बीपी प्रतिष्ठानको सुत्केरी प्रकरण: मृत बच्चा खोइ !??
यो साता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डबाहिर मृत बच्चा जन्मिएको घटनाले सबैको ध्यान तान्यो । राष्ट्रिय पत्रिकाहरुमा निरन्तर समाचार छापिए पछि सरकारका मुख्य सचिव लिलामणी पौडेलले छानबीन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि त झन् घटनालाई महत्वका साथ हेरियो । खासगरि, अन्नपुर्ण पोष्ट दैनिककले यो घटना र समाचारलाई प्राथमिकताका साथ छाप्यो । मेरो समाचार भने पूर्वेली सँस्करणमा मात्रै छापिए पनि मैले फलोअप गर्न भने छोडेको थिइन । मुख्य सचिवको निर्देशन आएपछि मंगलबार जिल्ला प्रशासनले इलाका प्रशासन कार्यालय धरानका प्रमुख पशुपति खतिवडा र डिएसपी चन्द्रदेव राईको दुई सदस्यीय टोली बनाएर छानबीन गर्न खटाएको थियो ।
बिहिबार छानबीन टोली पीडित परिवारलाई भेट्न सुनसरीको प्रकाशपुर १ नयाँबस्तीमा रहेको घरमा जाने भएको थियो । म र अन्नपुर्णकर्मी रत्नप्रसाद आचार्य बिहान करिब ७ बजेतिरै यामाहा मोटरबाइकमा हुँकियौं, प्रकाशपुरतिर । छानबीन टोलीभन्दा पहिल्या पुग्नसके पहिल्यै कुराकानी गरिसक्ने र छानबीन समितिले वयान लिएको तस्वीर खिचेर धरान फर्कने योजना थियो हाम्रो । घर पुग्दा पीडित कलावती रामका श्रीमान् घरबाट बाहिर निस्कदै थिए । स सानो ३ वटा झुपडी घर । कलावती घुम्ती जस्तो झुपडी कोठामा लम्पसार परेकी थिइन् । हेर्दै टिठलाग्दो अनुहार । ज्यादै कमजोर देखिन्थिन् ।
छानबीन समिति आउन निक्कै समय लाग्यो । त्यसबिच, रत्नकुमारसँग गफिदै जानकारीहरु लिए । कलावतीसँग पनि कुराकानी गरे । फोटो खिचे । बल्ल धुलो उडाउदै प्रहरीको गाडी आइपुग्यो, २ सदस्यीय छानबीन समितिलाई बोकेर । प्रहरीको गाडी इलाका प्रहरी कार्यालय धरानको रहेछ । छानबीन समितिका सदस्य आँगनमा पुग्दा सुत्केरी कलावती भने घरभित्रको अँगेनामा खुट्टा सेकाउदै थिइन् । थलिएको कमजोर ज्यान, केही सुन्निएको खुटा अनि काकीको सहारामा बिस्तारै आँगनमा निस्किइन । गुन्द्रीमाथि बसेपनि उनी धेरैबेर अडिन सकिनन् । उनलाई ढाडमा निरन्तर दुखाई भइ नै रहेको र रक्तस्राव पनि भइनै रहेको रहेछ ।
छानबीन समिति पुग्दा न्याय पाइएला भन्ने आशा बोकेका राम दम्पत्ति समिति सदस्यको प्रश्नले भने झस्किए । ‘बच्चाको शवलाई के गर्यौं ?’–इलाका प्रशासन कार्यालयका प्रमुख पशुपति खतिवडाको प्रश्न थियो । उनीहरुले अलमलिदै भने,–‘हजुर, हामीलाई त बच्चै दिएनन्, मरेकै भएपनि बच्चाको मुख हेर्न पनि पाइएन ।’ छानबीन टोलीको कुराले भने उनीहरुको होस उड्यो । टोलीले चिकित्सकले मृत बच्चा अभिभावकलाई बुझाइसकेको भन्ने जानकारी दिएको भन्दै प्रतिप्रश्न गर्यो–‘नदिएको हो भने मेरो बच्चा देऊ भनेर किन मागेनौं ? बच्चा नलिई किन हिड्यौं ?’ तर, राम दम्पत्ति र विरामीका कुरुवा बसेकी मितआमा आशादेवी चौधरीले भने बच्चा जिम्मा नदिएको जिकिर गरिरहे । ‘हामीलाई तिमीहरुको फोहोर छ, लैजाउ भन्यो । प्लाष्टिकको पोका थियो, रगत लागेको कपडा थियो, त्यसलाई कोशीमा फाल्यौं’–आशादेवीले भनिन् ।
छानबिन टोलीका अनुसार बीपीको गाइनोका चिकित्सक, नर्सहरुले मृत बच्चा परिवारलाई बुझाएको बताएका थिए । तर, परिवारले भने बच्चा नपाएको दाबी गरेकोले त्यसबारेमा थप कानुनीरुपमा छानबीन हुनसक्ने बताए । ‘डाक्टर, नर्सहरु बच्चा बुझाएको भन्छन्, तर अभिभावक बच्चाको शव दिएन भन्छ, वास्ताविकता के हो भनेर कानुनीरुपमा थप अनुसन्धान हुनसक्छ’–इलाका प्रशासन कार्यालयका प्रमुख खतिवडाले भने–‘बच्चाको शव नदिएपछि परिवारले पनि अहिलेसम्म किन खोजी गरेन वा प्रहरीमा रिपोर्ट दिएन, यसबारे पनि अनुसन्धान हुनसक्छ ।’
छानबीन समितिको कुराले पीडित परिवारको सातो गयो । पीडित परिवार र छानबीन समितिको सवाल जवाफ प्रत्यक्ष सुनेकोले मलाई यस्तो लाग्यो, गरिब, निमुखालाई कानुनको जस्तो व्याख्या गरेर भएपनि अफ्ठ्यारोमा पार्न सकिन्छ । तर, त्यहाँ जति नै कडा कुरा गरेपनि छानबीन समितिले भने निष्पक्ष नै वयान, मुचुल्का बनाए । छानबीन गर्न गएको टोलीमा प्रशासन र प्रहरी अधिकृत भएकोले केही कडा प्रश्न त गर्नै पर्छ, पछि मन यस्तरी बुझाए । तर, पहुँच र शक्तिको प्रभावमा पर्ने हो भने त गरिब, निमुखालाई त सजिलै फसाउन सकिदो रहेछ नि । डिएसपी चन्द्रदेव राई र प्रशासन कार्यालयका प्रमुख पशुपति खतिवडालाई मैले नजिकबाट चिनेको छुँ, उनीहरुले त्यस्तो गरेनन् । अफ दि रेकर्ड भन्दै अनौपचारिक कुरा गर्दा छानबीन समितिका सदस्यद्धयले बीपी प्रतिष्ठानको थुप्रै कमीकमजोरी र गल्तीहरु सुनाए । त्यसलाई हामीले मनन मात्रै गर्यौं, टिपेनौं र समाचार पनि बनाएनौं । किनभने, त्यो अनौपचारिक गफ थियो ।
सात महिनाकी गर्भवती कलावतीको पेट असाध्यै दुखेपछि स्थानीय मेडिकलमा पुर्याएकार श्रीमान् रत्तकुमारले शनिबार राती नै धरानस्थित बीपी प्रतिष्ठान ल्याएका थिए । प्रतिष्ठानको गाइनो वार्डमा सामान्य जाँचपछि सन्तोषजनक छ भन्दै बाहिर पठाइदिएको थियो । तर, व्यथा कम नभएपछि श्रीमान् र आफन्तहरुले कलावतीलाई घर फर्काएनन् । रातभर वेड भर्ना नपाएर कुर्सीमा बसेर पीडा खपेकी कलावतीले आइतबार बिहान करिब दश बजेतिर गाइनो वार्डको आँगनमै बच्चा जन्माएकी थिइन् । तर, बच्चा भने जन्मदै मृत थियो ।
छानबिन समितिले बुझायो प्रतिवेदन
वेड भर्ना नपाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डबाहिरै सुत्केरी भएको घटनाबारे छानबीन गर्न सरकारद्धारा गठित समितिले बिहिबार प्रतिवेदन बुझाएको छ । समितिले बिहानै सुनसरीको प्रकाशपुर १, नयाँबस्तीस्थित पीडित कलावती राम घरमा पुगेर घटनाबारे आवश्यक जानकारी लिएपछि बिहिबारै प्रतिवेदन सरकारलाई बुझाएको हो । सात महिनाको गर्भवती कलावतीले भर्ना नपाएर आइतबार विजोग अवस्थामा मृत बच्चा जन्माएको घटनाबारे छानबीन गर्न सरकारका मुख्य सचिवले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए । जिल्ला प्रशासनले इलाका प्रशासन कार्यालय धरानका प्रमुख पशुपति खतिवडा र डिएसपी चन्द्रदेव राईको एक समिति बनाएर छानबीन शुरु गरेको थियो । उक्त समितिले बीपी प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरबिन्द सिन्हासहित सम्बन्धित चिकित्सकहरुसँग सोधपुछ गरेको थियो ।
‘हामीले घटनाबारे सम्बन्धित अस्पताल निर्देशक, चिकित्सकहरु र पीडित कलावतीका परिवारसँग आवश्यक सोधपुछ गरेर जानकारी लियौं, र घटनाको वास्ताविकता प्रतिवेदनमा राखेर माथिल्लो निकायमा बुझाइसकेका छौं’–इलाका प्रशासन कार्यालयका प्रमुख खतिवडाले भने–‘सबै कुरा प्रतिवेदनमा भएकोले भन्न मिल्दैन ।’ छानबीन गर्न प्रमुख जिल्ला अधिकारीबाट समिति गठन भएकोले प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा नै बुझाएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले पनि प्रतिवेदन बिहिबारै फ्याक्समार्फत नै मुख्य सचिव र प्रधानमन्त्री कार्यालयमा पठाइएको जानकारी दिए । उनले पनि प्रतिवेदनबारे स्पष्ट खुलाउन नचाहेपनि घटनाको सत्यतथ्यसँगै कमीकमजोरी र सुझाव दिइएको बताए । ‘घटना के कसरी भएको हो भन्ने त छदैछ, भावी दिनमा यस्तो घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न पनि सुझवा दिइएको छ’–प्रजिअ थापाले सुझावबारे भने–‘शैया क्षमता विस्तार हुनुपर्छ र जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।’ प्रतिवेदन प्रारम्भिक मात्रै भएकोले थप छानबिन पनि हुनसक्ने उनले बताए । घटनालगत्तै स्वास्थ्य मन्त्रालयले अनुसन्धान प्रतिवेदन बुझाएपनि चित्त बुझ्दो नभएको भन्दै मुख्य सचिव लिलामणी पौडेलले जिल्ला प्रशासनलाई छानबीन गर्न मंगलबार निर्देशन दिएका थिए ।
Comments
Post a Comment