कमिशन खान बिरामीको जाँच गर्न बाहिर रेफर

अस्पताल प्रशासनको निर्देशन अटेर गर्दै परीक्षणहरु बाहिर पठाउने क्रम नरोकिएपछि प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले बिहिबार अनुगमन गर्दा यस्तो भेटिएको हो । प्रतिष्ठानको नियमविपरीत यस्तो कार्यमा प्रतिष्ठानका केही प्राविधिक कर्मचारीहरुको पनि संलग्नता रहेको भेटिएको छ । समाजको एक टोली बिहिबार प्रतिष्ठानबाहिर खुलेको विभिन्न निजी क्लिनिक तथा परीक्षण केन्द्रहरुमा पुग्दा अधिकांश विरामीहरुलाई प्रतिष्ठानका चिकित्सकहरुले नै परीक्षण गर्न पठाएको फेला परेको थियो । समाजको टोलीले प्रतिष्ठानबाहिरको धरान डायग्नोष्टिक सेन्टर र धरान इमेजिङ एण्ड रिसर्च सेन्टरमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा बीपीका सर्जरी विभाग प्रमुख डाक्टर सि.एस.अग्रवाल, डा. निकेश श्रेष्ठ, डा.श्याम गुप्ता, डा.अजय अग्रवाल, डा.विजेन्द्र राई, डा.ध्रुवचन्द्र थापा, डा.जि.एल. झा, डा.अजय अग्रवाललगायतले ती सेन्टरमा विभिन्न जाँच गर्न पठाएको भेटिएको थियो । धरान इमेजिङमा भेटिएका बीपीका ३० जना विरामीमध्ये २२ जनालाई त सर्जरी विभागका प्रमुख अग्रवालले मात्रै पठाएको भेटिएको थियो । प्रतिष्ठानस्थित रेडियोलोजी विभागका प्राविधिक महम्मद रेजा अवारी धरान इमेजिङमा भेटिएका थिए । उनले त्यहाँ आफु काम गर्न नभई आफन्तको अल्ट्रासाउण्ड गर्न त्यहाँ आएको बताएका थिए ।

अनुगमनको क्रममा धरान इमेजिङमा विरामीको परीक्षण पछि परीक्षण सेवा गुणस्तरीय र विश्वासनीय रहेछ भन्ने व्यहोराको कबुलियतनामामा हस्ताक्षर गराउने गरेको पनि फेला परेको थियो । यो कबुलियतनामा बीपीबाट विरामी पठाउने डाक्टरको रेकर्ड भएको र त्यसैको आधारमा ती सेन्टरबाट चिकित्सकले कमिशन पाउने गरेको समाजको दाबी छ । ‘बीपीको तलब खाएर आफ्नै संस्थालाई धारासायी बनाउने त्यस्ता चिकित्सक, कर्मचारीको पहिचान गरेर अस्पताल प्रशासनमा कारबाहीको लागि दबाब दिन्छौं, बानी नसुधारे उनीहरुलाई बीपीमा काम गर्ने कुनै अधिकार छैन, हामी निषेध गछौं’–अध्यक्ष तामाङले भने–‘भदौ १ गतेदेखि हामी बाहिरको रिपोर्ट प्रतिबन्ध लगाउछौ, त्यसैले बीपीमा सुविधा भएको परीक्षण बाहिर नगर्न आमसर्वसाधारण र डाक्टरहरुमा अपिल गछौं ।’


प्रतिष्ठानमा सबै टेष्ट र परीक्षणहरुको व्यवस्था भएपनि केही चिकित्सकहरुले परीक्षण गर्न बाहिर पठाउने गरेपछि अस्पताल प्रशासनले बाहिर नपठाउन निर्देशन दिएको थियो । तर, निर्देशन अटेर गरेर विरामीको जाँच बाहिर पठाउदा प्रतिष्ठानलाई ठुलो आर्थिक नोक्सानी भएको भन्दै कर्मचारी कल्याण समाजले भदौ १ गतेदेखि बाहिरको परीक्षणको रिपोर्टको आधारमा उपचार गर्न निषेध गर्ने घोषणा गरेको छ । यसअघि, अस्पतालले विरामीको सुविधाको लागि केही महिनाअघिदेखि ल्याबको समय तालिका पनि विस्तार गरिसकेको छ भने बिहान ११ बजेसम्मको सेम्पल कलेक्सनको रिपोर्ट त्यही दिन बेलुकासम्म दिने व्यवस्था गरेको छ । पहिला दिउँसो १ बजेपछि २ बजेसम्म ल्याब वन्द हुने गरेपनि अचेल त्यो समयमा पनि सेवा दिइन्छ भने साँझ ८ बजेसम्म ल्याब खुल्लै रहन्छ । ल्याबमा परीक्षण हुने रगत, खकार, दिसा, पिसाब र एक्सरेलगायतको परीक्षणहरु बिहान एघार बजेसम्म बुझएकोमा त्यसैदिन बेलुकासम्म उपलब्ध हुन्छ ।
(०७० साउन ३२ गते नागरिक दैनिकमा प्रकाशित समाचार)
Comments
Post a Comment