धरान रंगशालामा भिआइपी प्याराफिट बन्ने

धरान । यहाँको निर्माणाधिन धरान रंगशालामा भिआइपी प्याराफिट निर्माण हुने भएको छ । धरान १६ स्थित रंगशालाको पश्चिम क्षेत्रमा बन्ने भिआइपी प्याराफिटको बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले शिलान्यास गरे ।
    पूर्वाञ्चलमा आयोजना हुने भनिएको सातौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर रंगशालामा यो संरचना थपिन लागेको हो । गुरुयोजनाअन्र्तगत भिआइपी प्याराफिटको तीन भागको एक भाग संरचना असार मसान्त अघि नै निर्माण हुने परिषदले जनाएको छ । यो प्याराफिट १२ सय दर्शक अटन सक्ने क्षमताको बन्ने परिषदका इञ्जिनियर एवं निर्माण शाखाका प्रमुख अरुण उपाध्यायले बताए । उनका अनुसार भिआइपी प्यपाराफिटको ३ वटा खण्डमध्येको यो एक खण्ड हो । ‘गुरुयोजनाअनुसार नै बन्न लागेको हो, विस्तारै यहाँ अन्य संरचनाहरु पनि थपिदै जानेछं र भविष्यमा काठमाण्डौंको दशरथ रंगशालाकै स्वरुपमा तयार हुनेछ’–उनले भने ।

गुरुयोजना अनुसार भिआइपी प्याराफिटको कुल संरचना भने ८० मिटर लम्बाईको हुनेछ । तर, हाल बन्न लागेको प्याराफिटको एक खण्ड भने २५ मिटर लम्बाई र १४.१७ मिटर चौडाईको हो । माथिल्लो भागमा अतिथिहरु बस्ने मञ्चसहित दर्शक बस्ने प्याराफिट हुनेछ भने भुईतलामा बाथरुम, ट्वाइलेटसहिट रेफ्री रुम, वेटिङ रुम, चेञ्जिङ रुम, डाक्टर रुम, छलफल गर्ने कोठालगायत संरचना बन्नेछ । परिषदले एक करोड ९२ लाख लागतअनुमान गरेको यो प्याराफिट बनाउन अजम्बर शिवराज जेबीले १ करोड ४० लाखमा टेण्डर पारेको छ ।
शिलान्यास पछि परिषदका सदस्य सचिव लामाले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुने निर्णय अनुसार धरान, इटहरी र विराटनगरलाई प्राथमिकता दिएर खेलकुदको पूर्वाधारहरु बनाउन परिषद जुटेको बताए । उनले धरान रंगशाला प्राकृतिक, प्राविधिक हिसाबले अन्र्तराष्ट्रियस्तको बन्नसक्ने भन्दै त्यसको लागि स्थानीयबासीले पहल गर्नुपर्ने पनि बताए । ‘सातौं खेलकुदलाई लक्षित गरेर गत बर्षदेखि नै पूर्वमा पूर्वाधार निर्माण थालेका थियौं । तर यी संरचनाहरु सातौंको लागि मात्रै भने होइन’–लामाले भने–‘यी संरचनाहरु जोगाउन, बलियो बनाउन स्थानीयले चासो दिनुपर्छ, तपाईहरुले नै निरन्तर अनुगमन गर्नुस्, हेर्नुस र कस्तो हुनुपर्छ भनेर भन्नुपर्छ ।’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङले रंगशालाको थप संरचना बन्न लागेकोमा खुशी व्यक्त गर्दै धराने जनता पूर्ण रंगशाला चाडै बनेको हेर्न आतुर भएको बताए ।
धरान रंगशालालाई आधुनिक बनाउन दुई बर्षअघि गुरुयोजना तयार गरेर क्रमागतरुपमा संरचनाहरु निर्माण गरिरहेको छ । यो रंगशालामा १२ देखि १८ हजार क्षमताको हुने परिषदको भनाई छ । यहाँ अघिल्लो आर्थिक बर्षमा परिषदले १५ सय क्षमताको प्याराफिट निर्माण गरिसकेको छ भने क्षेत्रीयस्तरको सेमी कवर्ड हल पनि बनाइसकेको छ । उक्त प्याराफिट ४० लाख लागतमा बनेको हो भने सेमी कवर्ड हल ९६ लाखमा बनेको परिषदले जनाएको छ । यो कवर्डहलमा कराते, तेक्वान्दो, जुडोलगायत खेलको अभ्यास गर्न सकिनेछ । यस्तै, माघ महिनाभित्रै रंगशालाको पूर्वक्षेत्रमा १२ देखि १५ सय क्षमताको प्याराफिट बनाइने पनि परिषदका इञ्जिनियर उपाध्ययले बताए । गुरुयोजनाअन्र्तगत बहुउद्देश्यीय कवर्ड हल पनि यहाँ बनिने उनले बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे