एक बर्षमै पित्तथैलीमा पत्थरी !

एक्स रे, भिडियो एक्स रेलगायत प्रविधिहरुबाट जाँच गर्दा मोरङ जिल्ला मृगौलिया ८ गोठगाउँका यमन दुलाललाई पित्तथैलीमा पत्थरी नै भएको पुष्टि भयो । पत्थरीको पुष्टि भएको करिब चार बर्षपछि शुक्रबार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ । प्रतिष्ठानका शल्यक्रिया विभागका चिकित्सक डा. शैलेश अधिकारीले ल्याप्रोष्कोपी(दुरबिन प्रविधि) विधिबाट साढे चार बर्षीय यमनको पत्थरी झिकेका हुन् । उनको पित्तथैलीबाट चिकित्सकले १४.७ एमएम ढुंगो निकालेका थिए ।

आमा मिनाका अनुसार छोरालाई विराटनगरका डाक्टर नारायण बस्नेतले निरन्तर जाँच गरिरहेका थिए, र उनैको सल्लाहमा बीपीमा अप्रेशन गर्न बुधबार आएका थिए । पत्थरी १२ एमएम हुदा नै डाक्टर बस्नेतले अप्रेशन गर्न सल्लाह दिएपनि बुबा पदम वैदेशिक रोजगारीमा गएकाले केही ढिलाई गरेर अप्रेशनमा आएका उनले बताइन् । ‘घरमा अरुले पनि सानै छ भनेर दिएनन्, मलाई पनि डर लाग्यो’–उनले भनिन् । बुधबार बीपीमा बेड भर्ना भएका यमनको शुक्रबार अप्रेशन भएको थियो । अप्रेशन करिब ४५ मिनेट समय लागेको थियो । यमनका बुबा पदम दश दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फिरेका हुन् । यमन स्थानीय ज्ञान ज्योति बोर्डिङमा कक्षा एलकेजीमा पढ्छन् ।

चिकित्सकका अनुसार मानिसको पेटको दाहिने भागमा पित्त थैली रहेको हुन्छ । कलेजोले पित्त बनाउछ र त्यो पित्तथैलीमा बसेको हुन्छ । पित्तले चिल्लो पदार्थलाई पचाउने काम गर्छ । चिल्लो पदार्थ धेरै खानेलाई पनि यो समस्या देखिन सक्छ । साथै, पुरुषलाई भन्दा बढी फिमेल हार्मोनको कारण विवाहित महिलाहरुमा पित्तथैलीमा पत्थरीको समस्या बढी देखिने गरेको चिकित्सक अधिकारीले बताए । यस्तै, नियमित जस्तो महिलाहरु खाना नखाई वर्त बस्दा पित्तथैली खुम्चदैन र थैलीभित्र रहेको पित्त नै जमेर कडा बस्तु(स्टोन) बन्ने डा.अधिकारीको भनाई छ । ‘उत्तरी भारत र नेपालमा खानेकुरा र वातावरणको कारणले स्टोनको समस्या अत्यधिक भएको देखिन्छ’–उनले भने ।
(२०७० साउन २० गतेको नागरिक दैनिकमा प्रकाशित समाचार)
Comments
Post a Comment