बीपीमा फाष्ट ट्रयाक सर्भिस र आइसियु बेड थपिने

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वसाधारणलाई छिटो र सहजरुपमा ल्याब तथा रेडियोलोजी सेवा उपलब्ध गराउन ‘फाष्ट ट्रयाक हस्पिटल सर्भिस’को अवधारणा ल्याएको छ ।
    प्रतिष्ठानको ल्याब तथा रेडियोलोजी सेवा ढिलो भएको भन्दै सर्वसाधारणहरु निजी क्लिनिक एवं ल्याबतिर जाने क्रम बढेपछि प्रतिष्ठानले यस्तो अवधारणा अघि सारेको हो । फाष्ट ट्रयाक सेवा सञ्चालनमा ल्याउनेबारे प्रतिष्ठानको व्यवास्थापन र कर्मचारी कल्याण समाजबीच सोमबार सहमति पनि भइसकेको छ । प्रतिष्ठानमा उपचार गर्न आउने सर्वसाधारण विरामीको सेवालाई ध्यानमा राखेर यो सेवा शुरु गर्ने अवधारणा ल्याएको प्रतिष्ठानले जनाएको छ ।
    ‘यहाँको ल्याबबाट रिपोर्ट ढिलो हुन्छ भन्ने जनगुनासो छ, त्यसैले हामीले पहिल्यैदेखि यो सेवा शुरु गर्ने भनेर सोचिरहेको छौं’–प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले भने–‘यदि कसैले अहिले जाँच गरेर तुत्कालै रिपोर्ट चाहन्छ भने उसलाई केही बढी शुल्क लिएर यो सेवा दिनेछौं ।’ यसको लागि आवश्यक जनशक्ति र पूर्वाधार थपिने पनि उपकुलपति दासले बताए । पूर्वाञ्चलको प्रमुख स्वास्थ्य सेवाकोरुपमा रहेको प्रतिष्ठानमा यो सेवा शुरु भएमा सर्वसाधारणहरुले राहत पाउनेछन् । अहिले ल्याब एवं रेडियोलोजी सेवाको रिपोर्ट पाउन विरामीहरुले घण्टौं पर्खनुपर्छ । यो फाष्ट ट्रयाक सेवा शुरु भएपनि जेनरलको सेवा भने प्रभावित हुन नदिने प्रतिष्ठानले जनाएको छ ।
    प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले फाष्ट ट्रयाक सेवा शुरु भएमा विरामीलाई राहत पुग्नुको साथै प्रतिष्ठानको आम्दानीमा पनि वृद्धि हुने बताए । उनका अनुसार प्रतिष्ठानमा उपलब्ध जाँच एवं परीक्षण प्रतिष्ठानमै गराउनुपर्ने नीतिलाई कडाईका साथ लागु गर्ने र कसैवाट परीक्षणहरु बाहिर पठाइएको पाइएमा निश्कासनसम्मको कारवाही गर्ने पनि सहमति भएको छ । ‘यो नन्प्राक्टिसिङ संस्था भएकोले नीति र आचारसंहिता विपरीत बाहिर गएर काम गर्ने शिक्षक, कर्मचारीलाई पनि कडा कारबाही गर्ने सहमति भएकोछ’–उनले थपे ।
    समाजसँग भएको अर्को महत्वपुर्ण सहमतिमा ६ महिनाभित्र कम्तीमा १५ देखि २० को संख्यामा सघन उपचार कक्ष(आइसियु)को वेड थप गर्ने पनि छ । हाल प्रतिष्ठानमा १० वटा मात्रै आइसियु बेड हुदा सिकिस्त एवं गम्भीर विरामीहरुले सहजरुपमा यो सेवा पाउन सकेको छैन । ‘संरचनाहरु यही छ, आइसियु बेड बढाउनै पर्ने भएकोछ’–उपकुलपति दासले भने । प्रतिष्ठानको डाइलाइसिस र डे केयर ओटी लाई फिजियोथेपारीमा स्थानन्तरण गरेर त्यहाँ आइसियु बेड थप गर्नेबारे व्यवस्थापनसँग सकरात्मक सहमति भएको कर्मचारी कल्याण समाजका अध्यक्ष तामाङले बताए । उनका अनुसार फिजियोथेरापीलाई भने हाल निर्माणाधिन अवस्थाको रिहयाब सेन्टरको भवनमा स्थानान्तरण गरिनेछ । अबको ६ महिनाभित्र सेन्टरको भवन निर्माण भएर सञ्चालनमा आउने अनुमान छ ।
    यसैगरि, प्रतिष्ठानको आकस्मिक सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउन र कल डिउटीमा रहेका चिकित्सकहरुलाई ढिलोमा कल गरेको आधा घण्टाभित्र आकस्मिक कक्षमा पुगिसक्ने नियम पनि लागु गरिने भएको छ । साथै, पेइङ सेवालाई व्यवस्थित बनाउन र जेनरल चार्जबाहेकको रकम मात्र बाँडफाड हुने गरी नीति बनाउन पेइङ सेवा निर्देशिका पनि तयार गरिने भएको छ । यस्तै, प्रतिष्ठानको आय—व्ययलाई पारदर्शी बनाउन प्रत्यके छ महिनामा सार्वजनिक गर्ने र गत चैत्र मसान्त सम्मको आय—व्ययलाई यही बैशाख मसान्तमा सार्वजनिक गर्ने पनि दुवै पक्षबीच सहमति भएकोछ ।
    यसैगरि, बार्षिक तलब वृद्धि (ग्रेड), नेपाल सरकारद्धारा वृद्धि गरिएको १८ प्रतिशत तलब तथा एक हजार भत्ता र २५ प्रतिशत प्रोत्साहन भत्ता सम्बन्धमा शिक्षक र कर्मचारीको समाजकोसमेत प्रतिनिधित्व रहने गरी एक हप्ताभित्र एक कार्यदल गठन गर्ने र कार्यदलद्धारा १५ दिन भित्र तयार गरेको प्रतिवेदनलाई कार्यकारिणी समितिले छलफल एवं निर्णय गरी आगामी संचालक परिषदमा निर्णयार्थ पेश गर्ने पनि सहमति भएको छ । यस्तै, प्रत्येक ३÷३ वर्षमा प्रतिष्ठानको आर्थिक श्रोत र देशको महंगी वृद्धिलाई मध्यनजर गर्दै तलब, भत्ता तथा अन्य सुविधा पुर्ननिर्धारण गर्न रजिष्ट्रारको संयोजकत्वमा प्रतिष्ठानका शिक्षक र कर्मचारीको समाजको समेत प्रतिनिधित्व रहने गरी प्रतिठानको आफ्नै तलबमान पुर्ननिधारण समिति गठन गर्ने र उक्त समितिको सिफारिसलाई कार्यकारिणी समितिले निर्णय गरी संचालक परिषदमा निर्णयार्थ पेश गर्ने पनि सहमति भएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे