बीपीको प्रसुती वार्डमा शैया र जनशक्ति थपियो




धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गाइनो विभागमा शैइया विस्तार गरेको छ । अत्यधिक विरामी चापले गर्दा गम्भीर विरामीलाई पनि अन्यत्र पठाउनुपर्ने र एउटै वेडमा दुई, तीन जनासम्म राख्नुपर्ने अवस्था आएपछि प्रतिष्ठानले प्रसुती विभागको वार्डमा शैया विस्तार गरेको हो ।
एन्टिनेटल वार्डमा आइतबार एक कोठासहित १० बेड थपिएको प्रतिष्ठानको प्रसुती विभागले जनाएको छ । एक साताभित्र त्यहाँ बेड थपेर १५ शैइया पुर्याउने प्रसुती विभागका एशोसिएट प्रोफेसर डा.रोहित रिजालले जानकारी दिए । उनका अनुसार एन्टिनेटलमा कुल शैयाको संख्या ३० पुगेको छ । यसअघि, त्यहाँ २० वटा शैया थियो भने लेबर रुममा ४ वटा थियो । शैया विस्तारसँगै प्रसुती विभागमा ६ जना मेडिकल अफिसरस्तरका जनशक्ति थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुई सातापछि थप ७ जना जुनियर रेसिडेन्टहरु थपिनेछन् । ‘६ जना मेडिकल असिफरको अन्र्तवाता लिएर छनौट भइसकेका छन्, दुई सातापछि थप ७ जना जेआरहरु पनि थपिनेछ’–डा. रिजालले भने ।
थप गरिएको शैयामा विभिन्न स्वास्थ्य संस्थाहरुबाट एनआइसियु, मेटरनल आइसियुको सुविधा नभएर रेफर गरिएका गर्भवती महिला विरामीहरुलाई प्राथमिकता दिइने प्रसुती विभागले जनाएको छ । ‘थप गरिएको बेडमा गम्भीर र जटिलखालका विरामीहरु जो अन्यत्रबाट रिफर भएर आएका छन्, उनीहरुलाई पहिलो प्राथमिकता दिएर राख्नेछौं’–डा.रिजालले भने । आइतबार थप गरिएको भवनमा पण्डितद्धारा पूजा गरेर ती शैयाको उद्घाटन गरिएको थियो ।
प्रसुती विभाग प्रतिष्ठानमा अत्यधिक विरामी चाप हुने विभागमा पर्छ । विरामीको अवस्था र संवेदनशीलतालाई ध्यान दिएर प्रतिष्ठानमा प्रसुतीको आकस्मिक कक्ष पनि वार्डसँगै राखिएको छ । अरु विरामीका लागि प्रतिष्ठानमा आकस्मिक कक्ष अलग्गै छ । यहाँ गर्भवती विरामीको लागि बच्चा जन्माउन अघि एन्टिनेटल वार्डमा राख्न २० वटा र लेबर रुपमा ४ वटा गरि २४ वटा मात्रै बेड थियो । तर, दैनिकरुपमा भने यहाँको आकस्मिक कक्षमा कम्तीमा ५० जना गर्भवती महिला आउछन् भने ४० को हाराहारीमा भर्ना हुने गर्छन् । ती मध्ये २४ घण्टामा ३० देखि ४० जनासम्म सामान्य डेलिभरी हुने गरेको छ भने करिब १० जनाको शल्यक्रिया गर्नुपर्ने विभागले जनाएको छ ।
शैया थपिएपनि विरामीको चापको अनुपतमा भने यो अपुग रहेको प्रसुती विभागले जनाएको छ । एन्टिनेटल वार्डमा अभैm २० वटा शैया र बच्चा जन्मिएपछि राखिने पोष्टनेटल वार्डमा थप २० वटा शैया विस्तार हुनुपर्ने विभागले जनाएको  छ । हाल पोष्टनेटल वार्डमा ३४ वटा वेड छ भने सामान्य डेलिभरी भएकाहरुलाई राखिने एमसिएचमा १ मा १२ वटा, एमसिएच २ मा १६ वटा र ट्रपिकल वार्डमा ५ वटा शैया छ । प्रसुती विभागमा ३० जना चिकित्सकहरु हाल कार्यरत छन् ।
विरामीको चाप अत्यधिक बढेपछि प्रसुती विभागले विगत ३ बर्षअघिदेखि नै अस्पताल प्रशासनमा शैया विस्तार र जनशक्ति थप गर्न माग गर्दैआइरहेको थियो । माग वमोजिम अस्पताल प्रशासनले पनि संरचना बनाउन थालेको थियो । साउन दोस्रो साता प्रकाशपुरकी कलावती रामले बेड अभावमा भर्ना नपाएर वार्ड बाहिरै सात महिनाको मृत बच्चा जन्माएको घटनापछि भने समस्याप्रति अस्पताल प्रशासन र राज्यले नै गम्भीरता देखाएको थियो । ‘हामीले पहिलादेखि नै भनिरहेका थियौं, काम पनि हुदैथियो तर यो घटनाले केन्द्रीयतहसम्म यहाँको समस्याप्रति ध्यानाकर्षण गरायो’–डा.रिजालले भने ।
(०७० साउन २८ गतेको नागरिक दैनिकको पूर्वेली सँस्करणमा छापिएको समाचार) 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे