जलेकी बालिकालाई उपचारमा समस्या

धरान । तीन सातादेखि याङसिला ३, मोरङका दम्पत्ति हंसबहादुर र यशोदा राई न रातमा सुत्न सक्छन्, न दिनमा नै चैन छ । यसको कारण हो, ठुली छोरीको स्वास्थ्य ।
    बैशाख ४ गते राती घरमा आगलागी हुदा ठुली छोरी सफिना राईको शरीर जलेको थियो । घरमा आगो सल्किएपछि सामान निकाल्ने क्रममा १२ बर्षीय सफिनाको ढाड माथि आगोसहितको छानो खसेको थियो । जलेर गम्भीर घाइते भएकी उनलाई छिमेकीहरुले राती नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । सफिनाको स्वास्थ्यमा केही सुधार भएपनि उनलाई थप उपचार गर्न राजधानी लैजान प्रतिष्ठानका चिकित्सकले सुझाएका छन् । गरिब परिवारका राई दम्पत्तिसँग छोरीलाई अब अन्यत्र उपचारमा लैजान सक्ने अवस्था छैन । ‘खाने लाउने केही छैन, सबै जलेर खरानी भयो’–नागरिकसँग हंसबहादुरले पीडा पोखे–‘जग्गा जमिन भएपनि बिक्री गरेर लान हुन्थ्यो, छोरीको भविष्यदेखि साह्रो चिन्ता छ ।’
आगोले सफिनाको ढाड, दुवै हात, खुट्टा र अनुहार नराम्रोसँग जलेको छ । उनको जलेको हातको बीपीमा अप्रेशन पनि भइसक्यो । अचेल दिनहुँ ड्रेसिङ भइरहेको छ । ड्रेसिङ पछि सफिनाको शरीर आगो झै भत्भती पोल्न थाल्छ, उनी रुन्छिन् । नजिकै आमाबुबाको मन पनि उसै गरि पोल्छ । डाढ, हात, खुट्टा जलेको कारण उनी सुत्न सक्दिनन् । छिन छिनमा ह्विलचियरमा राखेर डुलाउछन् । ‘जीउमा आगो बलेको छ भन्छे, सुत्न सक्दिन । छिन छिनमा ह्विलचियरमा राखेर डुलाउछौं’–हंसबहादुरले भने ।
पाखो बारीमा खेती गर्ने र घरमा सानो पसल थापेर बसेका दम्पत्तिको आगोले घरसँगै पसलका सबै सामान स्वाहा बनायो । उनीहरुको साथमा लगाएको कपडा र छोरीले निकालेको सामानबाहेक केही छैन । घटनाको समयमा हंसबहादुर र यशोदा भने घरमा थिएनन् । उनीहरु दुई दिनको लागि झापाको दमकमा आफन्तलाई भेट्न गएका थिए । घरमा सफिना र ६ बर्षकी सानी छोरी मात्रै थिए । सानी छोरीले राती कुपी बालेर मोवाइल खोज्ने क्रममा आगोले घरको छानो भेटेको थियो । आगो सल्किएपछि सानी छोरी भागिन् । सफिनाले भने सामान झिक्न थालेपछि उनलाई आगोले छोपेको थियो । पोहोर साल साउनमा मुगु खोलाले २ रोपनी खेती बगाएपछि यो परिवार बिचल्ली बनेको थियो ।
छोरीको उपचारमा हंसबहादुरलाई उनका भाई राजन र अन्य आफन्तहरुले सघाइरहेका छन् । भाई राजनका अनुसार अहिलेसम्म उपचारमा ऋण खोजेर एक लाख भन्दा बढी खर्च भइसकेको छ । अहिले बीपीले डिस्चार्ज दिएमा वेड चार्ज पनि तिर्न सक्ने स्थिति छैन । सफिनालाई सर्जरी वार्डको सेमीजनरल वार्डमा राखिएको छ । जहाँको शुल्क दैनिक ६ सय पर्छ । ‘डाक्टरले डिस्चार्ज दिने कुरा छ, काठमाण्डौ लैजाउ भनेको छ, मेरो क्षमता नै छैन । डिस्चार्ज गर्दा तिर्ने पैसा पनि छैन’–हंसबहादुरले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे