धरानमा वहाल कर उठ्न सकेन

 धरान । स्थानीय स्वायत्त शासन ऐन र नियमावलीले नगरपालिकाले घरधनीबाट बहाल कर लिनपाउने व्यवस्था गरेपनि धरानमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । धरानमा खुलेका बैंक, बित्तिय संस्था र कम्पनीहरुलाई घरधनीबाट बहाल कर कट्टा गरेर बुझाउन नगरपालिकाले गत बर्ष पत्राचार गरेपनि सबै करको दायरामा आएको छैन ।
वहाल कर लगाउन नसक्दा नगरपालिकाले बर्षेनी राजश्व गुमाउन बाध्य छ । स्थानीय स्वायत्त शासन ऐन ०५५ को दफा १३७ र नियमालवी ०६५ को नियम १४१ वमोजिम नगरपालिकाले २ प्रतिशत बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्था वमोजिम नगरपालिकाले गत बर्ष नियमावली बनाएर सुचना जारी गरेपनि घर वहालमा लगाएका धरधनीहरुले कर तिर्न इच्छुक देखिएका छैनन् ।
    बर्षेनी राजश्व गुमाइरहेको नगरपालिकाले यो बर्ष भने वहाल कर कार्यान्वयन गर्ने तयारीमा रहेको कर अधिकृत खगेन्द्र प्रसाद खतिवडाले बताए । उनका अनुसार गत बर्ष घरधनीबाट कट्टा गरेर बहाल कर बुझाउन पत्राचार गरेपछि केही बैंक तथा वित्तिय संस्थाले मात्रै तिरेको छ । घरधनीले भाडावापत पाउने रकममा २ प्रतिशत कटाएर नगरपालिकालाई बुझाउन पत्राचार गरिएको र रसिद घरधनीकै नाममा काटिने खतिवडाले बताए । ‘केही बैंकले बुझाउन थालेको छ,सबैले होइन’–कर अधिकृत खतिवडाले भने–‘यो बर्ष नगरपालिकाले बहाल कर कार्यान्वयन गर्न केन्द्रीत हुन्छौं ।’
    धरानमा कम्तिमा पनि ५ हजार घर कुनै न कुनै प्रयोजनमा भाडामा लगाइएको नगरपालिकाको आँकलन छ । ती मध्ये २ हजार घरधनीलाई यो बर्षको असार मसान्तसम्म करको दायरामा ल्याउने नगरपालिकाको लक्ष्य छ । घरधनी स्वयमलाई आफुले भाडामा लगाएको रकम घोषणा गर्न लगाएर त्यसको २ प्रतिशत कर बुझाउन लगाउने नगरपालिकाको तयारी छ । धरानको मुख्य बजार क्षेत्रमा व्यापारीक एवं व्यावसायिक प्रयोजनमा घर वहाल लगाइएर आम्दानी गरेपनि घरधनीले कर भने तिर्दैनन् । व्यक्ति वा परिवारलाई घर एवं कोठा भाडामा लगाउनेको संख्या पनि थुप्रै छन् । ‘घरधनी आफैले घर, कोठा वा गोदामलाई यति रकममा वहालमा दिएको छु भनेर फारममा भर्न लगाउने र त्यही विवरणको आधारमा २ प्रतिशतले कर लिन्छौं’–कर अधिकृत खतिवडाले भने ।
धरान ५, महेन्द्र पथस्थित मुख्य व्यापारीक केन्द्र । अधिकांश घरधनीले नगरपालिकालाई वहाल कर तिदैनन् ।
    धरानमा एसियाली विकास बैंको ऋण तथा अनुदान सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाको ऋण तिर्न आन्तरिक आम्दानी बृद्धि गर्नुपर्ने दबाब भएकोले पनि नगरपालिका करको दायरा बढाउन बाध्य छ । एडिबिको २२.८ मिलियन अमेरिकी डलर(करिब २ अर्ब १९ करोड ३६ लाख ४८ हजार) को आयोजनामा नगरपालिकाको खुद दायित्व १५ प्रतिशत अर्थात ३२ करोड ९० लाख ४७ हजार २ सय छ । तर, नगरपालिकाको बार्षिक कुल आम्दानीमा आन्तरिक आम्दानी भने सरदर ४ करोड मात्रै छ ।
नगरपालिकाको राजश्व शाखाका अनुसार बहाल करबारे जनचेतनामुलक पर्चा पम्प्लेट बनाएर नगरबासीको हात हातमा पुरयाउनेछ भने वहालको स्वघोषणा गराउन सबै वडा सचिवसम्म फारम पुगिसकेको छ । अब ती फारमहरु नगरबासीको घर घरमा पुग्नेछ र घरधनीले त्यहाँ आफुले भाडामा लगाएको भए रकम सहितका विवरण भर्नुपर्नेछ । त्यसैको आधारमा घरधनीले त्रैमासिक, चौमासिक, अर्धबार्षिक वा बार्षिकरुपमा २ प्रतिशत वहाल कर बुझाउनुपर्नेछ । ‘फारम सबै वडा समितिमा पठाइसकेका छौं, ती फारममा नगरबासीले कतिमा भाडा लगाएको छु भनेर विवरण भर्नुपर्छ’–करअधिकृत खतिवडाले भने ।
   ................

          २ करोड १६ लाख वहाल कर संकलन

धरान ५, महेन्द्र पथस्थित मुख्य व्यापारीक केन्द्र । अधिकांश घरधनीले नगरपालिकालाई वहाल कर तिदैनन् ।
नगरपालिकाले वहाल कर उठाउन नसकेपनि धरानस्थित आन्तरिक राजश्व कार्यालयले भने चालु आर्थिक बर्षको चैत महिनासम्ममा नै २ करोड बढी वहाल कर संकलन गरिसकेको छ । कार्यालयका अनुसार चैतसम्ममा २ करोड १६ लाख रुपैया संकलन भइसकेको छ । यो सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर गरी कोशी अञ्चलको पाँच जिल्लाबाट संकलन भएको रकम हो ।
आन्तरिक राजश्व कार्यालयले भाडाको लागेको रकमको १० प्रतिशतले वहाल कर उठाउदै आएको छ । आयकर ऐन ०५८ ले नै वहाल कर लिने व्यवस्था गरेपनि करिब ३ बर्षयतादेखि मात्रै प्रभावकारीरुपमा वहाल कर संकलनको लागि अभियान थालिएको कार्यालय प्रमुख तुलसीराम सेढाईले बताए । ‘करको दायरामा ल्याउन वहाल कर पुस्तिका बनाएर घर घरमा पुगेका छौं, अझै पनि धेरैलाई कारको दायरामा ल्याउन बाँकी नै छ’–सेढाईले भने । उनका अनुसार गत आर्थिक बर्षमा पाँच जिल्लाबाट २ करोड ५२ लाख ९६ हजार वहाल कर संकलन हुने लक्ष्य राखिएको थियो । तर, त्यो भन्दा बढी २ करोड ६७ लाख ३ हजार संकलन भएको उनले जानकारी दिए ।
राजश्व कार्यालयले संकलन गरेको वहाल कर व्यापारिक प्रयोजनमा लगाएको घरधनीबाट मात्रै हो । तर, उसले पनि प्रत्यक्षरुपमा घरधनीबाट नभई व्यापारीहरुबाटै जर्बजस्ती कर लिने गरेको व्यावसायीहरुको गुनासो छ । व्यापारीले वहाल कर नतिरेसम्म पान, भ्याटको नवीकरण नगरिदिने भएकोले घरधनीले तिर्नुपर्ने वहाल कर आफुहरुले तिर्न बाध्य भएको सुनसरी उद्योग वाणिज्य संघका सदस्य एवं पर्यटन समितिका संयोजक महेन्द्र प्रधानले बताए । ‘घरधनीलाई तिर्नुपर्ने भाडाको रकमबाट कटाउनु भन्दै राजश्वले हामीसँग वहाल कर लिन्छ, घरधनीलाई त्यो कटाएर भाडा दिनखोज्दा झगडा नै हुन्छ’–प्रधानले भने–‘नतिरौं भने पान, भ्याट नवीकरण नै हुदैन, त्यसैले बाध्य हुन्छौं ।’ राजश्व कार्यालयका प्रमुख सेढाईले भने कर तिर्नु सबैको दायित्व भएको र करको दायरामा ल्याउन घरधनीलाई तिर्नुपर्ने रकममा कट्टा हुने गरि कतिपय व्यावसायीबाट लिइएको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे