सुनसरी फुटबल संघले राष्ट्रिय लिगमा सहभागी नहुने

धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघि सारेको होम एण्ड अवे प्रणालीको राष्ट्रिय लिगमा सुनसरी जिल्ला फुटबल संघले सहभागी नहुने निर्णय गरेको छ । साथै, एन्फाको युवा फुटबल परियोजनालाई पनि सञ्चालन गर्न नसक्ने संघले निर्णय गरेको छ ।
    केन्द्रले राष्ट्रिय लिग र परियोजनाबारे विस्तृत कार्ययोजना एवं स्पष्ट खाका प्रस्तुत गर्न नसकेको जनाउदै जिल्ला संघले यस्तो निर्णय गर्नुपरेको जनाएको छ । यसैगरि, लिग र परियोजनाको तयारी गर्न बजेट र समय पनि अभाव रहेको संघको भनाई छ । संघको दुहबीस्थित एन्फा कार्यलयमा सोमबार साँझ सम्पन्न कार्यसमिति वैठकले सर्वसम्मतरुपमा निर्णय यो गरेको हो । एन्फाको प्रस्ताव एवं कार्यक्रम विपरीत निर्णय भएको सो बैठक भने एन्फाकै केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राईको प्रमुख अतित्थ्यमा भएको थियो । यसअघि, चार वटा ए डिभिजन क्लबहरुले पनि एन्फाप्रति असन्तुष्टी जनाउदै राष्ट्रिय लिग नखेल्ने घोषणा गरिसकेको छ ।
केही साताअघि एन्फाको केन्द्रीय समितिले होम एण्ड अवे प्रणाली अनुसार राष्ट्रिय लिग सञ्चालन गर्ने र मोफसलका ६ जिल्लालाई लिगमा समावेश गर्ने बताएको थियो । जबकी यसअघि आयोजना भएको राष्ट्रिय लिगलाई एन्फाले नै असफल भएको भन्दै निरन्तरता दिएको थिएन । त्यसबेला धरानको मित्रमिलन क्लबले राष्ट्रिय लिग खेलेको थियो । यस्तै, एन्फाअन्र्तगतको ४५ जिल्लाहरुमा युवा फुटबल परियोजना सञ्चालन गर्ने पनि निर्णय गरेको थियो । सोही निर्णय वमोजिम एन्फाले बैशाख १५ गते जिल्ला फुटबल संघहरुलाई जिल्ला लिग फुटबल, राष्ट्रिय लिग सञ्चालन गर्न प्रारम्भिक तयारी र युवा फुटबल परियोजना सञ्चालन गर्ने बिषयको परिपत्र पठाएको थियो । ‘एन्फाबाट आएको पत्रमा जिल्ला लिग, राष्ट्रिय लिग र परियोजनाबारे अवधारण मात्रै छ, विस्तृत कार्ययोजना, बजेटबारे केही समेटिएको छैन’–जिल्ला संघका उपाध्यक्ष नविन राईले भने–‘अब समय पनि ज्यादै कम छ, त्यसैले राष्ट्रिय लिगमा सहभागी हुन सक्दैनौं, र परियोजना पनि सञ्चालन गर्न असमर्थ छौं भनेर सर्वसम्मत निर्णय भएको छ ।’
एन्फाका केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राई ।
एन्फाले होम एण्ड अवे प्रणाली अनुसार सञ्चालन गर्न लागेको राष्ट्रिय लिगमा झापा, मोरङ, सुनसरी, मकवानपुर, पर्सा, रुपन्देही, काँस्की, बाँके र कैलालीलाई परिपत्र पठाएर जिल्ला फुटवल संघको कार्यकारिणी समितिको वैठकबाट सहभागी हुने निर्णय गराउन आग्रह गरेको थियो । यी जिल्लाहरुलाई एन्फाले मोफसलको ए डिभिजनको मान्यता दिएको छ । यी मध्ये ६ जिल्लालाई राष्ट्रिय लिगमा समावेश गराउने एन्फाको योजना छ । यसैगरि, एन्फाले आफु अन्र्तगतको ४५ वटै जिल्ला फुटबल संघहरुलाई पठाएको परिपत्रमा १४ बर्ष, १६ बर्ष र १९ बर्ष उमेर समुहका खेलाडहरुलाई छनौट गरी असार पहिलो हप्ता केन्द्रीयस्तरको प्रशिक्षक र प्राविधिकहरुबाट निरीषण गराएर उत्कृष्ट १६ स्थानहरुमा प्रशिक्षण सञ्चालन गर्ने उल्लेख छ । यसैगरि, जिल्ला लिग सञ्चालन गर्न कम्तीमा ७५ हजार र बढीमा २ लाखसम्म उपलब्ध गराउने आश्वासन दिइएको छ ।
सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष नविन राई ।
जिल्लाका एक पदाधिकारीले भने एन्फा अध्यक्ष गणेश थापाको एकल निर्णयबाट राष्ट्रिय लिग र परियोजनाको कुरा आएकोले त्यसविपरीत निर्णय भएको बताए । जिल्लाको वैठक भएपनि एन्फा संस्थागत एवं विधिसम्मतरुपमा चल्नुपर्ने, काम कारबाही पारदर्शी हुनुपर्नेलगायतको बिषयमा छलफल भएको ती पदाधिकारीको भनाई छ । ‘राष्ट्रिय लिग र परियोजना जिल्लालाई फकाउन ल्याएको ललीपप मात्रै हो । केन्द्रीय नेतृत्व विधिसम्मतरुपमा चल्नुपर्छ, एकल निर्णय र लहडको भरमा होइन, नेतृत्व सच्चिनुपर्छ भन्ने हाम्रो माग हो’–उनले भने ।
वैठकमा सहभागी केन्द्रीय द्धितिय उपाध्यक्ष किसोर राईले पनि अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्टी जनाउदै निर्णयहरु संस्थागत र कागजीरुपमा हुनुपर्ने बताए । अध्यक्षको एकल निर्णय र कार्यशैलीको कारणले नै एन्फा विवादमा फस्दै गइरहेको र फुटबल खेलको विकासमा नै धक्का लागिरहेको उनले बताए । ‘अब एन्फाले कुन बैठकमा कुन निर्णय भएको हो भनेर डकुमेन्टेशन गर्नुपर्छ, आफ्नो बार्षिक कार्यक्रमहरु पनि अब के गर्ने भनेर पारदर्शीरुपमा सार्वजनिक गर्नुपर्छ’–द्धितिय उपाध्यक्ष राईले भने–‘नयाँ कार्यसमिति आएको २ बर्ष हुनलाग्यो, अहिलेसम्म युवा फुटबल परियोजनाको संयोजक एउटा व्यक्तिलाई बनाएको छ, समिति नै पुर्ण छैन । त्यो एक व्यक्ति भएको समितिले कसरी परियोजना सञ्चालन गर्छ ?’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे