खोरियाबासीले सेउतीबाट स्काभेटर र टिपर खेदाए

धरान । सेउती खोलामा जथाभावी ढुंगा,गिटी निकाल्दा वन क्षेत्र कटान भएको र वस्ती पनि जोखिममा परेको भन्दै धरान १५ स्थित खोरिया वस्तीका बासिन्दाहरुले ठेकेदारको स्काभेटर र टिपरलाई खेदेका छन् ।
पटक पटक आग्रह गर्दा पनि नमानेपछि शुक्रबार सयौंको संख्यामा गएका स्थानीयले खोलाबाट मिसगिटी झिक्दै गरेको स्काभेटर र टिपरलाई लखेटेका हुन् । त्यसक्रममा केहीबेर सेउती खोलामा तनाव पनि भएको थियो । आक्रोशित स्थानीयले ठेकेदारले खटाएको मुन्सीलाई हातपात पनि गरे । चालकले खोला बीचमा नै स्काभेटर छोडेर भागेका थिए । अलपत्र स्काभेटरलाई केही समय पछि स्थानीयले प्रहरीको जिम्मा लगाए ।
स्थानीयका अनुसार ठेकेदारले सहमतिविपरीत पानवारी जाने बाटो उत्तरमा स्काभेटर प्रयोग गर्दै मिसगिटी झिक्न थालेपछि बल प्रयोग गरेर खेदाउन बाध्य भएको बताए । ‘पानवारी जाने बाटोदेखि मुनि मात्रै झिक्न पाउने भनेका थियौं, तर वस्तीलाई नै कटान हुने गरी मास्तिर पनि झिक्न थाल्यो’–स्थानीय गजेन्द्र दाहालले भने–‘बर्खा शुरु भयो, पोहोर लगाएको जाली कटान हुन्छ, बस्ती बगायो भने हामी कहाँ जाने ?’ जथाभावी मिसगिटी झिकिरहेमा बर्षामा वन क्षेत्र त कटान हुन्छ नै, खोरिया वस्ती, आधारभुत वस्ती, बगरकोट, पाँचकन्याको देउराली वस्ती कटानको जोखिममा पर्नेछ ।
स्थानीयका अनुसार सेउतीमा स्काभेटर लगाएपछि पाँचकन्या गाविसस्थित देउराली र खोरिया वस्तीका युवाहरुबी पटक पटक काटमार भइसकेको छ । देउरालीका युवाहरुलाई ठेकेदारले पैसा दिएर परिचालन गरेकोले स्काभेटर लगाएको विरोध गर्दा वस्तीका युवाहरुमाथि आक्रमण भएको गंगा तामाङले बताइन् । ‘यही कारणले हाम्रो गाउँका भाईभतिजाहरुले ४, ५ पटक कुटाई खाइसक्यो, अब चंै अति नै भयो भनेर खेदाएका हौं’–उनले भनिन् । स्थानीयका अनुसार खोलामा नै पुगेर निरन्तर २ दिनसम्म विरोध जनाएपछि बिहिबारको दिन प्रहरीको उपस्थितिमा सहमति नभएसम्म शुक्रबारदेखि खोलाबाट मिसगिटी नझिक्ने मौखिक सहमति भएको थियो । तर, त्यसविपरीत शुक्रबार बिहानैदेखि खोलामा स्काभेटरले मिसगिटी झिकिन थालिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।
चालु आर्थिक बर्षमा इटहरीस्थित विनिता श्री ट्रेड एण्ड सप्लायर्स प्रालिले सेउती खोलाबाट मिस गिटी झिक्ने ठेक्का पाएदेखि नै यो क्षेत्रमा तनाव बढेको थियो । स्थानीयबासी र सामुदायिक वनले वन क्षेत्र कटान हुने साथै वस्ती पनि जोखिममा पर्ने भन्दै स्काभेटर लगाउन नदिने अडानमा थियो । तर, ठेकेदारसँगै जिविस, जिल्ला प्रशासन, वन कार्यालयको चर्को दबाब आएपछि पाँचकन्याको पानवारी र धरानको बाँझगरा वन उपभोक्ता समितिले स्वीकृति दियो । ठेकेदारले गत कार्तिकदेखि स्काभेटर प्रयोग गर्दै मिस गिटी झिक्न थालेको हो । यो खोलाबाट दैनिक डेढ सय ट्रिपरले मिसगिटी ओसार्ने ठेकेदारका एक कर्मचारीले बताए । प्रालिले एक करोड ६० लाखमा ठेक्का पाएको थियो । आर्थिक बर्ष सकिन लागेकोले केही समय यता अत्यधिक मात्रामा मिसगिटी झिकिदै थियो ।
स्थानीयबासीले भने पानमारा जाने बाटो मास्तिर स्काभेटर नचलाउन र मिसगिटी पनि नझिक्न आग्रह गर्दै आइरहेका थिए । स्काभेटर प्रयोग गर्दा ठुल ठुला खाडल बन्ने, जमिन थर्किदा आधार कमजोर भएर बर्षामा भुक्षय र ठुलो मात्रामा वन क्षेत्र कटान हुने उनीहरुको भनाई छ । ठेकेदार भीम पौडेलले भने प्राविधिकहरुबाट अनुगमन गराएर नै प्रशासन र जिविसको स्वीकृतिमा नै मिसगिटी झिकिएको दाबी गरे । खोलालाई तीन खण्डमा बाँडेर बीचको एक खण्डमा च्यानल बनाई मिसगिटी झिकिएकोले वस्तीलाई क्षति नहुने उनले दाबी गरे । ‘तीन खण्डमध्ये एक खण्डबाट २, अढाई फिट मात्रै झिकेका छौं, त्यो पनि अनुगमन गराएर प्राविधिककै सल्लाहमा हो । कसैलाई क्षति पुग्दैन’–उनले भने । आफुले पैसा दिएर कसैलाई पनि परिचालन नगरिएको उनले दाबी गरे ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे