दिव्य रोशनीद्धारा पाँच जनालाई सम्मान

धरान । यहाँबाट प्रकाशन हुने दिव्य रोशनी साप्ताहिक पत्रिकाले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा तीन पत्रकारसहित पाँच जनालाई सम्मान गरेको छ । साप्ताहिकले बिहिबार आफ्नै कार्यालयमा बार्षिकोत्सव मनाउदै तीन पत्रकार र दुई सामाजिक क्षेत्रका व्यक्तिलाई सम्मान गरेको हो ।
बार्षिकोत्सवमा पत्रिकाकी सम्पादक प्रकाशक मनिता चाम्लिङले आफ्नो स्वर्गीय पिता सार्जेन्ट प्रभुराम राईको स्मृतिमा स्थापना गरेको उत्कृष्ट सामाजिक पत्रकारिता पुरस्कारबाट जनकऋर्षि राई सम्मानित भए । यस्तै, स्वर्गीय कान्छा दाजु वाजुन राईको स्मृतिमा स्थापना भएको सृर्जनशील युवा पत्रकारिता पुरस्कारबाट रणध्वज लोहार पुरस्कृत भए । सो पत्रिकाले इटहरीकी सक्रिय महिला पत्रकार शुभद्रा प्याकुरेल पनि उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान प्रदान गर्यो । तीनै जना सम्मानित एवं पुरस्कृत पत्रकारहरुले जनही नगद ५ हजार पनि पाए ।
    यसैगरी, बार्षिकोत्सवकै अवसरमा पत्रिकाले धरानकी व्यावसायी एवं जिनास स्टोरकी सञ्चालिका मधु मल्होत्रा स्थापित र ज्यातिष नगेन्द्र प्रसाद रोइलालाई सम्मान गरेको छ । सम्मानित व्यक्ति एवं पुरस्कृत पत्रकारहरुलाई सम्पादक, प्रकाशक चाम्लिङ, प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, बिशेष अतिथि एवं नगरपालिकाका निमित्त कार्यकारी अधिकृत गणेशप्रसाद खतिवडाले सम्मानपत्र, नगद प्रदान गरेका थिए ।
    प्रमुख अतिथि एवं महासंघका अध्यक्ष घिमिरेले थोरै स्रोत र साधानबाट पनि धेरै काम गर्न सकिने उदाहरण दिव्य रोशनी साप्ताहिकको व्यवस्थापनबाट पाठ सिक्नुपर्ने बताए । सम्मानले सामाजिक र पत्रकारिता क्षेत्रका व्यक्तिहरुलाई हौसला मिल्ने भन्दै उनले पत्रिकाको बजार अभाव, विद्युत समस्या भएर पनि निरन्तररुपमा प्रकाशन हुनु उदाहरणीय भएको धारणा राखे । ‘चुनौतीका बीच पनि पत्रिकार निरन्तर प्रकाशन मात्रै भएको छैन, सामाजिक र पत्रकारिता क्षेत्रलाई नै सम्मान गर्दै आइरहेको छ, यो व्यवस्थापकीय कलाबाट हामी सबैले सिक्नुपर्छ’–घिमिरेले भने । बिषेश अतिथि खतिवडाले पनि पत्रिका निरन्तर प्रकाशन गर्नु चानचुने काम नभएको भन्दै निरन्तरताको शुभकामना दिए ।
    सम्पादक, प्रकाशक चाम्लिङले सबैको साथ र हौसलाले निरन्तरता दिन सकेको उल्लेख गर्दै पत्रिका प्रकाशन र सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताइन् । समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्नुपर्छ भन्ने आफ्ना स्वर्गीय पिताको प्रेरणाबाट नै सामाजिक र पत्रकारिता क्षेत्रका व्यक्तिलाई सम्मान गर्न थालेको उनले बताइन् ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे