बीपीका उच्चअधिकारीलाई अख्तियारले वयान लिदै

धरान । एमबिबिएस र बिडिएसको प्रवेश परीक्षाको नतिजा प्रकाशनबारे छानबीन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र परीक्षा समितिलाई वयानको लागि बोलाएको छ ।
आयोगले वयानको लागि बोलाएपछि आइतबार नै प्रतिष्ठानका उपकुलपमिा डा.बलभद्रप्रसाद दास, परीक्षा समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठसहित पाँच जना राजधानी गएका छन् । उपकुलपति र शिक्षाध्यक्षसँगै परीक्षा डिन डा.ध्रुवकुमार उप्रेती, परीक्षा सहायक डिन डा.सिवेन्द्र झा र प्राविधिक सहायक गौरव सञ्जेल पनि वयानको लागि आयोगमा आइतबार हाजिर भएका छन् । आयोगले वयानको लागि उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्र पठाएपछि आइतबार नै प्रशासनले उनीहरुलाई राजधानी पठाएको हो । ‘आयोगबाट पठाइदिनु भन्ने पत्र आएकोले उहाँहरुलाई आजै माथि उपस्थित हुन पठाएको हो’–सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले भने ।
पाँच जनामध्ये अख्तियारले आइतबार तीन जनाको वयान लिइसकेको जनाएको छ । सोधपुछ पछि तारेखमा राखेर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए । ‘पाँच जनालाई उपस्थित गराएर तारेखमा राखेर अनुसन्धान गदैछौं’–प्रवक्ता सापकोटाले टेटिफोनमा भने–‘वयान नसकिएसम्म उहाँहरु फर्कन पाउनुहुन्न ।’ उनका अनुसार आयोगले आइतबार उपकुलपति दास, शिक्षाध्यक्ष श्रेष्ठ र परीक्षा डिन उप्रेतीसँग वयान लिइसकेको छ । परीक्षा समितिका थप सदस्यहरुलाई वयानमा बोलाउने वा नबोलाउने बारेमा भने उनले जवाफ दिन मानेनन् । प्रतिष्ठानमा शिक्षाध्यक्ष श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय परीक्षा समिति रहनेको थियो ।
एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाको नजिता प्रकाशनमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको थियो । अख्तियारको निर्देशनपछि जिल्ला प्रशासनको टोलीले प्रवेश परीक्षाको प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षा शाखाको कम्प्युटरको सिपियुसमेत नियन्त्रणमा लिएर आयोगमा पठाएको थियो । प्रतिष्ठानले अगष्ट ३ मा कुल एक सय २० जनाको कोटाको लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षा लिएको तीन दिनपछि अगष्ट ६ मा प्रकाशित गरेको थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष अध्यक्ष रहेको परीषा समितिले पुनः नजिता सच्याएको भन्दै अगष्ट १३ तारिखमा दोस्रो पटक नजिता प्रकाशन गरेपछि विवाद निम्तिएको थियो । दोस्रो पटक नजिता प्रकाशन गर्दा पहिलो पटकमा पुर्ण सहुलियत(छात्रवृत्ति)मा परेका अनुदिप कँडेल कटौतीमा परेका थिए । यस्तै, २७ जनाको कोटा रहेको आंशिक सहुलियतमा पनि हेरफेर भएपछि परीषार्थीहरुमा तीब्र असन्तुष्टी छाएको थियो । साथै, निवेदनको आधारमा नियमविपरीत पुर्नयोग गरिएको भन्दै कतिपय परीक्षार्थीहरु असन्तुष्ट थिए ।

                       भर्ना स्थगित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेपछि नयाँ शैक्षिक सत्रको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र बिडिएस तहको भर्ना प्रक्रिया स्थगित भएको छ ।
नतिजा प्रकाशनमा अनियमितता भएको उजुरीपछि छानबीन शुरु भएकोले आइतबारदेखि शुरु हुने भनिएको भर्ना प्रक्रिया स्थगित भएको प्रतिष्ठानले जनाएको छ । शुक्रबार छापा मारेर प्रवेश परीक्षाको सम्पुर्ण कागजात जफर गरेको अख्तियारले फ्याक्समार्फत भर्ना प्रक्रिया रोक्न प्रतिष्ठानलाई निर्देशन दिएको थियो । ‘अख्तियारले शुक्रबार नै फ्याक्स पठाएको रहेछ, तर हामीले आजमात्रै पायौं, अब भर्ना हुदैन’–शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे