख्रिनले भने खोला ठेक्का लगाउने कानुनी अधिकार जिविससँग भएकोले आइइइ रिपोर्टअनुसार लैजान अनुमति दिएको बताए । उनले ठेकेदारबाट पैसा दिने मौखिक सहमति भएपनि हालसम्म नपाएको दाबी गरे । तर, बाँझगरा वन समितिकै कोषाध्यक्ष भोजराज श्रेष्ठले भने ठेकेदारले तीन किस्ता गरेर ३ लाख दिएको र त्यसलाई कर्मचारी तलब, वन विकासलगायत काममा खर्चिने खुलाए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे