धरान जेसिजले मिस एसएलसी आयोजना गर्ने

धरान । एसएलसी परीक्षा दिएर घरमा बसेका छात्राहरुलाई लक्षित गरेर धरान जेसिजले मिस एसएलसी २०१४ को आयोजना गर्ने भएको छ । जेसिजले बुधबार पत्रकार सम्मेलन गरेर रिजल्टको पर्खाइमा रहेका छात्राहरुको शुन्य समयलाई सदुपयोग गर्न र उनीहरुमा भएको प्रतिभालाई निखार्न मिस एसएलसीको तयारीमा जुटेको जनाएको छ ।
आगामी जेठ ३० गते धरान सभागृहमा ग्रयाण्ड फाइनल हुने मिस एसएलसीको फारम बिहिबारदेखि खुला भएको आयोजकले जानकारी दिएको छ । ‘एसएलसीको रिजल्ट नआएसम्म विद्यार्थीको शुन्य समय हुने रहेछ, त्यसैले यो समयलाई सदुपयोग गर्दै उनीहरुलाई विभिन्न तालिम दिलाउने र क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं’–कार्यक्रमका क्रिएटिभ डाइरेक्टर शिवराज श्रेष्ठले भने ।
   उनका अनुसार मिस एसएलसीमा परीक्षा दिएर बसेका जुनसुकै ठाउँको छात्राले पनि भाग लिन सक्नेछन् । सहभागीताको लागि इच्छुकले ०७० सालको परीक्षाको प्रवेश पत्र पेश गर्नुपर्नेछ भने उमेर १४ देखि १९ बर्ष, उचाई कम्तीमा ५ फिट, अभिभावकको मञ्जुरीनामा र अविवाहित हुनुपर्ने योग्यता राखिएको श्रेष्ठले बताए । प्रतियोगिताको अडिशन जेठ ३ गते धरान जेसिज सचिवालयमा हुनेछ । अडिशनबाट छानिएका २५ जनालाई न्युनतम तालिम शुल्क लिएर व्यक्तित्व विकास हुने गरि २२ दिनसम्म विभिन्न तालिमहरु दिलाइने आयोजकले जनाएको छ ।
    आयोजकले जनाएअनुसार १२ दिनसम्म र्याम्प वर्क, क्याट वक तथा स्टेज कभरको तालिम दिइनेछ भने उद्घोषणकला, प्रभावकारी भाषण कला, वेसिक मेकअप, वेसिक फोटोसुट, डाइनिङ्ग विहेवियर र कागजको सामान बनाउने तामिल पनि सहभागीहरुलाई दिलाइनेछ । यसबाहेक, पेजेन्टअन्र्तगत मिस फोटोजेनिकको लागि फोटोसेसन, सरसफाई, ट्राफिक व्यवस्थापन, योगा कक्षा र मिस ट्यालेन्ट पनि आयोजना हुनेछ । ‘स्कुल र जेसिजको शाखाहरुलाई पनि सम्पर्क गरेर इच्छुकलाई सहभागी गराउन आग्रह गरेका छौं, फुर्सदमा रहेकाले पनि धेरै नै सहभागी हुन्छन् भन्ने आशा छ’–तालिम निर्देशक दोर्पध्वज राईले भने ।
    अडिशनबाट छानिएका २५ जनालाई तालिम पश्चात जेठ ३० गते हुने ग्रयाण्ड फाइनलमा सहभागी गराइनेछ । ती मध्ये उत्कृष्ट १० हुदै उत्कृष्ट ५ जनाले उपाधिको लागि भिड्नेछन् र एक जनाले मिस एसएलसी २०१४ को ताज पहिरिने कोरियोग्राफर ललित लिम्बूले बताए । विजेताले मिस एसएलसीको ताजसहित सिल्ड र डिपोट उच्चमाविमा प्लस टुको छात्रवृत्ति पाउनेछन् भने मिस टिनमा सहभागी हुने अवसर पनि पाउनेछ । यस्तै, फष्ट रनरअप र सेकेण्ड रनरअपले ताज र सिल्ड पाउनेछ । विजेतालाई नगद पुरस्कारको पनि व्यवस्था गर्न प्रायोजकको खोजी भइरहेको आयोजकले जनाएको छ । यसबाहेक, मिस ट्यालेण्ट, मिस ब्युटिफुल, मिस एक्टिभ, सिम क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लिन र सिम वेष्ट गाउन ड्रेसअपको पनि पुरस्कार दिइने मुल संयोजक दिपेन्द्र निरौलाले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे