धरानका डि.जे.हरु संगठित हुदै
धरान । एक समय थियो, धरानका डि.जे.(डिस्क जकी) हरुको डिमान्ड अत्यधिक थियो । डान्स पार्टीको लहर यस्तो थियो कि जुन सुकै अवसरमा पनि धरानमा डान्स पार्टी भइहाल्थ्यो । हरेक महिना कुनै न कुनै वहानामा हुने पार्टीमा धराने युवाहरु मस्तसँग झुम्थे, डि.जे.हरुको पनि ब्यस्त । डिजेइङविनाको डान्स पार्टी वा नाइट क्लबहरु खल्लो हुन्छ ।
तर, हिजोआज भने धरानमा शुन्यता छाएको छ । औलामा गन्न सकिने नाइट क्लब र अक्कल झुक्कलमा हुने डान्स पार्टीमा मात्रै डि.जे.हरुका डिजेइङ कला देखिन्छन् । डिजेइङ पेशा नै संकटमा पर्न थालेपछि भने अहिले धरानका डि.जे. युवाहरु संगठित हुने प्रयासमा छन् । उनीहरुले धरान डि.जे.एशोसिएशन नामको संस्था गठन गरेर दर्ता गराउने पहल गरिरहेका छन् । ‘दुई तीन बर्षयता डान्स पार्टी ज्यादै कम हुनथाल्यो, त्यसैले हाम्रो पेशा पनि संकट भएकोले संगठित हुने पहल गर्दैछौं’–डि.जे.डबल बिले भने–‘चाडैं संस्था दर्ता गछौैं र डि.जे.पेशालाई व्यावसायिक बनाउन सक्रिय हुन्छौं ।’

समाजले डान्स पार्टी र डिजेहरुलाई सहजरुपमा स्वीकार गरेको छैन । कोलाहाल मच्चाएको र छोराछोरी बिगारेको आरोपमा विरोध भएपछि कतिपय स्थानमा हिजोआज डान्स पार्टी आयोजना गर्न नै दिदैनन् । स्थान अभावले इभेन्ट म्यानेजमेन्टहरु सिथिल भएपछि यसको प्रभाव डि.जे.हरुमा पनि पर्न थाल्यो । तर, डि.जे.हरु भने डान्स पार्टी र डिजेप्रति समाज, अभिभावकको धारणा गतल भएको बताउछन् । ‘पार्टीले छोराछोरी बिग्रन्छन् भन्ने धारणा गलत हो, डान्स पार्टीले रिफ्रेसमेन्ट बनाउछ, त्यसैले कतिपय त आफ्नो श्रीमति, छोराछोरीको साथमा पनि आउछन्’–डि.जे.नेक्स स्याडो भन्छन्–‘डिजेइङ पनि कला हो, यो कलालाई पेशाकोरुपमा अपनाउन सकिन्छ ।’ पर्यटन प्रर्वद्धन गर्न रात्री जीवन आवश्यक हुने र रात्री जीवनको लागि नाइट क्लब र डि.जे. आवश्यक हुने उनले बताए ।

(०७० साउन २२ गते मंगलबार नागरिक दैनिकको पूर्वेली सँस्करणमा प्रकाशित समाचार)
Comments
Post a Comment