धरानमा तोडिदै लागुऔषध कारोबारको जालो
धरान । एक महिनाको अवधिमा प्रहरीले धरानबाट पक्राउ गरेको लागुऔषध र बेचबिखनमा संलग्न युवाहरुलाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन महिनामा १७ जना लागुऔषध कारोबारमा संलग्न युवाहरु पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेहरु १८ बर्षदेखि ३० बर्षसम्मका युवाहरु मात्रै छन् । उनीहरुलाई लागुऔषध ओसारपसार तथा बेचबिखनमा मुद्दा चलाएको डिएसपी टेकबहादुर तामाङले बताए । ‘साउन १ गतदेखि ३१ गतेसम्म १७ जनालाई लागुऔषधसहित पक्राउ गरेर मुद्दा चलाएका छौं, लागुऔषधको कारोबारमा संलग्न उनीहरुको पक्राउले धरानमा धेरै हदसम्म नियन्त्रण हुने आशा छ’–डिएसपी तामाङले भने । उनका अनुसार पक्राउ परेकाहरु सबै जना लागुऔषध ओसारपसार र बिक्रीमा संलग्न थिए । धरानलाई आधार बनाएर पूर्वी पहाडी जिल्लामा पनि लागुऔषधको कारोबार भइरहेको हुनसक्ने प्रहरीको आँकलन छ ।

पक्राउ परेकामध्ये नर्सिङ ७ सुनसरी घर भनिएका मोहम्मद अजरुल अन्सारी भारतीय नागरिक भएपनि उनको साथमा नेपाली नागरिकताको प्रमाणपत्र पनि रहेकोले उनीविरुद्ध किर्ते नागरिकताको थप अनुसन्धान पनि भइरहेको डिएसपी तामाङले बताए । ‘उसको खास घर बिहारको फारबिसगञ्ज रहेछ, नेपालमा ८ बर्षदेखि बस्दै आएको रहेछन्’–डिएसपी तामाङले भने–‘उनले नेपाली नागरिकता पनि निकालेको पाइएकोले जिल्ला प्रशासन कार्यालयसँग सबै विवरण माग गरेका छौं, प्राप्त भएपछि उनीविरुद्ध किर्ते नागरिकताको पनि मुद्दा चल्छ ।’ प्रहरीका अनुसार उनले करिब दुई महिनाअघि असार ३ गते मात्रै नेपाली नागरिकता निकालेको देखिएको छ । उनलाई प्रहरीले साउन २७ गते ठुलो लागुऔषधसहित धरानको तीनकुनेस्थित चेकपोष्टबाट पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले १५८ बोतल कोरेक्स र १४ सय ६३ क्याप्सुल स्पास्मो प्रोक्सिभन भेटेको थियो । यो अहिलेसम्म एकैपटक धरानमा समातिएको सबैभन्दा बढीको लागुऔषध हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार गत आर्थिक बर्षमा धरानमा डाइजिपाम ७१२, एभिल ७१२, नरजिसिक ७१२, नाइट्रोसिन ट्याबलेट ३५५ समातिएको थियो । यस्तै, कारेक्स १८५ बोतल, ब्राउन सुगर ७ ग्राम ७३ मिलिग्राम र गाँजा २३ केजी वरामद भएको थियो । त्यही बर्ष ६८ जना पुरुष र ४ महिला समातिएको थिए भने ती मध्ये ४४ जनालाई प्रहरीले मुद्दा दर्ता गरेको रेकर्ड छ ।
गत बर्ष गृह मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले निकालेको एक रिपोर्टअनुसार नेपालमा करिब पाँच बर्षको अन्तरालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या भने दोब्बर बढेको छ । २०६९ को उक्त रिपोर्टअनुसार नेपालमा ९१ ह्जार ५ सय ३४ जना लागुऔषध प्रयोगकर्ताहरु छन् । जसमध्ये ८५ हजार २ सय ४ पुरुष र ६ हजार ३ सय ३० जना महिला छन् । यसअघि, सन् २००७ को रिपोर्टअनुसार भने त्यतिबेला नेपालमा ४६ हजार ३ सय ९ जना लागुऔषध प्रयोगकर्ताहरु थिए । जसमध्ये ४२ हजार ९ सय ४ पुरुष र ३ हजार ३ सय ५६ महिला थिए ।
.........................
सुई प्रयोगको जोखिम बढ्ने
प्रहरी सक्रियताले दिनहुजसो लागुऔषध कारोबारी समातिदा बजारमा लागुऔषध अभाव हुदा सेवनकर्ताहरु विकल्पमा सिरिञ्जबाट प्रयोग गर्न थाल्छन् । त्यसले उनीहरुमा जोखिम बढाउने पुर्नजीवन केन्द्रका कार्यक्रम प्रबन्धक विजय लिम्बूले बताए । उनका अनुसार प्रहरीले पक्राउ गर्न थालेपछि बजारमा कोडिनबेस लागुऔषधहरु कोरेक्स, फेन्सिडल, स्पामोप्रोक्सिनलगायतको अभाव हुन्छ । त्यसपछि सेवनकर्ताहरु सुईबाट प्रयोग गर्न थाल्ने उनले बताए । ‘कोडिनबेस लागुऔषध कम भएपछि उनीहरु इन्जेक्सन प्रयोग गर्छन्, यसले जोखिम बढाउछ’–उनले भने–‘अहिलेको जस्तो सक्रियता प्रहरीले पहिला नै र सधै देखाउन सकेको भए धेरै राम्रो हुन्थ्यो ।’
उनका अनुसार लागुऔषध प्रयोगकर्ताहरुमा पनि दुई खालका छन् । आर्थिक अवस्था राम्रो भएकाहरु महंगो पर्ने कोडिनबेस लागुपदार्थ प्रयोग गर्छन् । उनीहरु आफुलाई सिरिञ्ज प्रयोग गर्नेहरु सरह तल्लोस्तरको ठान्दैनन् । आर्थिक अवस्था नाजुक भएकाहरु सस्तो पर्ने सुई प्रयोग गर्छन् । तर, ब्राउन सुगर, कोरेक्स, फेन्सिडलजस्ता लागुऔषध केही दिनसम्म भेटेनन् भने त्यसका प्रयोगकर्ताहरु सिधै इन्जेक्सनमा झर्छन् । पूर्नजीवन केन्द्रकाअनुसार गत चैत महिनादेखि यता ५ महिनाको अवधिमा धरान र इटहरी क्षेत्रमा १ सय ४४ जना नयाँ सुईबाट लागुऔषध प्रयोगकर्ताहरु भेटिएका छन् । हाल नियमित सम्पर्कमा रहेकाहरुको संख्या भने ९ सय ८४ जना छन् । ‘समाजमा अझै धेरै छन्, उनीहरु उपचार पाइन्छ भन्ने थाह पाएर विस्तारै खुल्न थालेको हुनपनि सक्छ’–लिम्बूले भने ।
केन्द्रको सुधार गृहमा गत बर्ष एक सय ११ जना भर्ना भएकोमा ८६ जना सुनसरीका थिए । ती मध्ये ६४ जना नरफिन सेट प्रयोग गर्थे भने फेन्सिडल प्रयोग गर्ने ७ जना, ब्राउन सुगर प्रयोग गर्ने ८ जना, गाँजा तान्ने ७ जना, स्पामो प्रोक्सिन सेवनगर्ने एक जना र अल्कोहोल पिउने २४ जना रहेको केन्द्रले जनाएको छ । सुधार गृहका आएकाहरुमध्ये २१ बर्षदेखि २५ बर्षसम्मका ३५ जना, १५देखि १७ बर्ष उमेरका ८ जना, १८ देखि २० बर्षसम्मका १६ जना, २६ देखि ३० बर्षसम्मका २३ जना र ३० बर्षभन्दा माथिका २९ जना रहेको केन्द्रले जनाएको छ । ‘लागुऔषधमा युवाहरु नै बढी छन्, यसको नियन्त्रणमा राज्यले गम्भीरता अपनाउन जरुरी छ’–लिम्बूले भने ।
Comments
Post a Comment