दलितको बजेट हिनामिनाबारे छानबीन शुरु

धरान । दलित उत्थान समन्वय समितिले कार्यक्रम नगरि किर्ते हस्ताक्षर एवं नक्कली बिलभौचर पेश गरेर नगरपालिकाबाट बजेट निकासा गरेको बारेमा छानबीन शुरु भएको छ ।
गत आर्थिक बर्षको दलित विकास कार्यक्रमको बजेट झुटो बिल पेश एवं किर्ते हस्ताक्षर पेश गरेर निकासा भएको बारे समाचार सार्वजनिक भएपछि दलित अगुवाहरुले समितिसँग स्पष्टीकरण लिएर छानबीन शुरु गरेका हुन् । शनिबार अबेर साँझसम्म धरानमा भएको वृहत छलफलले दलित सेवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश गजमेरको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा डिल्लीराम शिवा, शेरबहादुर परियार, लम्जेल संघर्षशिल र प्रेम लकान्द्री छन् । समितिले शनिबार नै समन्वय समितिको कार्यालयमा शिलबन्दी गरेको थियो भने आइतबार सम्पुर्ण कागजात, विलभौचर तथा माइन्युटहरु जिम्मा लिएर छानबीन शुरु गरिसकेको जनाएको छ ।
समितिलाई पाँच दिनभित्र छानबीन गरेर प्रतिवेदन तयार गर्न समय दिइएको छ । ‘शनिबार छानबीन समिति गठन भएलगत्तै प्रमाणहरु नष्ट नहोस भने समन्वय समितिमा ताला लगाएका थियौं, आज(आइतबार) सबै बिलभौचर र खातापाता जिम्मा लिएका छौं’–छानबीन समितिका संयोजक गजमेरले भने–‘नगरपालिकामा पनि पत्र बुझाएर कार्यक्रमको योजनासहित समितिले बुझाएको विलभौचरको जानकारी दिएर छानबीनमा सहयोग पुर्याउन आग्रह गरेका छौं ।’ सोमबारदेखि समन्वय समितिको कार्यालयमा नै बसेर छानबीन समितिले आय व्याय, विलभौचर, माइन्युटलगायत सबैको छानबीन शुरु हुने उनले बताए । ‘पत्रपत्रिकामा कार्यक्रम नगरि बिलभौचर फछ्यौट भएको, किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको कुरा आएको छ, ति सबै बिषयमा छानबीन हुन्छ’–संयोजक गजमेरले भने–‘बजेट कहाँ गयो, कार्यक्रम किन गरिएन, समुदाय लाभान्वित भए भएन भन्ने सबै कुरा हेछौं ।’
श्निबार छानबिन समिति गठन गरिनुअघि दलित अगुवाहरुले बजेट दुरुपयोग भएको बारेमा चासो दिदै दुई दिनअघि शुक्रबार नै दबाब समुह गठन गरेका थिए । दबाब समुह गठन भएपछि समन्वय समितिले शनिबार आयोजना गर्ने भनेको पञ्चबर्षीय रणनीतिक योजना निर्माण गर्ने कार्यक्रम पनि स्थगित गरेका थियो । रणनीतिक योजना निर्माणको कार्यक्रम स्थगित गर्दै समन्वय समितिले आयोजना गरेको छलफलमा दलित अगुवाहरुले समितिका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेका थिए । ‘छलफलमा चर्काचर्की भयो, किर्ते हस्ताक्षर गरिएका पराशर्मदाताहरुले आफ्नो किर्ते हस्ताक्षर किन गरियो भनेर कडा शब्दमा स्पष्टीकरण मागे’–छलफलका एक सहभागीले भने–‘समितिका पदाधिकारीले बजेट फ्रिज हुन नदिन त्यस्तो गर्नुपरेको जवाफ दिए ।’ समितिको तर्फबाट सचिव एवं दलित विकास कार्यक्रमका संयोजक विजय अछामीले जवाफ दिएका थिए ।
समन्वय समितिको प्रस्ताव एवं सम्झौता वमोजिम कतिपय कार्यक्रम सम्पन्न गर्न बाँकी नै रहेपनि नक्कली बिलभौचर र प्रतिवेदन पेश गरेर समितिले नगरपालिकाबाट सम्पुर्ण बजेट निकासा गरेको थियो । नगरपालिकाको समाज विकास शाखाले पनि नक्कली विल भौचर र प्रतिवेदनलाई स्वीकृत गरेको र लेखा शाखाबाट पनि खर्च फछ्यौट गरिएपछि नगरपालिकाका यी दुवै शाखा पनि आर्थिक विवादमा मुछिएका छन् । कार्यक्रम सम्पन्न गर्न बाँकी नै रहेको थाह हुदाहुदै पनि कसरी बिलभौचर र प्रतिवेदन स्वीकृत भयो र खर्च फछ्यौट भयो भनेर आशंका जन्माएको छ ।
गत असार २३ गते आयोजन भएको सार्वजनिक लेखा परिक्षणको क्रममा केही कार्यक्रमहरु सम्पन्न नभएको सार्वजनिक भएपछि समन्वय समितिले ७ दिनभित्र सम्पुर्ण कार्यक्रमहरु सम्पन्न गर्ने भनेर लिखित निर्णय भएको थियो । त्यतिबेला नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र सामाज विकास अधिकृत सुनिल नेपाल पनि उपस्थित थिए । तर, दुई दिन पछि नै कार्यक्रम सम्पन्न भए नभएको अनुगमननै नगरि नगरपालिकाले खर्च फछ्र्यौट गर्नुलाई मिलेमतो भएको अनुमान गरिएको छ । समितिले दलित विकास कार्यक्रमअन्र्तगत नगरपालिकामा ३ लाख २० हजारको विभिन्न कार्यक्रम गर्ने प्रस्ताव पेश गरेको थियो । त्यसप्रस्ताव वमोजिम कार्यक्रम सम्पन्न हुन बाँकी नै रहेपनि विभिन्न मितिमा तीन किस्ता गरि बजेट भने निकासा भइसकेको छ । कार्यक्रम गर्न बाँकी नै रहेपनि समितिले नगरपालिकामा ती कार्यक्रम सम्पन्न भइसकेको झुटो प्रतिवेदन र बिलभौचर पेश गरेको थियो । नगरपालिकाले पनि त्यसैको आधारमा बिलभर्पाइ फछ्यौट गरिसकेको छ ।
सार्वजनिक लेखा परीक्षणमा दलित अगुवाहरुबाटै चर्को विरोध भएपछि समितिले काम सम्पन्न गर्न सक्रियता देखाएजस्तो गरेको थियो । त्यसयता उसले नगरपालिकामा होडिङ बोर्ड राख्यो भने वेभपेज निर्माणाधिन अवस्थामा भएको जानकारी दिएको छ । समाचार प्रकाशन भएपछि २५ स्थानमा चेतनमुलक फ्लेक्स राख्न थालेको थियो । तर,अझै पनि छुवाछुत अनुगमन समिति गठन हुन सकेको थिएन भने दलित समुदायको उत्थानको लागि अतिमहत्वपुर्ण मानिएको रणनीतिक योजनाको कार्यक्रम गर्न सकेको छैन । रणनीतिक योजनाको लागि परामर्शदाता भनेर राखिएका चार जनाको जनही २५ सय रुपैया भौचरमा किर्ते हस्ताक्षर गरेर निकालिएको छ ।

(०७० साउन २१ गतेको नागरिक पूर्वेलीमा प्रकाशित)

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे