
धरान । शान्ति, सम्मृद्धि र समुन्नति नारा दिएर यहाँका साइक्लिष्ट युवाहरु टुर डे लुम्बिनी साइकल यात्रामा निस्किएका छन् । यहाँका १४ जना साइक्लिष्टहरु पाइडल पर पिसको सन्देश बोकेर आइतबार लुम्बिनीसम्मको साइकल यात्रामा निस्किएका हुन् । उनीलाई नगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेशप्रसाद खतिवडाले खादा
लगाउनुका साथै राष्ट्रिय झण्डा फहराएर विदाई गरेका थिए । नगरपालिकाको
कार्यलयबाट विदाई भएपछि धरान छोड्नुअघि साइक्लिष्टहरुले यहाँको सबै
गुम्बाहरुमा पुगेर दर्शन गरेका थिए ।

टुर डे लुम्बिनी कार्यक्रम
काठमाण्डौंबाट सन् २०१२ देखि शुरु भएको थियो । शुरुका दुई बर्ष राजधानीबाट
साइक्लिष्ट युवाहरु लुम्बिनीसम्म साइकलबाट पुगेका थिए । यस बर्ष भने धरान
बाइकिङ क्लबको पहलमा यहाँका युवाहरु पनि टुर डे लुम्बिनीमा सहभागी भएका
हुन् । चौध साइक्लिष्टमध्ये ३ जना युवती पनि छन् । शान्ति, सम्मृद्धि र
समुन्नतिको कामनासँगै धरानलाई पर्यटकीय गन्तब्यकोरुपमा चिनाउन एवं
वातावरणमैत्री बनाउन कार्यक्रममा सहभागी भएको क्लबका सचिव आशिक साहनीले
बताए । ‘धरानलाई साइकलमैत्री शहरकोरुपमा चिनाउन, वातावरण संरक्षण र
पर्यटकीय गन्तव्यकोरुपमा चिनाउने उद्देश्य छ’–उनले भने ।

यात्रामा
साइक्लिष्टहरु फरेन लिम्बू, मिङमा चुक्टे शेर्पा, अनिता ताम्राकार, आशिक
साहनी, रिया लिम्बू, देवेन्द्र थेगिम, प्रविण राई र सपन लिम्बू छन् ।
यस्तै, अञ्जना लिम्बू, सन्तोष लिम्बू, दिलिप रोनाहाङ, दिलिप चौधरी, नोवाहाङ
लिम्बू र किरण राई पनि यात्रामा सहभागी छन् । धरानबाट प्रस्थान गरेको यो
टोलीले सोमबार नारायणगढमा राजधानीबाट आउने टर डे लुम्बिनीको टोलीलाई
भेट्नेछ र, उनीहरुसँगै मिमिएर बुद्ध जयन्तीको दिन लुम्बिनी पुग्नेछ ।
राजधानीबाट पनि एक टोली आइतबार नै लुम्बिनीतर्फ प्रस्थान गरिसकेको छ । धरान
र राजधानीको गरि पाँच दर्जन बढी साइक्लिष्टहरु टुर डे लुम्बिनीमा सहभागी
हुने क्लबका सचिव साहनीले बताए । साइकल यात्रीहरुलाई विदाई गर्दै धरान
नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खतिवडाले धरानको पर्यटन प्रर्वद्धनमा
नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । ‘साइकल पर्यटनको विकास हुनसक्यो भने
धरानको पर्यटन प्रर्वद्धनमा नयाँ आयाम थपिनेछ भन्ने आशा लिएको छु’–उनले
भने ।
Comments
Post a Comment