बीपीबाट विरामीको परीक्षण गर्न बाहिर पठाए कारबाही गरिने

अस्पताल प्रशासनको निर्देशन पालना नभएपछि कर्मचारी कल्याण समाजले भदौ १ गतेदेखि त्यस्ता परिक्षणहरु अन्यत्र पठाए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।प्रतिष्ठानमा नै विभिन्न जाँच एवं परीक्षणको व्यवस्था हुदा हुदै पनि चिकित्सकहरुले विभिन्न वहानामा अन्यत्र पठाउदा प्रतिष्ठान आर्थिकरुपमा धारासायी भइरहेकोप्रति समाजले चिन्तासमेत जताएको छ । समाजका अध्यक्ष सुजेन्द्र तामाङले एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन भदौ १ गतेदेखि प्रतिष्ठानबाहिरबाट ल्याइएका परीक्षण रिपोर्टका आधारमा उपचार नगराउन कडाईका साथ अनुगमन गरिने उल्लेख छ । ‘प्रतिष्ठानमा सबै टेष्ट र परीक्षणहरुको व्यवस्था छ, तरपनि केही चिकित्सकहरुले परीक्षण गर्न बाहिर पठाउने गरेका छन्’–समाजका अध्यक्ष तामाङले नागरिकसँग भने–‘यसले प्रतिष्ठानको आम्दानीमा ठुलो क्षतिपुगिरहेको छ र त्यसको असरले यहाँका कर्मचारीहरुले समयमा तलब पनि पाउन सकिरहेको छैनौं ।’
अस्पताल प्रशासनले पटक पटक सुचना जारी गर्दै प्रतिष्ठानमा उपलब्ध परीक्षणका सेवाहरु अन्यत्र नपठाउन निर्देशन दिएपछि कमिशनको प्रलोभनमा पालना नभएको उनले बताए ।
प्रतिष्ठानमा भएका सेवाहरुको पनि चिकित्सकहरु विभिन्न वहानमा बाहिर परीक्षण गर्न पठाउने गरेका छन् । प्रतिष्ठानबाहिर करिब आधा दर्जनजति निजी क्लिनिक तथा परीक्षण केन्द्रहरु खुलेका छन् । उनीहरुको मुख्य आयस्रोत भनेको बीपी प्रतिष्ठानका विरामीहरुको जाँच नै हो । ‘केही चिकित्सकहरुले बाहिर पठाउदा नियमित कमिशन पाउछन्, त्यसैले अनेक वहानामा जाँच बाहिर जान्छ’–अध्यक्ष तामाङले भने–‘तर, भदौ १ गतेदेखि हामी कडाई गर्ने निर्णय गरेकाछौं, बाहिरको परीक्षण रिपोर्ट अनुसार उपचार गरे चिकित्सक र कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउछौं ।’ प्रतिष्ठानको मेशिनहरु ग्डबडीभएको खण्डमा मात्रै बाहिरको परीक्षणलाई मान्यता दिइने उनले बताए । यस्तो कार्यमा संलग्न चिकित्सकलाई काममा निषेध गर्ने, प्रतिष्ठानको नियमावलीअनुसार कारबाही अघि बढाउने र कर्मचारी संलग्न भए सांगठनिकरुपमा कारबाही गरिने उनले बताए ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरबिन्द सिन्हाले विरामीहरुको सुविधाको लागि विभिन्न परीक्षणको उपकरणहरु चुस्तदुरुस्त बनाइरहेको बताए । केही परीक्षणका उपकरणहरु थप्न बाँकी रहेको भन्दै उनले त्यसको व्यवस्था गरिएपछि नियम बनाएर नै बाहिरका रिपोर्टहरु पुर्णरुपमा प्रतिबन्धलगाउने उनले बताए । ‘मेशिन, उपकरणहरु तूस्तदुरुस्त बनाउदैछौं, केही परीक्षणको लागि मेशन थप्न बाँकी छ, त्यसको पनि व्यवस्था भएपछि नियम बनाएर नै बाहिरको रिपोर्ट पुर्णरुपमा प्रतिबन्ध लगाउछौं’–अस्पताल निर्देशक डा.सिन्हाले भने–‘तरपनि हामीले यही भएको सेवालाई बाहिर नपठाउन सुचना र निर्देशन गरेका छौं, त्यसपछि धेरै हदसम्म कमी पनि भएको छ ।’
Comments
Post a Comment