धरानमा साहित्य महोत्सवको तयारी हुदै

धरान । द्धिशतबार्षिकी भानु जयन्तीको सन्र्दभ पारेर धरानमा तीन दिने साहित्य महोत्सव ०७१ हुने भएको छ । यहाँका साहित्य,कला एवं संगीतकर्मीहरुले जयन्तीको सन्र्दभ पारेर असार २८, २९ र ३० गते साहित्य महोत्सवको तयारीमा जुटेका छन् ।
यसको लागि भाषाविद् प्रा.डा.टंक न्यौपानेको अध्यक्षतामा मुल आयोजक समिति गठन भइसकेको छ भने शुक्रबार विभिन्न उपसमितिहरु पनि गठन भएको छ । धरानलाई साहित्य, संगीत र कलाको शहरकोरुपमा चिनाउने महोत्सवको उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष न्यौपानेले बताए । ‘द्धिसतबार्षिकी भानुजयन्तीको सन्र्दभमा कार्यक्रम गर्न लागेका हौं, यसले धरानलाई कला, साहित्य र संगीतको उर्बरभूमिकोरुपमा चिनाउनेछ भने आन्तरिक पयर्टनको पनि विकासमा सघाउ पुर्याउनेछ’–न्यौपानेले भने ।
    आयोजक समितिका अनुसार महोत्सव अवधिमा धरानको विभिन्न सडक र चोकहरुमा कविता, गजल वाचन कार्यक्रम हुनेछ । यस्तै, कविता पाठसँगै सांगीतिक कार्यक्रमहरु पनि हुनेछन् भने सडक नाटक प्रर्दशन तथा नृत्य प्रस्तुती पनि हुनेछ । तीन दिनअवधिभर पुस्तक र चित्रकला प्रर्दशनी पनि आयोजना गरिनेछ । साथै, साहित्य सेवा गर्ने एक व्यक्तित्वलाई बिषेश अभिनन्दन गरिनेछ भने अन्य श्रष्टालाई सम्मान र नवोदितहरुलाई प्रोत्साहन पुरस्कार पनि दिइने आयोजक समितिले जानकारी दिएको छ । ‘साहित्यिक कार्यक्रमहरु सधै कोठाभित्र सिमित भए, यसपाली अलिक फरकढंगले महोत्सव गर्दैछौं’–अध्यक्ष न्यौपानेले भने–‘साहित्य,कला,संगीतप्रति आमसर्वसधारण जनतालाई चासो र आर्कषण बढाउन सडक र चोक चोकमा कार्यक्रम गछौं ।’ कार्यक्रममा आजिवन साहित्यको सेवामा जीवन अर्पण गरेका कवि विमल गुरुङ्गका पिता एवं विमल स्मृति पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ्गलाई बिशेष अभिनन्दन गरिनेछ ।

    महोत्सवमा धरान, सुनसरी,मोरङ्ग, धनकुटा, झापा, इलाम,पाँचथर, काठमाण्डौंलगायत विभिन्न स्थानबाट साहित्यकारहरु सहभागी हुनेछन् । महोत्सवले धरानलाई साहित्य, कला र संगीतको शहरकोरुपमा पहिचान दिलाउने आशा व्यक्त गर्दै नगरपालिकाले पनि सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । ‘यो कार्यक्रमले धरानलाई कला,साहित्यको शहरकोरुपमा चिनाउनेछ, नगरपालिकाले पनि सक्दो सहयोग गर्नेछ’–वरिष्ट प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने । युवा कवि सुदिप पाख्रिनले महोत्सवले युवा स्रष्टाहरुलाई प्रेरणा मिल्ने बताए ।
महोत्सवलाई सम्पन्न गराउन साहित्यिक गोष्ठी उपसमितिको संयोजक वाङमय समाजलाई जिम्मा दिइएको छ भने चित्रकला प्रर्दशनीको संयोजनको जिम्मेवारी युमा फाइन आर्ट ग्यालरीलाई दिइएको छ । यस्तै, संगीत उपसमितिको संयोजक धरान संगीत प्रतिष्ठान, नाट्य उपसमितिको संयोजक नाट्यकर्मी विशाल भण्डारी, जनजातिय साँस्कृतिक एवं झाँकी प्रर्दशनी उपसमितिको संयोजक आदिबासी जनजाति नगर समिति, पुस्तक प्रर्दशनीको संयोजक भिगोरस नेपाल र प्रचारप्रसार उपसमितिको संयोजकको जिम्मेवारी पत्रकार महसंघलाई तोकिएको मुल समितिले जनाएको छ । प्रत्येक उपसमितिहरुको संयोजक सदस्य रहने गरि एक आर्थिक समिति पनि गठन गरिएको मुल समितिले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे