गुटबन्दी र विवादकै बीचमा महिला युथफोर्स गठन



एमाले सचिव शंकर पोख्रेलले पनि फोर्सले जनता र समाजलाई भयमुक्त बनाउने धारणा राखे । जनतामा प्रतिरोधी क्षमता नहुदा विगतमा हिंसा र आतंकको राजनीतिलाई पहिलो शक्तिकोरुपमा स्थापित गरेको भन्दै उनले युथ फोर्सले आउदो संविधानसभाको निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउने दाबी गरे । उनले पनि पार्टीले विधि, प्रक्रिया र नीतिमा मात्रै चासो राख्ने भन्दै अध्यक्ष खनालको निर्देशनप्रति असहमति जनाए । ‘अहिले पार्टीभित्र एकथरी साथीहरु जबज परिवर्तन गर्नुपर्छ भनिरहनुभएको छ, म भन्छु जबज होइन कामरेड, ज्बजले तपाईलाई रुपान्तरण गर्छ, यो सिंगो समाजलाई रुपान्तरण गर्छ’–उनले भने ।

प्रहरी घेरामा एकदिनमै सकियो भेला
अध्यक्षले एकलौटी निर्णय गरेर मिति तोकेको भन्दै भेलामा संस्थापन पक्षका भनिएका उपाध्यक्षहरु झपट रावल, दिलकुमारी पन्त, सुर्य ढकाल, सचिव मञ्जु यादवलगायत भने भेलामा सहभागी भएनन् । भेलामा ६१ जिल्लाबाट ४ सय ११ जना महिला युवा प्रतिनिधिहरु सहभागी भएको आयोजकले जानकारी दिएको छ । तर,विवादको कारण भेला आयोजना भएको जिल्ला सुनसरीको युवा संघको जिल्ला कमिटि र एमाले पार्टीले भने आधिकारिकरुपमा सहभागी भएन । विवाद चर्किएको भन्दै संघको जिल्ला कमिटिले व्यावस्थापनको जिम्मा नलिएपछि कोशी अञ्चल कमिटिले व्यावस्थापन गरेको थियो ।
पार्टी अध्यक्षले निर्देशन दिएको भन्दै एमाले जिल्ला कमिटि र युवा संघले भेला आयोजना गर्न नदिने तयारी गरेपछि धरानमा झडपको अवस्था सृर्जना भएको थियो । शुक्रबार साँझ भेला आयोजनास्थल धरान ८ स्थित सभागृहमा टाँगिएको तुल ब्यानर संस्थापन पक्षका युवाहरुले च्यातिदिएका थिए । सम्भावित झडप रोक्न शनिबार सय भन्दा बढी प्रहरी कार्यक्रमस्थलमा परिचालन गरिएको थियो । जिल्ला कमिटिसँगै पार्टी र युवा संघको १ नम्बर क्षेत्रीय कमिटि र नगर कमिटिले पनि आधिकारीकरुपमा भेलामा उपस्थिति जनाएन । ओली पक्षधर नेताहरुको मात्रै भेलामा उपस्थिति रहेको थियो । युवाहरुबीचमा झडप हुनेस्थिति बढेपछि युवा संघका अध्यक्ष बस्नेत, केन्द्रीय सदस्य ज्ञानदिप लिम्बू र पार्टी जिल्ला कमिटि उपसचिव मोतिराज सुनुवारबीच बिहानै छलफल गरेका थिए । छलफलमा दिउँसो ३ बजेभित्र कार्यक्रम सक्ने सहभागी भएपछि दुई दिनसम्म हुने भनिएको भेला पहिलो दिनमै सकिएको थियो ।
भेला एक दिनमै सकिएपछि विभिन्न जिल्लाबाट आएका सहभागीहरुलाई आइतबार भेडेटार र धरानको मन्दिरहरु घुमाउने घोषणा अध्यक्ष बस्नेतले भेलामै गरेका थिए । ‘दुई दिनको भेला एक दिनमै सक्छौं । एक दिन प्रशिक्षण, एक दिन घुम्ने’–बस्नेतले भने–‘दोस्रो दिन हामी तपाईहरुलाई भेडेटार र धरानको बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायत ठाउँमा घुमाउछौं ।’ कार्यकर्ताहरुलाई घुम्ने खर्चको व्यवस्था केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज ज्ञानदिप लिम्बूले गर्नेछन् ।
(०७० भदौ २ गतेको नागरिक दैनिकमा प्रकाशित समाचार) ।
Comments
Post a Comment