रोयल इष्र्टन इनफिल्डर्स क्लबको बिबिक्यु र डिनरमा सहभागी हुँदा
कुनै समय लागुपदार्थ एवं दुव्र्यसनले वदनाम बनेको धरानका बुलेट राइडर युवाहरु अचेल आफ्नो ठाउँको पुरानो परिचय बदल्न जुटेका छन् । रोयल इष्र्टन इनफिल्डर्स क्लबमा आवद्ध युवाहरु आफु पनि मदिरा पिउदैनन् र अरुलाई पनि नपिउन सल्लाह दिन्छन् । मदिरा पिएर भन्दा बुलेट राइड गरेरै जीवनमा मजा लिनुपर्छ भन्ने उनीहरुको मान्यता छ । ‘हामी पार्टीमा होस् वा राइडमा कतै जादा होस, कसैले पनि ड्रिंकस्(मदिरा) लिदैनौं’–क्लबका अध्यक्ष योगेन राईले भने–‘हामी ड्रिंक गरेर कहिल्यै पनि चलाउदैनौं र गन्तव्यमा पुगेपछि पनि सबैलाई पिउन मनाही गछौं ।’ बुलेट राइड नै आफुहरुको नशा भएकोले क्लबमा आवद्ध हुने युवाहरुलाई मदिरा निषेध गरिएको उनले बताए ।
क्लबमा आवद्ध हुनुअघि कतिपय युवाहरुले मदिरा पिउथे । तर, क्लबमा सक्रियता बढाएपछि भने उनीहरुले पनि पिउन छोडेका छन् । दुव्र्यसन त्यागेर समाजमा स्थापित हुन चाहिरका कतिपय युवाहरुको लागि क्लब सारथी बनेको छ । ‘रिकभरिङ्ग हुदै गरेका साथीभाईहरुलाई पनि सहज भएको छ । क्लबमा आएपछि चटक्कै छाडेका पनि छन्’–सचिव सुवास आलेमगरले भने । क्लबमा आवद्ध भएपछि रुकेश राईले मदिरा पिउन छोडेको ७ महिना बढी भइसक्यो भने तिलक राईले पनि चटक्कै छाडिसकेका छन् । ‘धरानप्रति र धरानका युवाहरुप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्ने प्रयासमा छौं, धराने युवाहरु लागुपदार्थ र कुलतमा मात्रै छैनन् है भन्ने सन्देश दिन चाहन्छौं’–उनले थपे । क्लबका अनुसार पूर्वमा करिब दुई सयको हाराहारीमा बुलेट राइडरहरु रहेको अनुमान छ भने धरानमा मात्रै सयको हाराहारीमा युवाहरुले बुलेट चढ्छन् ।
बुलेट राइडरहरु कतै भेट हुदा र छुटिदा ‘जय बुलेट ! ’ भन्दै हात मिलाउछन् । क्लब गठन भएपछि उनीहरु धनकुटाको हिले, तेह्रथुम, डाँडाबजार, राजारानी, चितवन, ताप्लेजुङ्ग, काठमाण्डौं, पोखरालगायत क्षेत्रमा मजा लिइसकेका छन् । आफ्नै खर्चमा यसरी डुल्दा उनीहरु पर्यटन प्रर्वद्धन पनि गरिरहेका हुन्छन् । दुव्र्यसन तथा मदिरा विरोधी सन्देश पनि पुर्याइरहेका हुन्छन् । । राजनैतिक दलहरुले युवा शक्तिलाई गलत उद्देश्यमा प्रयोग गरेकोप्रति उनीहरुको विमति छ । ‘हामी कुनै दलको पछि लाग्दैनौं, र हाम्रा साथीहरुलाई यूज हुन पनि दिदैनौं’–कोषाध्यक्ष इन्द्रबहादुर लिम्बूले भने । क्लबले राइडमा जादाको तस्वीर, भिडियो पनि तयार पारेर समाजिक सञ्जालहरुमार्फत प्रचारप्रसार पनि गरिरहेका छन् ।
विदेशबाट घर फर्किएका युवाहरुलाई पनि क्लबले राहत मिलेको छ । यहाँ क्लब गठन भएपछि सिंगापुर पुलिसमा कार्यरत युवाहरुले पनि करिब ६ महिनाअघि रोयल सिंगापुर इनफिल्डर्स नाम दिएर संगठित भए । उनीहरु प्रत्येक ३ महिनामा ६ महिने विदामा घर आउदा पुराना साथीभाईसँग भेटघाट गर्छन् र राइडमा जान्छन् । ‘युवा साथीभाईहरु कुलतबाट टाढै रहेर धरानको छवि राम्रो बनाउन सक्रिय भएको देख्दा खुशी छौं’–रोयल सिंगापुर इनफिल्डर्सका हेम लिम्बूले भने । मंगलबार साँझ यो समुहले रोयल इष्टर्न इनफिल्डर्स क्लबलाई सहयोग स्वरुप ५ हजार एक सय पनि हस्तान्तरण गरेको थियो । धरानका प्याराग्लाइडर राम राईले क्लब पर्यटन प्रर्वद्धन र सामाजिक सचेतनामा कार्यमा अग्रणी रहेको बताए । यस्तै, समाजसेवी सुजन शाक्यले युवाहरुलाई क्लबले कुलतबाट जोगाउदै सामाजिक कार्यमा सक्रिय गराएर उदारहणीय काम गरेको बताए ।(साउन १७ गतेको नागरिक पूर्वेलीमा प्रकाशित समाचार)
..............
फोटो क्याप्सनः
रोयल इष्टर्न इनफिल्डर्स क्लबको प्रथम बार्षिकोत्सवको तस्वीरहरु ।
Comments
Post a Comment