बेलायतबाट धरान तेक्वान्दो डोजाङलाई डमी उपहार
धरान । गत असार १ गते आफ्नै मुलुकमा पहिलो सम्मान पाउदा मार्सल आर्ट्सका अन्र्तराष्टिय पदक विजेता राष्ट्र राईले भनेका थिए,–‘म धरानलाई बिशेष सहयोग गर्न चाहन्छुँ ।’ धरान तेक्वान्दो डोजाङले सम्मान गर्दा हर्षविभोर बनेका राष्ट्रले त्यतिबेला बोलेनन् मात्रै, बोलेको कुरा अहिले पुरा गरेर पनि देखाइदिए ।

यस्तो डमी विदेशमा बन्ने र ल्याउन धेरै झञ्झट व्यहोर्नुपर्ने भएकोले पैसा हुनेले पनि खरीद नगर्ने खेलक्षेत्रका व्यक्तिहरुको भनाई छ । ‘नेपालको राष्टिय, अन्र्तराष्टिय वा ओलम्पिक खेलाडी जो कोही होस, कसैले पनि यस्तो डामीमा प्रशिक्षण पाएको छैन’–तेक्वान्दोका भूपू प्रशिक्षण नविन मादेनले भने–‘एउटा खेलाडी पर्फेक्ट बन्नको लागि डमीमा अभ्यास गर्न अतिजरुरी हुन्छ ।’ उनका अनुसार डमीमा अभ्यास गर्दा खेलाडीले आफ्नो पावर, स्केल थाह पाउनसक्छन् । मान्छेकै उचाई र आकारमा हुने डमीलाई खेलाडीहरुले प्रतिद्धन्दी मानेर प्रशिक्षण गर्नु पाउदा ध्यान पनि एकाग्र हुने उनले बताए ।
हालसम्म नेपालका खेलाडीहरुले आफुसँगैका साथीहरुलाई प्रतिद्धन्दी बनाएर अभ्यास गरिरहेका छन् । त्यसरी अभ्यास गर्दा साथीलाई केही होला कि भन्ने डर मनमा हुन्छ । जसले गर्दा खेलाडीहरुले एकाग्र भएर अभ्यास गर्न पाउदैनन् । ‘डमीमा अभ्यास गर्न पाउदा कहाँ हिर्काउदा प्वाइन्ट आउछ भनेर तार्गेटमा पुरै पावरले हिर्काउदै प्रशिक्षण गर्न सकिन्छ, खेलाडीहरुको ध्यान पुरै तार्गेटमा हुन्छ’–बक्सिङका सहायक प्रशिक्षक दिपक राईले भने–‘यस्तो अवसर अन्यत्रका खेलाडीहरुले पाएका छैनन् ।’
उपहार स्वरुप प्राप्त डमीको आइतबार सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङले उद्घाटन गरेका थिए । डमी करिब ५ फित ४ इञ्च उचाईको रहेको छ । अध्यक्ष चोङवाङले डमीलाई किक प्रहार गर्दै उद्घाटन गरेपछि तेक्वान्दो खेलाडीहरुले पनि किक प्रहार गर्दै खुशी व्यक्त गरेका थिए । यो डमी धरानस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा रहनेछ । हाल बेलायतमा सगरमाथा तेक्वान्दो डोजाङ स्थापना गरेका भूपू गोर्खा सैनिक तथा अन्र्तराष्टिय पदक विजेता राष्ट्र राईले यो डमी उपहारस्वरुप धरानमा पठाएका हुन् ।

(०७० साउन २१ गते नागरिक दैनिकमा प्रकाशित)
Comments
Post a Comment