सिक्दै सिकाउदै कलायात्रा

पर्यटकीय गन्तव्य बनिसकेको भेडेटारमा सोमबार नेपालकै नाम चलेका एवं वरिष्ठ कलाकारहरुको जमघट हुदैथियो । यो खबरले रुद्र जस्ता धरान र पूर्वका नवोदित कलाकारहरु उत्साहित बनेका थिए । अग्रज कलाकारहरुबाट केही सिक्ने मौका उनीहरु गुमाउन चाहदैनथे । ‘वरिष्ठ कलाकारहरु आउदै हुनुहुन्छ भन्ने खबर सुनेँ, उहाँहरुबाट धेरै कुरा सिक्न सकिन्छ भनेर हामी गएका थियौं’–मंगलबार धरानमा भेटिएका रुद्रले भने–‘नाम मात्रै सुनेका वरिष्ठ कलाकारहरुलाई प्रत्यक्ष देख्न पायौं, उहाँहरु कसरी पेन्टिङ गर्नुहुन्छ भनेर हेर्न पायौं, हाम्रो लागि अध्ययनकै एउटा पाटो भयो ।’
कलायात्रामा करिब ४० जना वरिष्ठ एवं अग्रज कलाकारहरुले भेडेटारलाई क्यानभाषमा उतारे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पूर्वाञ्चल कलायात्रालाई रुद्रजस्ता थुप्रै नवोदित कलाकारहरुले प्रत्यक्ष अवलोकन गरे । यसलाई उनीहरु सिकाईको महत्वपुर्ण क्षण भन्न रुचाउछन् । साथै, मोफसलमा कलाको जागरण ल्याउन प्रेरणा मिलेको उनीहरुले महशुस गरेका छन् । ‘नयाँ कलाकाहरुलाई उर्जा मिलेको छ, नेपालकै राम्रो र अग्रज कलाकारहरुले कसरी पेन्टिङ गर्छन, रंगसँग कसरी खेल्छन्, संयोजक कसरी गर्छन् भनेर प्रत्यक्ष हेर्दा धेरै ज्ञान हुन्छ’–युमा फाइन आर्ट एकेडेमीका अध्यक्ष महेन्द्र राई भन्छन्–‘पेन्टिङको ट्रेण्ड(शैली) परिवर्तन भइरहन्छ, त्यो थाह पाउन पनि यस्तो कार्यशाला महत्वपुर्ण हुन्छ ।’
भेडेटारमा आयोजित कलायात्रामा वात्सायन नामले चर्चित कलाकार(कार्टुनिष्ट) दुर्गा वराल, काठमाण्डौंस्थित सिर्जना आर्ट्स कलेजका प्रिन्सिपल कृष्ण मानन्धर, कलाकाहरु एल.पि.गुरुङ, इरिना ताम्राकार, बुद्धि गुुरुङ, प्रमिला बज्रचार्य, सुनिता राना, अनुराधा सिंह, कर्ण मास्के, शान्तकुमार राई, प्रनोद दत्तलगायत विभिन्न जिल्लाबाट सहभागी थिए । कलायात्रामा पूर्वका युवा कलाकारहरुले पनि अग्रजहरुसँगै क्यानभासमा रंग पोतेका थिए । उनीहरुको सृर्जना तीन दिनसम्म धरानमा प्रर्दशनीमा राखिएको छ । नवोदित कलाकारहरुले अग्रजहरुबाट सिक्ने अवसर पाएको कलायात्राले अग्रजहरुलाई पनि युवा कलाकारहरुको भावना बुझ्ने अवसर मिलेको वरिष्ठ कलाकार एवं कार्टुनिष्ट दुर्गा बराल(वात्सायन) बताउछन् । ‘सँगै बसेर काम गर्दा कलाको माध्यमबाट अन्र्तक्रिया हुन्छ, एकले अर्काको काम हेर्न पाउछौं’–यस्ता कार्यक्रममा विरलै बाहिर निस्कने वात्सायनले भने–‘नयाँहरुले अग्रजहरुबाट सिक्छन् र अग्रजहरुले पनि युवाहरुलाई बुझ्ने मौका पाउछौं, नयाँ कलाकारहरु कस्तो प्रविधि र शैली अपनाउछन्, उनीहरुले कला क्षेत्रलाई कता लैजान चाहन्छन् भनेर थाह पाउन सक्छौं ।’



Comments
Post a Comment